चितवन(माडी)- चितवनको माडी नगरपालिकाको अयोध्यापुरीमा आउँदो ८ वैशाखमा पर्ने रामनवमीका दिन रथयात्रासहित रामसीताको मूर्ति प्रतिष्ठापन गरिने भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले माडीको वसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रथयात्रासहित मूर्ति स्थापना गर्न आग्रह गरेका हुन् ।
माडीका नगरप्रमुख ठाकुर ढकाल सहभागी कार्यक्रममा मुख्यमन्त्री पौडेलले ८ वैशाखमा सबैले देख्ने गरी योजना बनाउन नगरपालिकालाई आग्रह गरे । बजेट व्यवस्था प्रदेश सरकारले गर्ने प्रतिबद्धता उनले जनाए ।
मुख्यमन्त्रीको आग्रहसँगै माडी नगरपालिकाले रामनवमी पर्व मनाउन तयारी थालेको छ । माओवादी केन्द्रका नेता तथा पूर्वसांसद तीर्थराज भुसालको संयोजकत्वमा रामनवमी मेला समिति गठन गरी काम अगाडि बढाउने तयारी गरिएको नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिए ।