close

इस्माका पहिरोपीडितको घर शिलान्यास

इस्माका पहिरोपीडितको घर शिलान्यास

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मीको इस्मा गाउँपालिकाले पहिरोबाट प्रभावितको घर निर्माण सुरु गरेको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रममार्फत इस्मा गाउँपालिका वडा नम्बर १, २ र ४ मा १० घर निर्माण सुरु गरिएको हो ।

 

इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले निजी आवास पुनर्निर्माणको उद्घाटन गरे । विष्टले इस्मा गाउँपालिका वडा नम्बर ४ दोहलीका पहिरोपीडित मानबहादुर घर्तीको घर शिलान्यास गरेका थिए ।

 

अध्यक्ष विष्टले पहिरोबाट प्रभावित सबै परिवारको पुनर्बास र पुनर्निर्माणका लागि प्रदेश र केन्द्र सरकारसँग माग भइरहेको जानकारी दिए । पहिरोबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले गाउँपालिकाबाट सम्भव नभएको उनको भनाइ छ । ‘फेरि बर्खा लाग्न थाल्यो । पानी परे स्कुल खोज्नुको विकल्प छैन,’ उनले भने, ‘अहिले १० वटा घरबाहेक निर्माण गर्न सक्ने स्थिति भएन ।’

 

इस्मा गाउँपालिका वडा नम्बर १ मा ४ घर, वडा नम्बर २ मा ३ घर र वडा नम्बर ४ मा ३ घर निर्माण गरिने मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम सिफारिस तथा कार्यान्वयन समिति सदस्य राजेन्द्रविक्रम कुँवरले जानकारी दिए ।

 

पहिरोले पूर्ण क्षति भएकामध्ये पनि प्राथमिकताका आधारमा १० घर परिवारलाई छनोट गरिएको कुँवरले बताए । पहिरोले इस्मा गाउँपालिका वडा नम्बर १, २ र ४ मा ४२ वटा घर पूर्ण क्षति र डेढ सय घरमा आंशिक क्षति पुगेको छ । 

 

प्रत्येक घरपरिवारले कार्यक्रमबाट २ लाख ५० हजार रुपैयाँका दरले रकम पाउनेछन् । प्राविधिक स्टिमेटअनुसार घर निर्माण गर्ने सम्झौतापत्र, अनुगमन समितिको प्रतिवेदन, खर्चको बिल भर्पाइ, प्राविधिक मूल्यांकन र वडा कार्यालयले भुक्तानीका लागि गरेको सिफारिसका आधारमा लाभग्राहीले रकम पाउने मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम इस्मा गाउँपालिकाका फोकल पर्सन हरिप्रसाद घिमिरेले जानकारी दिए । 

 

लामो समय पहिरोबाट प्रभावित भएका परिवार घर निर्माण हुन थालेपछि खुसी भएका छन् । पहिलो पटक घर शिलान्यास गरेका इस्मा गाउँपालिका वडा नम्बर ४ का पहिरोपीडित घर्तीले आउने बर्खा ढुक्कले कटाउने आशा व्यक्त गरे ।

 

‘घर निर्माण सुरु भएपछि नयाँ आशा पलाएको छ,’ उनले भने, ‘पहिरोले गाउँमै बस्ने अवस्था नभएर कैयौँ समय स्कुल र छिमेकीकहाँ बस्यौँ । अब भने घर बनेपछि ढुक्कसँग रात बिताउन सकिने आशा पलायो ।’