close

मुगुका जनजाति समुदायमा सोनाम ल्होसारको रौनक

सुँगुर वर्ष समापन भई मुसा वर्ष शुभारम्भ भएको खुसियाली

मुगुका जनजाति समुदायमा सोनाम ल्होसारको रौनक

सुँगुर वर्ष समापन भई मुसा वर्ष शुभारम्भ भएको खुसियाली

Trulli
ADVERTISEMENT

मुगु- मुगुको मुगुमकामारोङ गाउँपालिकामा सोनाम ल्होसारको चहलपहल सुरु भएको छ । मुगुमकामारोङमा अधिकांश भोटे/लामा समुदायको बाहुल्य छ । मुगुमकामरोङका ९ वटा वडामध्ये ८ वडा वडामा अधिकांश भोटे जनजाति समुदायअन्तर्गतका लामा, तामाङ, गाहालगायत समुदाय बसोबास गर्छन् । 

 

गाउँपालिकाका भोटे बस्तीमा सोनाम ल्होसार मनाउने क्रम बिहीबारदेखि सुरु भएको हो । बालबालिकादेखि वृद्धवृद्धासम्म सोनाम ल्होसारको रमाइलोमा झुमेका भेटिन्छन् । सोनाम ल्होसारको अवसरमा सबैले नाचगान गर्ने, मीठामीठा परिकार बनाई खाने चलन छ ।

 

१५ दिनसम्म चल्ने सोनामा ल्होसारमा लामा समुदायले एकआपसका सद्भाव साटासाटा गर्ने, आफन्त छोरीज्वाइँ, भान्जाभान्जी, फुपूफुपाजूलाई घरमा बोलाई मीठा परिकार खुवाउने र आफू पनि आफन्तका घरमा पाहुना जाने चलन रहेको स्थानीय छिरिङ लामाले बताए । उनका अनुसार बिहीबारबाट सुँगुर वर्षको समापन भई मुसा वर्षको शुभारम्भ भएको छ ।

 

हिमाली भेगमा पर्ने साविक कर्णालीका ५ जिल्ला जुम्ला डोल्पा, हुम्ला, कालीकोट र मुगुमा बसोबास गर्ने लामा समुदायमा सोनाम ल्होसार दसैँ पर्वझैँ धुमधामसाथ मनाउने गर्छन् ।


औंशीबाट सुरु भएको सोनाम ल्होसारमा विशेषगरी बौद्ध धर्मावलम्बीले प्रमुख चाडका रूपमा मनाउने गर्छन् । ल्होसारलाई नयाँ वर्षका रूपमा मनाइने स्थानीय जिग्मेत तामाङले जानकारी दिए । तामाङले भने, ‘सोनाम ल्होसारका बेला युवा-युवतीहरू धनुष वाँण हान्ने, नाचगान गर्ने र मायाप्रेम साटासाट गने गर्छन् ।’