close

फतुवा विजयपुरका नगरबासीलाई बिजुलीको बिल सित्तै  (भिडियाे खबर)

फतुवा विजयपुरका नगरबासीलाई बिजुलीको बिल सित्तै  (भिडियाे खबर)

ADVERTISEMENT

रौतहट- स्थानीय सरकारको उपस्थितिको अनुभूति गर्न कुनै ठूलो काम गर्नुपर्दैन । कुनै महात्त्वाकांक्षी योजना पनि अघि सार्नुपर्दैन । नागरिकसँग जोडिएका साना समस्या समाधान हुँदा पनि तिनमा सरकारको अनुभूति हुन्छ ।

 

अझ, गरिब, विपन्नलाई त स्थानीय सरकारको सहयोगको अपेक्षा यति हुन्छ कि स-सानो समस्या समाधानले पनि उनीहरूको मुहार पुलकित हुन्छ । रौतहटको फतुवा विजयपुर नगरपालिकाले स्थानीयलाई यस्तै सुख दिएको छ । नगरबासीको बिजुलीको महसुल तिरिदिएर स्थानीयप्रति आफ्नो उपस्थिति जनाएको छ । 


गत असोजमा सम्पन्न भएको रौतहटको नगरसभाबाटै फतुवा विजयपुर नगरपालिकाले १ असोजदेखि नगरभित्रका सबैको विजुली महसुल तिरिदिने योजना ल्यायो । सोहीअनुसार नगरको किसान, अति विपन्न, गरिबलगायतलाई समेटेर नगरभरिका ८ हजार ६ सय घरधुरीको ३९ लाख महसुल तिरिदियो ।

 

पैसा अभावमा गरिब परिवारलाई  हातमुख जोर्न धौधौ थियो । पदमा आफू रहुन्जेलसम्म नगरका कसैलाई पनि बिजुली बिल बुझाउन नपर्ने र नगरबासीले उपभोग गर्ने बिजुलीको महसुल आफू तिर्ने नगरपालिकाले योजना बनाएको छ । प्रत्येक महिनाको अन्तिम साता बिजुली महसुल बुझाइदिने नगरप्रमुख गोपाल यादवले जानकारी दिए ।


विद्युत् महसुुल बाँकी रहेका स्थानीयले पुरानो रकम भुक्तानी गरे अबदेखि आइपर्ने विद्युत् महसुल नगरपालिकाले तिर्ने योजनासमेत बनाएको निमित्त प्रशासकीय प्रमुख अधिकृत प्रमोद गुप्ताले बताए ।

 

रौतहटमै पहिलो पटक नगरपालिकाले आफ्ना नगरबासीको बिजुली महसुल निःशुल्क गरेपछि स्थानीयले प्रशासकीय प्रमुखको पनि प्रशंसा गरेका छन् । नगरपालिकाले ल्याएको योजनाले लाभ मिलेको स्थानीय कोशर आलम र मुकेश यादव सुनाउँछन् ।


नगरपालिकाले जनताको बिजुली बिल निःशुल्क गरेपछि फतुवा विजयपुरजस्तै अन्य नगरपालिकाले विभिन्न योजना ल्याए रौतहटबासीलाई गाउँगाउँमै सिंहदरबार आएको अनुभूति हुनेछ ।