close

संघीयताले फेरिएको एउटा गाउँ

संघीयताले फेरिएको एउटा गाउँ

Trulli
ADVERTISEMENT

ओखलढुंगा– ओखलढुंगाको मोलुङ गाउँपालिका वडा– २ स्थित रामपुर बजार व्यापारिक केन्द्र मात्रै नभई सहिद भूमिका रूपमा समेत परिचित छ ।


पञ्चायतविरोधी आन्दोलनमा २०३१ मा ओखलढुंगाबाट ५७ जनाले शहादत प्राप्त गरेका थिए । तीमध्ये तीन सहिद लीलानाथ दाहाल, गोकर्ण कार्की र खगेन्द्र दाहाल रामपुरकै थिए । यति मात्रै होइन, कांग्रेस नेता पूर्वसांसद चन्द्रकान्त दाहाल र पूर्वमन्त्री होमनाथ दाहालको जन्मस्थान पनि यही हो ।


सत्तामा सीधै पहुँच राख्ने रामपुर विकासका दृष्टिले भने निकै पछि परेको थियो । बजारमा सार्वजनिक शौचालयदेखि पिउनेपानीका धारासमेत थिएनन्, पहिले ।


संघीयता कार्यान्वयन सुरु भएका तीन वर्षमा रामपुरको मुहार फेरिन थालेको छ । सत्तामा पहुँच राखेर पनि नफेरिएको रामपुर पूर्वाधार विकासमा फड्को मार्दै छ ।


रामपुरमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त स्नातक क्याम्पस पनि छ । यो क्याम्पस स्वीकृत गराउन सांसद यज्ञराज सुनुवारले आफू त्रिभुवन विश्वविद्यालयको सिनेटर हुँदा पहल गरेका थिए । धुले कक्षामा सञ्चालित रुणेश्वर माध्यमिक विद्यालयका अहिले २० करोडमाथिका संरचना संघीयतापछि नै निर्माण भएका हुन् ।


अहिलेको मोलुङ गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र रामपुरमा स्नातक तहसम्मको क्याम्पस, कक्षा १२ सम्मको प्राविधिक धारसहितको विद्यालय र इलाका प्रहरी कार्यालय रहेको रामपुर धान झुलेका बेला परबाट सुन्दर देखिए पनि नजिक पुग्दा विकासमा निकै पछि परेको अनुभव गरेर फर्किन्थे, त्यहाँ पुग्ने ।

 

बिहीबारे हाट सडक र वरपीपलका फेदीमा लाग्थ्यो । केही वर्ष पहिलेसम्म खानेपानी र सार्वजनिक शौचालय थिएनन् । संघीयता कार्यान्वयनसँगै गाउँपालिकाको पहलमा संघीय सरकारले रामपुरको पूर्वाधार विकासमा अनुदान दिएर धमाधम संरचना निर्माण भइरहेका छन् । रामपुरको विकासका लागि गुरु योजना बनेर कार्यन्वयन सुरु भएको छ ।


अहिले हाटबजार क्षेत्र र पार्क निर्माण भएको छ भने डम्पिङ साइट निर्माण गर्ने योजना रहेको मोलुङ– २ का वडाध्यक्ष तथा रामपुर हाटबजार व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर कार्की बताउँछन् ।


हाटबजार तथा पार्क निर्माणका लागि संघीय आयोजना कार्यान्वयन इकाइले १ करोड ३५ लाखमा ठेक्का लगाएर संरचना निर्माण भएपछि यसले रामपुरको मुहार मात्रै फेरिएको छैन, यसलाई सहरको स्वरूपमा देख्न सकिने भएको छ । गाउँपालिकाले छुट्टै २० लाख खर्चेर खानेपानी आयोजना सञ्चालन गरेपछि टोलटोलमै पानीका धारा पुगेका छन् ।


यसले रामपुर बजारमा व्यापारिक कारोबार बढेको छ भने छिमेकी गाउँबाट घुम्न आउने पनि ह्वात्तै बढेको स्थानीय प्रकाश दाहाल बताउँछन् । बजार क्षेत्रको विकास भएकाले व्यापार तथा आर्थिक कारोबार बढेको उनको बुझाइ छ ।


आधारभूत अस्पतालको समेत शिलान्यास भएर निर्माण प्रक्रिया अघि बढेपछि रामपुरको मुहार संघीताले फेरिदिने निश्चित छ । गुरुयोजनाअनुसार बाँकी काम पूरा गर्न गाउँपालिका र यस क्षेत्रका सांसद पनि लागिपरेका छन् ।