close

रूख कटान नियन्त्रणमा जुट्यो सिरिजंघा

रूख कटान नियन्त्रणमा जुट्यो सिरिजंघा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले पालिकाभित्र व्यक्ति वा संस्थाले लिएको रूख कटानको अनुमतिसम्बन्धी विवरण डिभिजन वन कार्यालयसँग माग गर्ने भएको छ ।

 

जथाभावी रूख कटान गर्दा पालिका क्षेत्रभित्रको वातावरण सन्तुलनमा प्रतिकूल असर परेको एवं रूख कटान सिफारिस दस्तुरबापत गाउँपालिकाले प्राप्त गर्नुपर्ने राजस्वसमेत नबुझाएको अवस्था पाएपछि यस्तो विवरण लिन लागिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।

 

उनका अनुसार अनुमतिमा उल्लिखित संख्याभन्दा बढी मात्रामा रूख कटान भएको सूचना पालिका प्रशासनमा प्राप्त हुन आएकाले कटानको अनुमति लिएकाको विवरण माग गर्ने निर्णय भएको हो । चालू आर्थिक वर्ष २०७७/०७८ को १ साउनदेखि १५ वैशाख २०७८ सम्मको विवरण माग गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताए ।

 

उनका अनुसार रूख कटान अनुमति प्राप्त व्यक्ति वा संस्थाले गाउँपालिकाको आर्थिक ऐन, २०७७ को अनुसूची ९ को क्रमसंख्या (८२)मा व्यवस्था भएबमोजिम सम्बन्धित वडा कार्यालयमा सिफारिस दस्तुरबापत प्रतिरूख ३०० रुपैयाँका दरले बुझाए-नबुझाएको सम्बधमा गाउँ कार्यपालिकाको कार्यालय र सम्बन्धित वडा कार्यालयले रुजु भिडानसमेत गरिनेछ ।

 

यसरी रुजु भिडान गर्दा डिभिजन वन कार्यालयबाट रूख कटान अनुमति लिएका व्यक्ति वा संस्थाले कटान अनुमतिमा उल्लेख गरिएको संख्याअनुसारको सिफारिस दस्तुर सम्बन्धित वडा कार्यालयमा बुझाएको नपाइए बाँकी सिफारिस दस्तुर १ महिनाभित्र गाउँ कार्यपालिकाको कार्यालयमा बुझाउन अनुरोध गरिनेछ ।

 

यस्तो दस्तुर सरकारी बाँकीसरह राजस्वको रूपमा बुझाउन सम्बन्धित सेवाग्राहीलाई अनुरोध गर्ने र यसमा स्थानीय प्रशासनसमेतको सहयोग माग गर्ने निर्णय लिइएको पालिका अध्यक्ष टीकाराम गुरुङले बताए ।

 

गाउँपालिकाले अब उप्रान्त पालिकाका सबै वडा कार्यालयले वडाभित्रको दिगो वातावरण संरक्षणलाई ध्यानमा राखेर रूख कटानको प्रारम्भिक सिफारिस गाउँ कार्यपालिकामा पठाउने र उसले वडाबाट प्राप्त प्रारम्भिक सिफारिसमा उल्लिखित रूख कटानको अन्तिम अनुमति सम्बन्धित व्यक्ति-संस्थालाई उपलब्ध गराउनेछ ।

 

यस्तै, डिभिजन वन कार्यालयले गाउँ कार्यपालिकाबाट प्राप्त सिफारिसबमोजिम रूख कटानको अनुमति दिने व्यवस्था मिलाउन डिभिजन वन कार्यालयलाई लेखिपठाउनेछ । डिभिजन वन कार्यालयले रूख कटानको अनुमति प्राप्त व्यक्ति, संस्थाले अनुमतिमा उल्लेख भएबमोजमको संख्या वा मापदण्डभित्र रही रूख कटान गरे-नगरेको स्थलगत अनुगमन सम्बन्धित वडा समिति तथा सम्बन्धित क्षेत्रमा टोल विकास संस्थामार्फत निरन्तर गराउनुपर्नेछ ।

 

अनुगमनका क्रममा अनुमतिभन्दा विपरीत गरेको पाइए रूख कटानको अनुमति प्राप्त व्यक्ति, संस्थालाई दोब्बर जरिमाना गरी त्यस्ता व्यक्ति, संस्थालाई कालोसूचीमा राख्नन सम्बन्धित व्यक्तिलाई लेखिपठाउनेछ ।

 

गलत कार्यमा सघाउने वा प्रोत्साहित गर्ने पक्षलाई समेत गाउँपालिकाले आर्थिक ऐनले दिएको अधिकार प्रयोग गरी कारबाहीको दाहेरामा लैजाने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए ।