close

काकाकुल काठमाडौंमा खानेपानीको सास्ती 

मेलम्चीको आश मार्दै धमाधम बोरिङ खन्न थाले काठमाडौंका स्थानीय तह 

काकाकुल काठमाडौंमा खानेपानीको सास्ती 

मेलम्चीको आश मार्दै धमाधम बोरिङ खन्न थाले काठमाडौंका स्थानीय तह 

Trulli
ADVERTISEMENT

काठमाडौं- देशको संघीय राजधानी भन्नेबित्तिकै जोकोहीलाई लाग्छ, सेवा-सुविधा सम्पन्न सहर हो, काठमाडौं । तर, काठमाडौंबासीको घरको धारामा एक सातासम्म पानी चुहिँदैन ।


१३ वर्षदेखि मेलम्चीको पानी आउने आशमा रहेका काठमाडौंबासी अब भने निरास बन्न थालेका छन् । सरकार, सत्ता फेरियो तर मेलम्चीको पानी काठमाडाैं आइपुगेन ।

 

२०४६ को परिवर्तनपछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउने सपना देखेका थिए । 

 

सुरुमा २०६४/०६५ मा मेलम्चीको पानी राजधानीबासीलाई खुवाउने योजना बन्यो । त्यो पूरा नभएपछि २०७०/०७१ मा आयोजना पूरा गर्ने भनियो ।

 

त्यसबेला पनि पूरा नभएपछि २०७६ को दसैंमा मेलम्चीको पानी राजधानी आउने ग्यारेन्टी गरियो । त्यो पनि हालसम्म पुरा हुन सकेको छैन । 

 

खानेपानी समस्या भोग्दै आएका जनतालाई खानेपानी समस्या समाधानका निम्ति काठमाडौं जिल्लाका स्थानीय सरकारले खासै चासो दिएको देखिँदैन ।

 

कतिपय नगरपालिकाले वैकल्पिक माध्यममार्फत पानी खुवाए पनि केहीले ले भने चासै दिएका छैनन् । त्यसतर्फ सरकारले ध्यान दिन सकेको छैन ।

 

जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन काठमाडाैंका स्थानीय तहले के गर्दै छन् ? 


कीर्तिपुर नगरपालिका 

 

जनप्रतिनिधि आएसँगै कीर्तिपुरमा खानेपानी समस्या केही समाधान भएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा ७५ प्रतिशत खानेपानी समस्या समाधान भएको छ ।

 

नगरपालिकाले वैकल्पिक विधि, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल) मार्फत समस्या समाधान गरिँदै आएको बताएको छ ।

 

बोरिङ, इनार फिल्टर प्रयोग गरी खानेपानी समस्या समाधानको प्रयास भइरहेको नगर उपप्रमुख सरस्वती खड्काले बताइन् ।

 

स्रोत व्यवस्थान र वितरणका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिइन् ।

 
शंखरापुर नगरपालिका 

 

शंखरापुरमा पर्याप्त खानेपानी नभए पनि समस्या पर्ने अवस्था भने छैन । यो पानीका स्रोत धेरै भएको नगरपालिका हो ।

 

वडा नम्बर १ र ३ मा खानेपानीको समस्या छ । त्यसलाई व्यवस्थापन गर्ने प्रयास भइरहेको नगरपालिकाले जनाएको छ । स्रोत व्यवस्थापन गर्दै अगाडि बढ्ने नगरपालिकाको योजना छ ।

 
नागार्जुन नगरपालिका 

 

नागार्जुनले खानेपानीका लागि स्रोत संरक्षण, डिप बोरिङ, ट्यांकी निर्माणलगायतका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

आफ्नै स्रोत संरक्षण गरी नगरबासीलाई खानेपानी पुर्‍याउने प्रयास भइरहेको नगरपालिकाले बताएको छ । 


दक्षिणकाली नगरपालिका 

 

