close

कराँते प्रशिक्षक छनोट गर्न भलिबल विज्ञ !

कराँते प्रशिक्षक छनोट गर्न भलिबल विज्ञ !

Trulli
ADVERTISEMENT

डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकाले खेल प्रशिक्षक नियुक्तिमा अनियमितता गरेको आरोप लागेको छ । नगरपालिकाले प्रशिक्षक छनोटका लागि सम्बन्धित क्षेत्रका विज्ञहरू नल्याई राजनीतीकरण गर्ने नियतले खेल प्रशिक्षक नियुक्त गरेको हो ।

 

प्रशिक्षक छनोटका लागि सम्बन्धित क्षेत्रका विज्ञहरू नल्याएर डडेल्धुराबाट कराँते प्रशिक्षक छनोट गर्न भलिबलको विज्ञ झिकाइएको कराँतेका उम्मेदवार प्रशिक्षक योगेन्द्र थामी मगरले आरोप लगाए । 

 

परशुरामले २३ माघमा छोटो सूचीमा र अन्तर्वार्ताका क्रममा माग गरिएका सम्पूर्ण कागजातको अवमूल्यन गरिएको, महिला सहभागिता शून्य बनाइएको र जिल्ला, क्षेत्रीय तथा राष्ट्रिय स्तरमा प्राप्त पदको खिल्ली उडाइएको तेक्वान्दो प्रशिक्षक उम्मेदवार ललिता बोहराले सुनाइन् । 

 

थामी मगर र बोहराले राष्ट्रिय खेलकुद परिषद्, दशरथ रंगशाला त्रिपुरेश्वर, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, जिल्ला खेलकुद विकास समिति डडेल्धुरा, क्षेत्रीय खेलकुद विकास समिति धनगढी, परशुराम नगरपालिका, न्यायिक समिति, शिक्षा शाखालाई पत्र लेख्दै पुनः आवेदनका साथ संलग्न कागजातको छानबिन गरिदिन आग्रह गरेका छन् ।

 

बोहराले खेलकुद सहायक प्रशिक्षक र मगरले मुख्य प्रशिक्षकमा आवेदन दिएका थिए । नगरपालिकाले प्रकाशन गरेको छोटो सूचीमा एथ्लेटिक्सको मुख्य प्रशिक्षकमा रवीन्द्र कोली, मार्सल आर्टको मुख्य प्रशिक्षकमा रामबहादुर बोहरा सफल उम्मेदवार र योगेन्द्र थामी मगर वैकल्पिक तथा मार्सल आर्टको सहायक प्रशिक्षकमा रामबहादुर कोली सफल उम्मेदवार तथा ललिता बोहरा र ललिता विष्टलाई वैकल्पिक उम्मेदवारका रूपमा सूचना प्रकाशित गरेको छ । 

 

प्रकाशित नतिजाको विरोध गर्दै नियुक्ति बदर गरिदिन र उम्मेदवारका कागजात पुनः जाँच गरी वैकल्पिक उम्मेदवारका कागजात सम्बन्धित क्षेत्रका विज्ञबाट पुनः जाँच गरिदिन उनीहरूको आग्रह छ ।


परशुराम नगरका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले उत्कृष्ट उम्मेदवारलाई छनोट गरिएको दाबी गरे । खेल प्रशिक्षक नियुक्ति गर्ने क्रममा कुनै पनि राजनीति नभएको उनको भनाइ छ । 


‘हामीले उत्कृष्ट प्रशिक्षक नियुक्ति गरेका छौँ । राजनीतिकरण गरेका होइनौँ । महिला कोटा, दलित कोटा भन्न सकिएला तर ३ जनाभन्दा बढी राखे नगरपालिकाबाट राख्नुपर्छ । नगरपालिकासँग स्रोत-साधन छैन,’ उनले भने, ‘उहाँहरूको सीपलाई कमजोर ठानिएको होइन । नगर स्तरमा हुने खेलकुदका विधामा सहभागी गराइन्छ ।’