close

गैँडाकोटमा अर्गानिक खाना महोत्सव हुँदै 

गैँडाकोटमा अर्गानिक खाना महोत्सव हुँदै 

Trulli
ADVERTISEMENT

गैँडाकोट(नवलपुर)- नवलपुरको गैँडाकोटमा अर्गानिक खाना महोत्सव हुने भएको छ । आगामी १४ फागुनमा गैँडाकोटको द फेमिली क्याफेमा कछार अर्गानिक खाना महोत्सव-२०७७ हुने आयोजक देवघाट-गैँडाकोट सम्पर्क समाजले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

 

समाजका संयोजक खडक पाङ्मी आले मगरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा दुर्गम क्षेत्रमा पाइने शुद्ध अर्गानिक उत्पादनका परिकार महोत्सवमा राखिने बताइयो । 

 

तनहुँको देवघाटबाट गैँडाकोटमा आएर बसोबास गर्नेहरूले गठन गरेको देवघाट-गैँडाकोट सम्पर्क समाजले गुड फ्राइडे अवसरमा पहिलो पटक यस प्रकारको अर्गानिक खाना महोत्सव आयोजना गर्न लागेको हो ।

 

महोत्सवमा दुर्गम तथा पहाडी क्षेत्रमा उत्पादित तरुल, सिस्नो, बोडी, मकै, भटमास, वन तरुल, गिठा, घोँगी, हाँस, कालो सुँगुर, लोकल कुखुरा, माछा आदिका परिकारसहित मासको बारा, सामा काउनीको भात, खयरको चिया, चिचर, ढिकर र चटनी समावेश गरिने देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले बताए ।


दुर्गम तथा पहाडी भेगका उत्पादनको प्रचार-प्रसार गर्ने र लोपोन्मुख कला-संस्कृतिको जगेर्ना गर्ने महोत्सवको उद्देश्य रहेको थारु कल्याणकरी समिति, गैँडाकोटका अध्यक्ष लक्ष्मीप्रसाद चौधरीले जानकारी दिए ।

 

सो अवसरमा स्थानीय तथा राष्ट्रिय कलाकारको टोलीले परम्परागत संस्कृतिसहितको कौरा, झ्याउरे, चुट्का, मारुनी, सालैजोसहित थारु जातिको स्टिक डान्स र झाम्रा डान्स पनि प्रस्तुत गरिने सांस्कृतिक संयोजक हिमकुमार थापाको भनाइ छ ।

 

गैंडाकोट नगरपालिका र देवघाट गाउँपालिकाको संयोजनमा हुने महोत्सवको सहआयोजकमा कराँदीप सामुदायिक होमस्टे, देवघाट र द फेमिली क्याफे एन्ड रेस्टुरेन्ट गैँडाकोट रहेका छन् ।