close

...र यसरी ताप्केडाँडा भयो ‘सुन्दरपुर’

...र यसरी ताप्केडाँडा भयो ‘सुन्दरपुर’

Trulli
ADVERTISEMENT

ओखलढुंगा - ओखलढुंगाको चम्पादेवी गाउँपालिकाको केन्द्र रहेको ठाउँलाई अहिले ‘सुन्दरपुर’ नामकरण गरिएको छ । साविक कालिका गाविसको ताप्केडाँडा संघीयता कार्यन्वयनसँगै ‘सुन्दरपुर’ भएको हो ।


पहिले यहीँ थियो कालिका गाविसको केन्द्र । निकै विकट, खानेपानी, बाटो र बिजुली नपुगेको ठाउँ थियो यो । संघीयता कार्यान्वयनमा गाउँपालिका र त्यसको सीमाङ्कनमा गाउँपालिकाको केन्द्र रहने स्थानबारे तीब्र विवाद थियो । 

 

यस गाउँपालिकामा समेटिएका फेदीगुठ, पलापु, कालिका, विलन्दु र रानीवनको व्यापारिक केन्द्र थियो घोराखोरी । विकासका पूर्वाधार बनेको र सडक पुगेको उक्त ठाउँलाई गाउँपालिका केन्द्र बनाउन धेरैको प्रस्ताव थियो । नामकरणमा सहमति जुटे पनि केन्द्रमा नजुटेपछि घोराखोरी वा ताप्केडाँडा भनेर संघीय मामिला मन्त्रालयमा पठाइयो । पछि आयोगले ताप्केडाँडा केन्द्र भनेर तोकिएपछि फुङ्ग उडेको डाँडामा गाउँपालिका केन्द्र स्थापना भयो । 

 

सबैले हेला गरेर ताप्केडाँडा भनेकाले स्थानीय तहको निर्वाचनपछि आएका जनप्रतिनिधिले त्यसलाई ‘सुन्दरपुर’ भनिदिए । अहिले त्यही ताप्केडाँडामा गाउँपालिका केन्द्र भएकाले विकासका पूर्वाधार धमाधम बन्दै छन् । 

 

यहाँ खानेपानी पुगेको छ । अस्थायी रूपमा बिजुली पनि पुगेको छ । अप्ठ्यारो भीर फोरेर सडक पुर्‍याइएको छ । तर, निकै जोखिमपूर्ण यात्रा गर्नुपर्छ, चम्पादेवीको केन्द्र सुन्दरपुर पुग्न । संघीयता कार्यान्वयन हुनुपूर्व विकासका दृष्टिकोणले अतिपिछडिएको यस क्षेत्रमा गाउँपालिका केन्द्र स्थापना भएपछि अहिले सडक, खानेपानी, विद्युत, स्वास्थ्यलगायतका पूर्वाधार निर्माण भएका छन् ।


संघीयता कार्यान्वयमा आएर गाउँपालिकाको केन्द्र स्थापना हुँदा यस ठाउँमा विकासका पूर्वाधार नै थिएनन् । भौगोलिक रूपमा समेत यो ठाउँ अति नै विकट रहेको थियो । जताततै डरलाग्दा भीरैभीर भएको यस ठाउँमा विकासका पूर्वाधार निर्माण गर्नु आफैँमा चुनौती थियो ।


तर, अहिले यस ठाउँको रूप नै फेरिएको छ । गाउँपालिकाले यस ठाउँमा अस्थायी भवन निर्माण गरेर प्रशासनिक सेवा दिइरहेको छ । गाउँपालिका केन्द्रसँग सबै वडा जोड्ने सडक निर्माणको काम पनि भएको छ । वर्षौंदेखिको खानेपानी समस्या पनि समाधान भएको छ । 


अस्थायी रूपमा विद्युत् पनि संचालनमा छ यहाँ । ‘हामी निर्वाचित भएर आएपछि विकट सुन्दरपुरलाई सुगम बनाउन सफल भएका छौँ’, चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले भने, ‘सुन्दरपुरलाई सुगम बनाउँदै समग्र गाउँपालिकाको तीब्र विकासको काम अगाडि बढाइरहेका छौँ ।’


गाउँपालिका केन्द्र स्थापना भएर विकासका पूर्वाधार निर्माण भएपछि सुन्दरपुर गाउँका स्थानीय खुसी छन् । आफ्नो गाउँ यसरी विकास हुन्छ भनेर पहिले सोच्दै नसोचेको स्थानीय कृष्णा तामाङले बताइन् ।


चम्पादेवी गाउँपालिकाले गौरवको आयोजनाका रूपमा खानेपानी, विद्युत् र सडकलाई छनोट गरेको छ, जसमध्ये सदियौँदेखि तिर्खाले व्याकुल बन्दै आएका गाउँ वस्तीमा खानेपानी पुर्‍याउन चालू आर्थिक वर्षलाई खानेपानी वर्षको रूपमा लिएको छ ।

 

गाउँपालिकाले २०७८ सालमा सबै वडामा केन्द्रीय विद्युत् प्रशारण लाइन जोड्ने योजना अगाडि सारेको छ । चम्पादेवीका सबै वडाहरूलाई सहज रूपमा गाउँपालिका केन्द्रसँग जोड्न थप सडक निर्माणको योजना पनि छ ।