close

भिडियो हेरेर दिन काट्दै छन् ४० वर्ष जेल बसेका दुर्गाप्रसाद

भिडियो हेरेर दिन काट्दै छन् ४० वर्ष जेल बसेका दुर्गाप्रसाद

Trulli
ADVERTISEMENT

इलाम– ४० वर्ष भारतको कोलकाता जेल बसेर घर फर्किएका दुर्गाप्रसाद तिम्सिना सामान्य जीवनको लयमा फर्कने अभ्यासमा छन् । कोलकाताको दमदम सेन्ट्रल करेक्सनल होम (केन्द्रीय सुधारगृह) मा कैदी जीवन बिताएका तिम्सिनाले माई नगरपालिका वडा नम्बर १० लुम्बकको घर पुग्दा सबैलाई नमस्कार गरे ।


आँगनमा आमा, भाइ, भतिज, परिवारका अन्य सदस्यसँग गफिँदै बसेका उनको बोली फुट्दै गरेको बच्चाको जस्तै शब्द, भाव र आवाजको अवस्था अनुमान गर्ने हो भने सामान्य जीवनमा फर्किंदै गरेको आभास हुन्थ्यो । आफंै नबोल्ने, बोलाएपछि तोते बोलीमा सामान्य कुराकानी गर्दा रहेछन् । 

 

करिब अढाई घन्टासँगै बस्दा बिदेसिनुअघि जोतेको हल गोरुको नाम सुनाए । मधुरो सम्झनामा रहेका एकाध साथीभाइको नाम लिए । गाउँको बालन, भजनकीर्तन सम्झँदै केही टुक्रा मन छुने आफ्नै भाकामा गीत सुनाए । 

 

जेल जीवनका आङै सिरिंग हुने कथा सुनाउँदै तिम्सिनाले भने, ‘घरमा बस्दा आनन्द छ । रमाइलो छ । खुसी छु । आमासँग बसेको छु ।’

 

बिहान सबेरै उठेर हातमुख धुने र चिया, पानी, खाजा खाने र बाहिर भित्र आँगनमा हिँड्डुल गर्ने गरेको दुर्गाप्रसादका भतिज गोपालले बताए । ‘आमा, घर–परिवारसँग गफिँदै समय बिताउँछन् । मोबाइलमा भिडियो हेर्न थालेका छन्’, भतिज गोपालले भने, ‘परिवारका सदस्यसँग घुलमिल हुन थालेका छन् । आफन्त चिन्न थालेका छन् । डर हट्दै गएको छ ।’ 

 

सुत्ने नसक्ने, पटक–पटक शौच जानुपर्ने, खानामा रुचि नदेखाउने, आफैं हिँड्डुल गर्न नसक्ने, झोक्रिएर बस्ने, शरीर, मुख थरथर काम्ने अवस्था भए पनि अहिले विस्तारै फेरिँदै गएको भाइ धर्मानन्द तिम्सिनाले जानकारी दिए ।

 

‘४० वर्षसम्म बन्दी हुँदाको अमानवीय यातनाले थिलथिलो बनाएको मन र शरीरलाई नमेटिने चोट छ । जिब्रो र पाइतालामा करेन्ट लगाएको अनुमान गर्न सकिन्छ । त्यसैको कारण बोली लरबराउँछ । खुट्टामा जुत्ता लगाउनुहुँदैन । शरीरका अन्य भागमा समेत गहिरो चोटका खत देखिन्छन्’, परिवारले सुनाए ।

 

दुर्गाप्रसादलाई तत्कालै स्वाथ्योपचारको आवश्यक छ । बिनासुनुवाइ ४० वर्ष जेल बसेका उनको जेल मुक्तिका लागि कानुनी, प्राविधिक सहयोग गर्न परिवारले सबैसँग आग्रह गरेका छन् । 

 

‘सक्दो सहयोग गर्छौं’

 

दुर्गाप्रसाद तिम्सिनाको रिहाइ गर्न सक्दो कानुनी, प्राविधिक सहयोग गर्ने माई नगरपालिकाका प्रमुख दीपक थेबेले बताए । ‘तिम्सिनाको पारिवारिक अवस्थालाई ध्यानमा राखेर कानुनी प्रावधानअनुसार स्थानीय सरकारले सहयोग गर्छ’, थेबेले भने, ‘जेलमुक्त भइसकेका छैनन् । रिहाइ गर्न प्रदेश तथा संघीय सरकारसँग पहल गरिरहनेछौँ ।’

 

तत्काल आवास, उपचारको व्यवस्थापन गर्न ५० हजार रुपैयाँ नगद सहयोग गरेको नगरपालिकाले उनको अवस्थालाई हेरेर स्वाथ्योपचारमा समेत सहयोगको पहल गरिरहेको नगर प्रमुख थेबेले जानकारी दिए । उनले भने, ‘स्थानीय सरकारले उपचारमा पनि सहयोग गर्दै थप उपचारका लागि प्रदेश तथा संघीय सरकारसँग पहल गर्नेछौँ ।’

 

घरबाहिर जानु परेको अवस्थामा आवश्यक यातायात खर्च व्यवस्थापन नगरपालिकाले गर्दै आएको छ । दुर्गाप्रसादको नागरिकता बनाउन, उपचारका लागि अस्पतालसम्म पुर्‍याउन थप २० हजार रुपैयाँ सहयोग गरिसकेको छ । अहिले उनीसँग मानसिक समस्या देखिएका ३ जनाको विराटनगरमा उपचार भइरहेको नगर प्रमुख थेबेले बताए ।

 

कमाउन मुग्लान, ४० वर्ष जेलमै

 

२०३७ मा तत्कालीन फाकफोकथुम गाउँ पञ्चायतको एकतप्पाबाट कमाउन मुग्लान पसेका दुर्गाप्रसाद ४० वर्ष जेलमा बस्नुप¥यो । गाउँको परिवारले बेपत्ता भएको ठान्दै आएका उनी दार्जिलिङको चिया बगानमा काम गर्दागर्दै हत्याको आरोपमा जेल पुगेका रहेछन् । 

 

उनी सन् १९८१ मा दार्जिलिङका नैन घलेको श्रीमती हत्या आरोपमा पक्राउ परेका हुन् । हालसम्म यो आरोप प्रमाणित भएको छैन । 

 

नेपालका महावाणिज्यदूत ईश्वरराज पौडेलका अनुसार केही समय दुर्गाप्रसादसँगै जेलमा बसेका राजनीतिक बन्दी राधेश्याम दासले उनको कुरा बाहिर ल्याए । 

 

जेलबाट छुटेपछि दासले वेस्ट बंगाल रेडियो क्लबमा दुर्गाप्रसादबारे सुनाए । क्लबले अधिवक्ता हीरक सिह्नालाई जानकारी गरायो । अधिवक्ता सिह्नाले सन् २०२० को नोभेम्बरमा जेलमै पुगेर दुर्गाप्रसादलाई भेटे । 

 

नेपालस्थित आफन्तको खोजी गर्दै हीरकसहित वकिल मालायी भट्टाचार्य, सूर्यज्योति घोष र स्वेकाट बेनर्जीको टिमले मुद्दामा निःशुल्क बहसपैरवी गरे । अदालतले जेल बाहिर जाने अनुमति दियो ।

 

४० वर्षछि दुर्गाप्रसाद ८ चैतमा घर आइपुगे । उनी जेलमुक्त भइसकेका छैनन् । ६–६ महिनामा उनको अवस्थाबारे कोलकोतास्थित महावाणिज्य दूतावासलाई जानकारी गराउनुपर्ने बताइएको छ ।