दक्षिकालीमा पर्यप्त खानेपानी नभए पनि चरम समस्या भने छैन । नगरपालिकाले वैकल्पिक माध्यम प्रयोग गरी नगरबासीलाई खानेपानीको सुविधा दिइँदै आएको बताएको छ ।

 

स्रोत संरक्षण, डिप बोरिङमार्फत खानेपानी व्यवस्था गरेको छ । त्यसका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 


गोकर्णेश्वर नगरपालिका 

 

गोकर्णेश्वरभित्र खानेपानी समस्या बढी रहेको नगरपालिका आफैंले स्वीकारेको छ । बोरिङ, इनारको भर पर्नुपर्ने अवस्था छ ।

 

नगरपालिकाले गत आर्थिक वर्षमा खानेपानीका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । 


चालू आर्थिक वर्षमा पनि सोही कार्यक्रमलाई निरन्तरता दिइएको नगरपालिकाले जनाएको छ । मेलम्चीको पानी काठमाडौं नआएसम्म खानपानी समस्या समाधान गर्न नसकिने नगरपालिकाले तर्क छ ।

 
तार्केश्वर नगरपालिका 

 

तार्केश्वरमा पनि खानेपानीको समस्या छ । स्रोत संरक्षण, ट्यांकी बनाउनेलगायत काम भइरहेको नगरपालिकाले बताएको छ ।

 

हालको अवस्थामा जसोतसो धाने पनि बस्ती विकास भइरहेकाले केही समयपछि खानेपानी समस्याले विकराल रूप लिने नगरपालिकाको आशंका छ ।

 

नगरपालिकाले मेलम्चीको पानीको पाइपलाइन बिच्छच्याउने काम गरिरहेको छ । त्यसका लागि २ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । 


कार्ययोजनाबिनाको काठमाडौं महानगर 


काठमाडाैं महानगरमा खानेपानीका लागि कुनै पनि कार्ययोजना नभएको महानगरपालिकाले जनाएको छ । सबै जिम्मेवारी केयुकेयललाई दिइएको छ ।

 

आवश्यक परे उपभोक्ता समितिलाई सहयोग गर्न १ करोड रुपैयाँ बजेट छुट्याइएको छ । 


चन्द्रागिरि नगरपालिका 


चन्द्रगिरिमा वडा नम्बर १ र २ मा खानेपानी समस्या बढी छ । इनार, डिप बोरिङलगायत वैकल्पिक व्यवस्था गरी वडाबासीलाई खानेपानी उपभोग गराइँदै आएको नगरपालिकाले जनाएको छ ।

 

स्रोत संरक्षण, डिप बोरिङलगायतका लागि नगरपालिकाले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

१ वर्षभित्र नगरमा एक घर एक धारा पुर्‍याउने योजना रहेको नगरपालिकाले जनाएको छ । 


बूढानीलकण्ठ नगरपालिका 

 

बूढानीलकण्ठमा खानेपानीका स्रोत प्रशस्त छन् । केयुकेएलले सहरी क्षेत्रमा खानेपानी वितरण गर्न नगरपालिकाबाटै पानी लगेको छ ।

 

थप ३० हजार धारा आवश्यक रहेको नगरपालिकाले बताएको छ । हाल १८ हजार धारा छन् ।

 

नगरपालिकाले नगरबासीलाई इनार, कुवा, बोरिङबाट पानी खुवाइँदै आएको जनाएको छ ।

 

खानेपानीका लागि नगरपालिकाले ४ करोड र संघीय सरकारले ६ करोड गरी १० करोड रुपैयाँको योजना रहेको नगरपालिकाले बताएको छ । 


कागेश्वरी नगरपालिका

 

कागेश्वरीमा पनि खानेपानीको समस्या छ । मेलम्ची पानीको आशमा बस्नुपर्ने अवस्था छ । इनार, बोरिङबाट पानी खुवाउने काम भइरहेको नगरपालिकाले जनाएको छ ।

 

खानेपानीको ट्यांकी निर्माण गरिरहेको नगरपालिको बताएको छ ।