close

सिस्नेका छाेरीलाई ५ हजारको बिमा 

सिस्नेका छाेरीलाई ५ हजारको बिमा 

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- रुकुम पूर्वको सिस्ने गाउँपालिकाले सुरु गरेको छोरी बिमा कार्यक्रम आइतबारबाट कार्यान्वयनमा आएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रमा जन्मने छोरीको बिमा गर्ने निर्णय गरेको थियो ।

 

चालू आर्थिक वर्षमा जन्मिएका छोरीको बिमा हुने गाउँपालिकाले बताएको छ । सिस्ने गाउँ कार्यपालिकाको ५८ औं बैठकले पारित गरेको यो निर्णय गाउँसभाको हिउँदे अधिवेशनबाट पनि अनुमोदन गरिएको हो ।

 

बैंकमा खाता खोलेर हरेक छोरीको नाममा ५/५ हजार रुपैयाँ गाउँपालिकाले नै जम्मा गरिदिनेछ । 

 

गाउँपालिकाले सञ्चालनमा ल्याएको छोरी बिमा कार्यक्रम आइतबार सिस्ने वडा नम्बर ३ पागाँकी ४ महिने सीमा खड्काको कृषि विकास बंैकमा खाता खुलेर सुरु गरिएको गाउँपालिका अध्यक्ष कुमारी बराल गौतमले बताइन् ।

 

गाउँपालिकाले छोरीको बिमा गर्न आवश्यक प्रक्रियामा जान सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ । 

 

गत साउनयता जन्मेका छोरीका अभिभावकले बिमा गरे बचत रकमको ब्याजदर २० वर्ष उमेर पुग्दा पाउने अध्यक्ष गौतमले बताइन् । ‘जन्मनासाथ अभिभावले छोरीको बिमा गरिदिए २० वर्षसम्म गाउँपालिकाले ५ हजार रकम जम्मा गरिदिएको ब्याजदर ५० हजार रुपैयाँभन्दा बढी हुनेछ’, उनले भनिन् । 

 

तोकिएको मापदण्ड पूरा गरेर वडा कार्यालयमार्फत गाउँपालिकामा आएर छोरीको बिमा गरिदिन गाउँलेलाई सूचित गरिएको छ । स्वास्थ्य, शिक्षा, सचेतना, जागरणका लागि छोरी बिमा कार्यक्रम सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

 

‘आमा र बच्चाको स्वास्थ्य सुरक्षा एवं जनचेतना बढाउने हाम्रो उद्देश्य हो’, अध्यक्ष गौतमले भनिन्, ‘व्यावहारिक रूपमा कार्यान्वयन गर्दा मान्छेमा चेतना बढ्ला भन्ने अपेक्षा छ ।’

 

छोरी बिमा कार्यक्रमबाट छोरीको सुरक्षालाई पनि प्राथमिकतामा राखिएको छ । कम उमेरमै बिहे नगरून्, पढाइ पूरा गर्न सकून् र सरकारी निकायमा दर्ता कार्यका सम्पूर्ण कुरा पूरा होउन् भन्ने उद्देश्य राखिएको अध्यक्ष पौडेलले बताइन् ।

 

पर्चा, पम्प्लेट र अरू अभियानका साथै बिमा अभियान पनि छोरीको पढाइ सुरक्षा, जीवन सुरक्षामा प्रतिविम्बित भएको उनको दाबी छ ।


बिमा गर्दा तोकिएको मापदण्ड


गाउँपालिकाले छोरीको बिमा प्राप्त गर्न निश्चित प्रक्रिया भने तोकेको छ । गर्भमा रहँदा आमाले ४ पटक गर्भ जाँच गराएको, स्वास्थ्य संस्थामै बच्चा जन्माएको र जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरेको हुनुपर्नेछ ।

 

सबै प्रक्रिया पूरा भएपछि वडाको सिफारिसमा छोरी बिमाका लागि गाउँपालिकाले नै खाता खोलिदिनेछ । यो खाता मुद्दती हुनेछ । छोरी २० वर्ष पुगेपछि मात्रै त्यो रकम निकाल्ने पाउनेछन् । त्यसका लागि २० वर्ष नपुगी विवाह नगरेको हुनुपर्ने, पढाइ नछाडेको हुनुपर्नेछ । 

 

२० वर्षपछि उक्त रकम त्यो छोरीले निकालेर आफैं चलाउन पाउने गरी कार्यविधि बनाइएको छ । चालू आर्थिक वर्षमा बिमाका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । 

 

यो रकमले नपुगे थप बजेट व्यवस्थापन गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले बताए ।