close

सेना र प्रहरीले हिउँ हटाएपछि खुले मनाङका सडक

सेना र प्रहरीले हिउँ हटाएपछि खुले मनाङका सडक

Trulli
ADVERTISEMENT

लमजुङ– हिमाली जिल्ला मनाङमा नेपाली सेना र प्रहरीले हिउँ पन्छाएको छ । सदरमुकाम चामे क्षेत्रमा जमेको हिउँ हटाएर सडक यातायात सुरु भएको हो । 

 

बाटोमा २ फिटसम्म हिउँ जमेपछि स्थानीयलाई आउजाउमा समस्या भएको थियो । प्रशासन, नेपाल प्रहरी र नेपाली सेना मिलेर बाटोको हिउँ पन्छाएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

 

उनका अनुसार मनाङका अधिकांश बस्तीसम्म शुक्रबार र शनिबार हिउँ परेको थियो । बस्ती र डाँडाकाडा हिउँले ढाकिएका थिए । 


२३ माघमा बिहानैदेखि हिउँ परेको थियो । राती रोकिए पनि पुनः शनिबार दिउँसो १२ देखि ३ बजेसम्म हिमपात भएको थियो । बाटोमा २ फिटसम्म हिउँ जमेको र आउजाउ गर्न समस्या भएपछि बजार क्षेत्रको हिउँ हटाइएको प्रजिअ लामिछानेले जानकारी दिए ।


मनाङका प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार हिउँ हटाई पैदलयात्रा सहज हुने गरी बजार क्षेत्रको सडक सरसफाइ गरिएको छ । चामेका सरकारी कार्यालयबाट बजार क्षेत्रसम्म आउने बाटो र झोलुंगे पुलको हिउँ हटाएर आउजाउ गर्न मिल्ने बनाइएको उनले बताए ।

 

बजारसम्म पुग्न र सेवाग्रही कार्यालयमा आउन नसक्ने अवस्थामा पुगेपछि हिउँ हटाइएको प्रजिअ लामिछानेको भनाइ छ । हिउँ हटाउन बेल्चा प्रयोग गरिएको थियो । आइतबारबाट घाम लाग्न सुरु भएसँगै सडकमा जमेको हिउँ पग्लिन थालेको छ ।  
हिमपातपछि मनाङमा यातायातका साधन चल्न सकेका थिएनन् । नासों गाउँपालिका वडा नम्बर ९ दानाक्युबाट माथिल्लो क्षेत्रमा सवारी साधन चल्न सकेका छैनन् ।

 

पदमार्गसमेत अवरुद्ध बनाएकाले पर्यटक जोखिम मोलेरै हिँड्न बाध्य छन् । हिउँ पग्लिन केही दिन लाग्ने भएकाले तत्काल सवारी साधन चल्ने अवस्था नरहेको प्रजिअ लामिछानेले बताए ।


प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने, प्रहरी नायब उपरीक्षक सुवास खड्का, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक हुमनाथ पन्थी, नेपाली सेनाको रणदल गुल्म मनाङका मेजर विमलकुमार श्रेष्ठलगायतको टोलीले चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयको प्रांगणमा रहेको हिउँ पन्छाएको छ । 

 

विद्यालयको गेटदेखि मैदानसमेत सफाइ गरिएको छ । विद्यार्थी र शिक्षक हिँड्न हिउँ हटाएर बाटो बनाइएको छ । हिउँ हटाएपछि पठनपाठन सुचारु भएको थालेको विद्यालयले जनाएको छ ।