close

रुकुमका घरवारविहीन १२८ परिवारले पाए नयाँ घर 

रुकुमका घरवारविहीन १२८ परिवारले पाए नयाँ घर 

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम - जिल्लाका १२८ विपन्न परिवारले नयाँ घर पाएका छन् । कर्णाली प्रदेश सरकारको जनता आवास कार्यक्रममार्फत जिल्लाका घरवारविहीन विपन्न परिवारले नयाँ घर पाएका हुन् । जनता आवास कार्यक्रमको कार्यान्वयन भने जिल्लाका छवटा स्थानीय तहले गरेका थिए ।

 

कर्णाली प्रदेशको गत आर्थिक वर्ष २०७६/०७७ को जनता आवास कार्यक्रमबाट जिल्लाका ६ वटा स्थानीय तहमा घर नहुँदा छाप्रो बनाएर, छिमेकी र आफन्तको घरमा शरण लिएर बसिरहेका तथा घर जीर्ण भई जोखिममा रहेका र घर निर्माण गर्ने क्षमता नभएका विपन्न, दलित तथा सीमान्तकृत समुदायका परिवारका लागि नयाँ घर निर्माण भएका छन् ।     

 

जनता आवास कार्यक्रम समन्वय समितिले जिल्लाका दुईवटै निर्वाचन क्षेत्रका १२९ घरपरिवारलाई नयाँ घरका लागि छनोट गरेकामा एउटा घर भने निर्माण हुन नसकेको पूर्वाधार विकास कार्यालय चौरजहारीका प्रमुख भूपेन्द्रप्रसाद जैसीले जानकारी दिए । 


निर्वाचन क्षेत्र नम्बर १ का आठबीसकोट नगरपालिकामा २८, बाँफिकोट गाउँपालिकामा १८ र मुसीकोट नगरपालिकामा १८ गरी ६४ वटा घर निर्माण भएका छन् । चौरजहारी नगरपालिकामा २८, सानीभेरी गाउँपालिकामा १९ र त्रिवेणी गाउँपालिकामा १७ गरी निर्वाचन क्षेत्र नम्बर २ मा ६५ वटा घर निर्माण भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।


कन्टेन्जेन्सीसहित तीन लाख १० हजार रुपैयाँका दरले दुई कोठा र बरण्डासहितका घर निर्माण भएका हुन् । त्यस्तै, शौचालय भने स्वयं परिवारले निर्माण गरेका छन् । नयाँ घर पाएपछि विपन्न परिवार खुसी भएका छन् ।