close

प्रहरीले नै शंकास्पद मृत्यु भएका युवकको फोटो फेरेपछि...

प्रहरीले नै शंकास्पद मृत्यु भएका युवकको फोटो फेरेपछि...

Trulli
ADVERTISEMENT

मोरङ– मोरङको उर्लाबारीका एक युवकको शंकास्पद मृत्यु भएपछि प्रहरीले गरेको अनुसन्धानमा अर्कै व्यक्तिको फोटो राखेको भेटिएसँग मृतकका आफन्तले इलाका प्रहरी कार्यालय अगाडि नाराबाजी गरेका छन् । 


उर्लाबारी नगरपालिकाको वडा नम्बर ५ का प्रवीण बास्तोलाको शंकास्पद मृत्युको अनुसन्धान प्रतिवेदनमा प्रहरीले मृतकको फोटो नै परिवर्तन गरेपछि आफन्त र स्थानीय आन्दोलित भएका हुन् ।

 
३१ वर्षीय बाँस्तोलाको गत ५ पुसमा मृत्यु भएको थियो । आफन्तले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीले अनुसन्धान गरी रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालय मोरङमा बुझाएको थियो । 


उक्त घटना अनुसन्धानका लागि प्रहरीले उर्लाबारीको वडा नम्बर ६ का ३१ वर्षीय राजेश रणपहेलीलाई पक्राउ गरेको थियो । तर, सरकारी वकिलको कार्यालयले मिसिल अध्ययनपछि मुद्दा चलाउन नमिल्ने भन्दै २ माघमा रणपहेलीलाई जमानीमा छाडेको थियो ।


मृतक भनेर ३ वटा फोटो राखिएकामा एउटा फोटो अर्कै व्यक्तिको परेपछि २ दिन देखि उर्लाबारीमा स्थानीयले विरोध गर्दै आएका छन् । मृतक बास्काटाको भनी चाँदीको सिक्री लगाएका अर्कै व्यक्तिको फोटो राखिएको थियो । मृतावस्थामा फेला पर्दा प्रवीणको गलामा सिक्री नभएको परिवारका सदस्यले बताए छ ।


यद्यपि प्रहरीले अनुहारै नचिनिने व्यक्तिको तस्बिर घटना मुचुल्कामा संलग्न गरेको आफन्तको आरोप छ । फोटो परिवर्तन गरेर अनुसन्धान नै कमजोर बनाएपछि आरोपीलाई मुद्दा नचलाएको आफन्तको गुनासो छ । 


प्रवीणको मृत्यु शंकास्पद भएको दाबी गर्दै आफन्तले ९ पुसमा उर्लाबारी वडा नम्बर ६ का ३१ वर्षीय राजेश रणपहेलीसहितका विरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएका थिए । 


प्रहरीले अनुसन्धानमा लापरवाही गरेको देखिएकाले मृतका आफन्त र स्थानीयले आइतबारदेखि इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

 
प्रहरीले हतार–हतार मिसिलमा रहेको फोटो र कागजात परिवर्तन गरेको पीडितको आरोप छ । अपराधीलाई संरक्षण गरेपछि न्याय माग्दै सडकमा आउनु परेको मृतककी बहिनी सदीक्षाले बताइन् । प्रहरीले भने उक्त घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताउँदै आएको छ । 


छानबिन समिति गठन 


स्थानीय आन्दोलित भएपछि प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राई संयोजकत्वको छानबिन समिति बनाएको छ । फरेन्सिक जाँचको रिपोर्ट आएपछि थप तथ्य खुल्ने प्रहरीले बताएको छ । 


गत ४ पुसमा घरबाट निस्किएका प्रवीणको मृत्यु भएको खबर भोलिपल्ट राती मात्रै परिवार तथा आफन्तले पाएका थिए । आफन्तले प्रवीणको शव गोदावरी अस्पतालमा भेटेका थिए । प्रवीणको योजनाबद्ध रूपमा हत्या गरिएको आफन्तको आरोप छ ।