close

सेनाले बालेको एकताको बत्ती (भिडियो खबर) 

सेनाले बालेको एकताको बत्ती (भिडियो खबर) 

ADVERTISEMENT

नुवाकोट- नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै नेपाली सेनाले सञ्चालन गरेको ‘एकीकरण टर्च’ र्‍यालीले लुकेका विविध सम्भाव्यताका आधारलाई सतहमा ल्याइदिएको छ । सेनाको र्‍यालीले गोरखादेखि काठमाडौंसम्मको एकीकरण पदमार्गको स्थापना, युवापिँढीलाई राष्ट्रप्रतिको भावना विकास र शाहकालीन समयका पुरातात्त्विक तथा धार्मिक सम्पदाको पुनर्निर्माणमा नयाँ आशा जगाएको हो ।

 

२० पुसमा गोरखाको गोरखा दरबारबाट हिँडेको नेपाली सेनाको एकीकरण टर्च र्‍याली धादिङ, नुवाकोट हुँदै काठमाडौं आइपुगेको छ । गोरखा हुँदै नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहसहितको सैनिक फौज हिँडेको पदमार्ग पछ्याउँदै नेपाली सेनाले चलाएको टर्च अर्थात दीप प्रज्वलनसहितको यात्राले शाहकालीन समय नुवाकोटमा निर्माण गरिएको सात तले दरबार, पाटी-पौवा, ढुंगेधारा, गोर्खाली सैनिकले तालिम गरेका मैदानलगायत संरचनामा भूकम्पले पुर्‍याएको क्षति र पुरानो हुँदै जीर्ण अवस्थाको पुनर्निर्माण हुने आशा जगाएको छ । 


पृथ्वीनारायणमार्फत कीर्तिपुर राज्यको अधीनमा रहेको नुवाकोटमाथि विजय हासिल गर्न धादिङ हुँदै आइपुगेको गोर्खाली फौज हिँडेको पदमार्ग पछ्याएको सेनाको र्‍यालीले दिने सन्देशको लाभ सबैभन्दा बढी नुवाकोटले उठाउन सक्ने देखिएको छ ।

 

नुवाकोटमाथिको आक्रमण तथा उपत्यका आक्रमणका लागि सामरिक तथा कूटनीतिक युद्धसँग जोडिएका संरचना तथा नेपालको राजधानी नै नुवाकोटबाट चलाएको ऐतिहासिक अवसरलाई अहिलेको एकीकरण र्‍यालीले संरक्षण, प्रवर्द्धन र प्रचारका लागि स्थानीय सरकार पनि हौसिएको छ । 


पृथ्वीनारायण र उनको सैनिक फौज हिँडेको पदमार्गको संरक्षण गर्दै पर्यटक प्रवर्द्धन तथा पुर्खाले पुर्‍याएको योगदानको सम्मानस्वरूप युवापिढीँमा राष्ट्रभाव उत्पन्न गराउन ‘एकीकरण टर्च’ र्‍यालीले महत्त्वपूर्ण सहयोग पुग्ने सेनाको विश्वास छ । 


जीर्ण संरचना नियाल्दै गोर्खाली सैनिकले लगाएजस्तै पोसाक, त्यही समयको हतियार बोकेर गोरखा हुँदै काठमाडाैंसम्मको ‘२६ कोशको रुमाले’ पदयात्रा पूरा गरेको सैनिकले २७ पुसको पृथ्वी जयन्तीको महत्त्व र पृथ्वीनारायणसँग जोडिएका योगदानको महिमालाई प्रचारमा ल्याउन जोड दिएको छ ।