close

अस्पताल निर्माणको विषयले मोलुङमा तनाव 

अस्पताल निर्माणको विषयले मोलुङमा तनाव 

Trulli
ADVERTISEMENT

ओखलढुंगा - मोलुङ गाउँपालिकाले निर्माण गर्ने १५ शय्याको अस्पतालका लागि रामपुरको जग्गा पास भएपछि गाउँपालिका केन्द्रमा असन्तुष्टि चुलिएको छ । गाउँपालिका केन्द्रबाट बाहिर अस्पताल निर्माण गर्न खोजेको भन्दै स्थानीयले विरोध जनाएका हुन् । 


संघीय सरकारले प्रत्येक स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण गर्न बजेट व्यवस्थापन गरेपछि मोलुङ गाउँपालिकाले जग्गा व्यवस्थापनको काम थालेको थियो । यसअघि गाउँपालिका केन्द्रमै अस्पताल निर्माण गर्न भनेर स्थानीयले जग्गा दिएका थिए । 

 

राजनीतिक पहुँचका आधारमा केन्द्रबाहिर रामपुर बजारमा अस्पताल निर्माण गर्न लागेको भन्दै स्थानीयले विरोध थालेका हुन् । उनीहरूले यसअघि दुई पटक गाउँपालिका केन्द्र नजिकै रहेको जग्गामा अस्पताल निर्माणको काम थाल्न माग गर्दै ज्ञापनपत्रसमेत बुझाएका थिए । 


स्थानीयको मागविपरीत गाउँपालिकाले वडा नम्बर-२ रामपुरमा अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढाएको प्राप्चाका स्थानीय बालकृष्ण दाहालले बताए । गाउँपालिका केन्द्रमा स्थानीयले २७ रोपनी जग्गा निःशुल्क दिए पनि गाउँपालिकाले एकलौटी ढंगबाट रामपुरमा अस्पताल बनाउन प्रक्रिया अघि बढाएको दाहालको आरोप छ ।  


यसअघि पनि गाउँपालिका केन्द्रमा अस्पताल निर्माण गर्नुपर्ने माग गर्दै वडा नं. ३ र ५ का गाउँसभाका सदस्यसहित सयौँ स्थानीयले हस्ताक्षरसहितको मागपत्र गाउँपालिका अध्यक्ष मणिराज राईलाई बुझाएका थिए ।

 

अहिले निर्माण गर्न खोजिएको स्थानमा वडा नं. १ र २ का स्थानीयका लागि मात्र सहज हुने भनाइ छ । आठमध्ये छवटा वडाका लागि गाउँपालिका प्राप्चामा अस्पताल निर्माण गर्दा सहज हुने स्थानीय लेखनाथ फुयालले बताए । अस्पताल निर्माणको विषयमा नागरिकको मागलाई गाउँपालिकाले बेवास्ता गरेको उनको आरोप छ ।


स्थानीयको माग गाउँपालिकाले नसुनेको विषयमा गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले अस्पताल निर्माण गर्न गाउँपालिकाले कुनै निर्णय नगरेको, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाटै तोकिएको बताए ।


मन्त्रालयले रामपुरमा अस्पताल रहने गरी विवरण पठाएको थियो । सघन शहरी विकास कार्यालयबाट रामपुरमा रहेको स्वास्थ्य चौकीलााई नै स्तरोन्नति गर्ने पत्र आइसकेकाले रामपुर स्वास्थ्य चौकीले जग्गा व्यवस्थापन गरेको नेपालले जानकारी दिए । हाल रामपुरमा अस्पतालका लागि स्थानीयले नौ रोपनी जग्गा निःशुल्क दिएका छन् । 


यसअघि गाउँपालिका केन्द्र तोकिँदा रामपुरका स्थानीयले अपायक क्षेत्रमा केन्द्र तोकेको भनेर आन्दोलन गरेपछि प्राप्चा र रामपुरबीच विवाद भएको थियो ।