close

१२९ वर्षपछि पहिलो पटक ऐतिहासिक डौँठेगडा दशैँ मेला नहुने

१२९ वर्षपछि पहिलो पटक ऐतिहासिक डौँठेगडा दशैँ मेला नहुने

Trulli
ADVERTISEMENT

अछाम - अछाम जिल्लाको चर्चिच तथा ऐतिहासिक डौँठेगडा दशैँ मेला यस वर्ष नहुने भएको छ । कात्तिक शुक्लपूर्णिमाको दिन सधैँका वर्ष लाग्ने दशैँ मेला यस वर्ष नहुने भएको हो ।

 

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका- १ गाज्रामा लाग्ने ऐतिहासिक डौँठेगडाको दशैँ मेला कोरोना भाइरसका कारण १२९ वर्षपछि पहिलो पटक रोकिएको हो । कोरोनाको जोखिम बढ्दै गएका कारण यस वर्ष दशैँ मेला नहुने गाउँपालिकाको वडा- १ गाज्राका अध्यक्ष हिरिण्डबहादुर खड्काले जानकारी दिए ।


ऐतिहासिक डौँठेगडा दशैँ मेला १९४९ सालदेखि निरन्तर रूपमा मनाइँदै आएकामा यस वर्ष कोरोनाका कारण स्थगित भएको अध्यक्ष खड्काको भनाइ छ । अछाम जिल्लामा देवीका नाममा मनाइँदै आएका ऐतिहासिक तथा चर्चित दशैँ मेलाहरू यस वर्ष रोकिँदै गएका छन् । शान्नीकोट दशैँ मेला, तिमिल्सैन दशैँ मेला पनि कोरोनाका कारण रोकिएका थिए ।


डौँठेगडा मेलाको इतिहास


परापूर्वकालदेखि अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका- १ गाज्रामा कात्तिक शुक्ल पूर्णिमाका दिन डौँठेगडामा मेला लाग्ने गर्छ । यस मेलामा विशेषगरी आफ्नो मनोकांक्षा पूरा होस् भनेर राँगा, बोकाको बलि दिने प्रचलन छ । मेला भर्न अछाम, डोटी, बाजुरा, कालीकोट, सुर्खेतलगायत थुप्रै ठाउँबाट हजारौँ मानिस सहभागी हुने गर्छन् ।

 

विशेषगरी सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका बासिन्दा मेला भर्न यस ठाउँमा आउने गरेका पाइन्छ । बरदादेवी माताको शक्तिका कारण आफ्नो मनोकामना पूर्ण हुने विश्वासका साथ यहाँ मानिसहरू आएर राँगा र बोकाको बलि दिनुका साथै पूजा अर्चना गर्ने गर्छन् । साथै त्यस दिनदेखि भोलिपल्ट बिहानसम्म यस ठाउँमा सुदूर तथा कर्णालीको चर्चित न्याउल्या खेल खेलेर रमाइलो गर्ने प्रचलनसमेत छ ।


तत्कालीन समयमा नेपालमा बाइसे, चौबीसै राज्य भएको बेला सिकिन्दर खड्काको पालादेखि नै डौँठेगडामा मेला सुरुवात भएको इतिहास छ । तत्कालीन समयमा राजाको आदेशमा मुखियाहरूको टाउको काट्नू भनी आदेश दिइन्थ्यो । त्यसै बखतमा राजाको आदेशमा अछामका गाउँगाउँमा रहेका मुखियाहरूलाई प्रहरीले पक्राउ गर्दै ल्याएको इतिहास पाइन्छ ।


सोही क्रममा गाज्राका मुखिया सिकिन्दर खड्कालाई पनि प्रहरीले पक्राउ गरी ल्याएको र संयोगवश उनलाई ल्याउने प्रहरी प्रमुख उनका मीत रहेका उल्लेख छ । जब उनलाई काट्न अछाम र दैलेखको सिमाना कर्णाली नदीको किनार बेलखेतमा पुर्‍याइयो, उनलाई काट्न उनकै मीत प्रहरी आए ।


काट्न आएका खड्काका मीत प्रहरीले उनलाई भने, ‘तपाईं आफूले पुज्ने देवी देउतालाई सम्झनुहोस् ।’ सिकिन्दर खड्काले बरदादेवी मातालाई सम्झेर कर्णाली नदीमा हामफालेर सकुशल आफ्नो घर गाज्रा फर्केका कारण डौँठेगडामा छाडी राँगा, बोकाको बलिसहित दशैँ मेला लाग्ने गरेको भनाइ छ ।


खड्काले कर्णाली नदीमा हामफालेको बेला आफूले कबुल गरेअनुसार मनोकामना पूर्ण भएको भन्दै राागा र बोकाको बलि दिएको इतिहास पाइन्छ । पछि गएर सबैले डौँठेगडामा आफ्नो मनोकामना पूरा होस् भनेर बलि स्वरूप छाडी राँगा काट्ने प्रचलन रहँदै आएको विश्वास गरिन्छ ।