close

बिजुली नदिएपछि महाकाली लोकमार्ग अवरुद्ध

बिजुली नदिएपछि महाकाली लोकमार्ग अवरुद्ध

Trulli
ADVERTISEMENT

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिकाको वडा नम्बर ५ बगौरामा विद्युतीकरणमा ढिलाइ भएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका छन् ।

 

पटक-पटक नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्र र ठेकेदारलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि स्थानीय सडक अवरुद्ध गरेका हुन् ।


शैल्यशिखरको वडा नम्बर १ बलाचमा ३० मेगावाटको चमेलिया जलविद्युत्, वडा नम्बर ३ देथलामा नौगाड र अपर नौगाढ गरी १७ किलोवाट क्षमताको विद्युत् उत्पादन भएर सुदूरपश्चिम उज्यालो हुँदा पनि विद्युत् नपाएपछि सडक बन्द गर्नु परेको स्थानीयले बताए ।

 

महाकाली लोकमार्गको ग्वानी बगौरा सडक खण्ड अवरुद्ध गर्दा यातायातका साधन ठप्प भएका छन् । शैल्यशिखरबाटै विद्युत् उत्पादन भएर पनि यहाँका वडा नम्बर १,२, ३, ५, ६, ७ का अधिकांश बस्ती अन्धकारमा छन् । 

चमेलियाको बत्ती उद्घाटन भएर राष्ट्रिय प्रसारणमा जोडिँदा पनि यस क्षेत्रकै जनता अन्धकारमा बस्नु परेपछि सडक बन्द गर्नु परेको विद्युत् संघर्ष समितिका अध्यक्ष कृष्णसिंह डागाले जानकारी दिए ।

 

विद्युतीकरणका लागि ठेक्का भएको लामो समयसम्म ठेकेदार र प्राधिकरणले लापरबाही गरेको स्थानीयको गुनासो छ । 


सम्बन्धित निकायले विद्युतीकरणमा ध्यान नदिए ३३ केभिएको मुख्य लाइन काटेर बिजुली अवरुद्ध गरिने बगौराका व्यापारी गणेशसिंह डागाले चेतावनी दिए ।

 

‘जहाँबाट बिजुली उत्पादन भएको हो, त्यहाँका जनता उपभोग गर्न नपाउँदा अँध्यारोमा बस्नु परेको छ’, उनले भने ।

 
दार्चुलाको चमेलिया र नौगाडको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । तर, त्यही विद्युत् उत्पादन क्षेत्रका नागरिक ४ वर्षदेखि अन्धकारमा छन् ।