close

पुथाउत्तरगंगामा बाल विवाहको डरलाग्दो तथ्यांक

एकै वडामा १ वर्षमा ३७ मध्ये ३१ जनाको बाल विवाह

पुथाउत्तरगंगामा बाल विवाहको डरलाग्दो तथ्यांक

एकै वडामा १ वर्षमा ३७ मध्ये ३१ जनाको बाल विवाह

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालकामा बाल विवाह धेरै भइरहेको छ । पछिल्लो १ वर्षमा पुथाउत्तरगंगामा ७ वटा वडामा भएका ३७ मध्ये ३१ जनाले बालविवाह गरेको पाइएको हो  । १४ वटा वडा रहेको यो गाउँपालिकाका ७ वडामा गरिएको एक सर्वेक्षणमा ६ वटा विवाह मात्रै कानुनी रूपमा मान्यता प्राप्त छन् ।

 

गाउँपालिकाका ७, ८, १०, ११, १२, १३ र १४ नम्बर वडामा बाल विवाहको अवस्थाबारे सर्वेक्षण गरिएको थियो । सर्वेक्षणका क्रममा गाउँपालिकामा बाल विवाहको समस्या अत्यधिक रहेको पाइएको हो । एउटा गाउँपालिकाको आधा क्षेत्रको अध्ययनले यस्तो देखाएपछि रुकुम पूर्वमा बाल विवाह गर्नेको संख्या उच्च रहेको अनुमान गरिएको छ ।

 

युनाइटेड मिसन टु नेपाल रुकुम क्लस्टर र मिक नेपालद्वारा सञ्चालित सक्षम परियोजनाले गरेको सर्वेक्षणले बाल विवाह बढ्दै जानुमा व्यक्ति स्वयं र अशिक्षा, बेरोजगारी, गरिबी, परम्परागत मूल्य र मान्यतालाई पछ्याउने तथा सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई कारक मानिएको छ ।

 

यी वडाका विद्यालय, किशोरी समूह, आमा समूह, बाल क्लब, वडा कार्यालय, गाउँपालिका र विभिन्न मण्डलीमा गरिएको सर्वेक्षणअनुसार १ वर्षमा ३७ जनाको विवाह भएको छ । यसमा ३१ जोडीले उमेर नपुगी विवाह गरेको पाइएको परियोजना व्यवस्थापक हेमन्त राईले जानकारी दिए ।

 

सबैभन्दा बढी १८-१९ वर्षका जोडीले बाल विवाह गरेका छन् । यस्तै, १६ जोडीको १८ वर्षभन्दा कम उमेरमा बिवाह भएको छ भने सबैभन्दा कम ६ जोडीले मात्र उमेर पुगी विवाह गरेका हुन् । यी क्षेत्रका २ सय १८ बालबालिका तथा किशोर-किशोरी र ४ सय २३ अभिभावक गरी ६ सय ४१ जनामा गरिएको सर्वेक्षणबाट यस्तो तथ्य सार्वजनिक भएको हो ।

 

कानुनले उमेर नपुगी विवाह गर्न नपाइने भने पनि गाउँमा सानै उमेरमा विवाह गर्ने चलन पुरानै हो । गाउँमा बाल विवाह रोक्न चुनौती रहेको न्यायिक समिति संयोजकसमेत रहेकी गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही (मल्ल) ले बताइन् ।

 

बाल विवाह न्यूनीकरणका लागि स्थानीय तह, संघ-संस्थाहरू लागिपरेको, विद्यालय तथा अन्य समूह, छलफलमा कुरा गर्ने गरे पनि स्वाभाविक रूपमा घट्न नसकेको उनको भनाइ छ ।

 

‘सानै उमेरमा विवाह गर्दाका बेफाइदाबारे पनि केटाकेटीले जानेजस्तो लाग्छ,’ उनले भनिन्, ‘तर आफैं त्यसो गरिरहेका छन् ।’ उमेर नपुगी गरिएको विवाह रद्ध गरिदिँदा पनि केटाकेटी भाग्ने गरेको पाइएको उनले सुनाइन् ।