close

शैल्यशिखरमा सडकले कुलो भत्कायो, पानी नआउँदा खेत बाँझै

शैल्यशिखरमा सडकले कुलो भत्कायो, पानी नआउँदा खेत बाँझै

Trulli
ADVERTISEMENT

दार्चुला - शैल्यशिखर नगरपालिकाको वडा नम्बर- १ को बलाँच थाला हुँदै तौकी जोड्ने गरी निर्माण भइरहेको सडकले कुलो भत्काएको छ । तीन वर्षदेखि निर्माण सुरु भएको सडकले किसानको खेतमा पानी ल्याउन बनाएको कुलो भत्काएको हो ।


सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको उक्त सडकले कुलो भत्काएपछि जोगेउडाका अधिकांश खेतमा पानी नआउँदा खेत बाँझै छ । न आकाशबाट पानी आउँछ, न खोलाबाट ल्याएको कुलोमा पानी नै बग्छ अहिले । 


‘गहुँ लगाउने समयमा पानी नआउँदा जोगेउडाका १० परिवारको खेत बाँझै छ’, स्थानीय पशुपति नाथले भनिन् । ठेकेदारले सडक निर्माणपछि कुलो नबनाइदिँदा यहाँका किसानले खेती गर्न सकेका छैनन् । 


जोगेउडा क्षेत्रमा घट्टेखोलाबाट कुलो बनाएर गहुँ लगाइने गरेको थियो । गहुँ उत्पादन राम्रो हुने खेतमा पानी नै नभएपछि गहुँ छर्न नसकिएको नाथले बताइन् । ‘विगतमा आकाशे पानीको भरमा पनि खेती गरिन्थ्यो’, उनले भनिन्, ‘तर, यस पटक आकाशे पानी परेकै छैन । पानी नहुँदा गहुँ छर्न सकिएको छैन ।’


स्थानीय अशोक नाथ घट्टे खोलाबाट ल्याएका दुईवटै कुलो भत्काए पनि ठेकेदारले नबनाइदिँदा समस्या भएको बताउँछन् । उनले भने, ‘जोगेउडा वस्तीमा आउने खानेपानीका पाइपसमेत टुटफुट हुँदा समस्या छ ।’


खेतमा आउने कुलो र खानेपानी बनाउन वडा सरकारलाई समेत आग्रह गर्दै आएका छन् उनीहरूले । पटक पटक आग्रह गरे पनि वडाले ठेकेदारलाई बनाइदेऊ भन्न नसकेको उनीहरूको गुनासो छ ।


‘सडकले विकास त गर्‍यो तर किसानको खेतमा पानी बन्द गरेर गरेको विकासले किसान मर्कामा छौँ । बनाएको सडक पनि बर्खायाममा सञ्चालन हुने अवस्था छैन’, उनले भने ।


शैल्यशिखर नगरपालिका वडा नम्बर- १ का वडा अध्यक्ष भरत खडायत किसानको खेतमा आउने कुलो सडक खन्ने क्रममा ठेकेदारले भत्काएको बताउँछन् । ‘सडक निर्माणको क्रममा कुलो भत्किएपछि ठेकेदारले बनाउनुपर्ने हो’, उनले भने, ‘तर, ठेकेदारसँग सम्पर्क हुन सकेको छैन ।’

 
कुलोमा पानी नआउँदा किसानलाई गहुँ लगाउन समस्या भएको उनले बताए । ‘सडक निर्माणाधीन छ, अझै पनि जनताको खेतमा आउने कुलो निर्माणका लागि ठेकेदारलाई भन्छौँ’, उनले भने । यो सडक हालसम्म झण्डै चार किलोमिटरको हाराहारीमा बनेको छ । अहिले पनि सडक निर्माणाधीन रहेको हुँदा कुलो बनाउन लगाइने उनले जानकारी दिए ।