close

गर्भवती महिलालाई स्वास्थ्य चौकी जान निमन्त्रणा कार्ड

गर्भवती महिलालाई स्वास्थ्य चौकी जान निमन्त्रणा कार्ड

Trulli
ADVERTISEMENT

हुम्ला- हुम्लाको खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखाले पालिकाभरि गर्भवती भएका महिलाका लागि निमन्त्रणा कार्डको बाँड्न थालेको छ ।

 

गर्भवती महिला समूहको मासिक रूपमा बस्ने बैठकमा सम्मानका लागि उपस्थित हुने वातावरण सिर्जना गर्न यस्तो कार्डको व्यवस्था गरिएको हो ।

 

अघिल्लो दिन निमन्त्रणा कार्ड पाएर बैठकमा जाँदाको खुसी बेग्लै हुने खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ छिप्रागाउँकी बेलमति टमटाले बताइन् ।


यसअघि यस्तो समूह र बैठक पनि हुने गरेको थिएन । ७ महिनाकी गर्भवती उनले स्वास्थ्य स्वयंसेविका कार्ड लिएर बैठकका लागि निम्तो दिन आउने गरेको सुनाइन् ।


खार्पुनाथ स्वास्थ्य शाखाका संयोजक बलिराज शाहीले भने, ‘गाउँपालिकाभरिका सबै गर्भवती महिलालाई मासिक रूपमा हुने बैठकमा उपस्थिति गराउन निमन्त्रणा कार्डमार्फत बोलाउन यस्तो व्यवस्था गरेका हौँ ।’


गर्भवतीको सम्मानका लागि उक्त कार्डको व्यवस्था गरिएको उनले बताए । गर्भवतीले मासिक बैठकमा आउने कार्ड पाएपछि नियमित आउने र छलफलमा भाग लिने गरेको शाहीले जानकारी दिए ।


यो व्यवस्था गाउँपालिकाका ५ वटै वडाका स्वास्थ्य संस्थामा लागू गरिएको छ । गर्भवती महिलाको मासिक बैठक प्रत्येक महिनाको २८ गते बस्ने व्यवस्था छ ।

 

निमन्त्रणा कार्डमा गर्भजाँच गराउन गएको मिति र प्रसूतिगृहमा सुत्केरी भएबापत पाउने सुविधालगायत सबै विवरण समावेश गरिएको छ ।