close

गाउँपालिका टुक्राएर ३ वटा बनाउन स्थानीयदेखि जनप्रतिनिधिसम्मको दबाब

गाउँपालिका टुक्राएर ३ वटा बनाउन स्थानीयदेखि जनप्रतिनिधिसम्मको दबाब

Trulli
ADVERTISEMENT

रुकुम पूर्व– पुथाउत्तरगंगा गाउँसभामा गाउँपालिका विभाजन सम्बन्धि दुई प्रस्तावमा छलफल भइरहेका बेला तेस्रो प्रस्ताव दर्ता गरिएको छ । गाउँपालिकालाई टुक्र्याइ तीनवटा बनाउनु पर्ने भन्दै तेस्रो प्रस्ताव दर्ता भएको हो ।

 

यसअघि दुईवटा गाउँपालिका बनाउने दुई प्रस्ताव माथि गत १७ माघमा छलफल भएर टुंगोमा पुग्न लागेको थियो । भौगोलिक दृष्टिले सर्वसाधारणलाई सुविधा नभएकाले हालको गाउँपालिकालाई तीनवटा पालिका बनाउन प्रस्ताव गरिएको छ ।

 

हालको पुथा–१० तक केन्द्रलाई नै केन्द्र मान्ने गरी ‘उत्तरगंगा’ यसैगरी कोल र जाङको क्षेत्र मिलाएर जामाबगर केन्द्र बनाउने गरी ‘सुनगुफा’ गाउँपालिका र हुकाम र मैकोटको केन्द्र गरघाट हुने गरी ‘पुथा’ गाउँपालिका प्रस्ताव गरिएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र कार्यपालिका सदस्य समेतको समर्थनमा गाउँपालिका टुक्राउने प्रस्ताव गरिएको हो ।

 

तेस्रो गाउँपालिका बनाउने प्रस्ताव आएपछि हिउँदे गाउँसभा अनिर्णित बनेको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्ती मगरले बताए । ४५ दिनभित्र विशेष गाउँसभा गर्ने र त्यसैबाट थप गाउँपालिकाको सिफारिस गरिने अध्यक्ष घर्तीले बताए ।

 

गाउँपालिका टुक्राउनेबारे विवाद हुन थालेपछि आयोग बनाउन छलफल भएको छ । वडा मिलाउने र सीमारेखा पनि अनुकूल हुने गरी सिफारिस गर्न कार्यपालिकाले आयोग बनाउने तयारी गरेको हो ।

 

पुथाउत्तरगंगा–१२ का वडाध्यक्ष गंगबहादुर पुन मगरले गाउँपालिका भूगोलमा ठूलो भएपछि सबैले सेवा प्रवाहमा असहज महसुस गरेको बताए । ‘असजिलो भएको महसुस सबैलाई भएको छ, सकेसम्म पायक र नजिक स्थानीय तह हुनुपर्छ भनेर गाउँपालिका टुक्राउन छलफल भएको हो ।’

 

रुकुमपूर्वका तीन स्थानीय तहमध्ये पुथाउत्तरगंगा सबैभन्दा ठूलो हो । साविकका रन्मामैकोट, हुकाम, जाङ, कोल, राङ्सी र तकसेरा गरी ६ गाविस मिलाएर यो गाउँपालिका बनाइएको थियो । पुथाउत्तरगंगा–१० तकमा हालको गाउँपालिका केन्द्र छ भने  १४ वटा वडा छन् ।

 

यसअघि जिल्लाबाट पुथा र उत्तरगंगा गाउँपालिका भनेर सिफारिस गरिए पनि माथिबाट एक भएर पुथाउत्तरगंगा आएको थियो । पुथा यहाँको अग्लो हिमाल हो भने उत्तरगंगा नदी र सुनगुफा धार्मिक स्थल हो । माथि उत्तरगंगा नामबाट चिनिने नदी तल आउँदा सानीभेरी र पछि ठूलीभेरी हुँदै भेरी नदीका नाममा प्रख्यात छ ।