close

मुगुमा ९ महिनापछि वृद्धभत्ता बाँडिँदै 

भत्ताको रकम खर्चेर धर्मशाला निर्माण 

मुगुमा ९ महिनापछि वृद्धभत्ता बाँडिँदै 

भत्ताको रकम खर्चेर धर्मशाला निर्माण 

Trulli
ADVERTISEMENT

मुगु- मुगुका ज्येष्ठ नागरिकले ९ महिनापछि सामाजिक सुरक्षा भत्ता पाउन थालेका छन् । महिनौँसम्म वृद्धभत्ताबाट वञ्चित लाभग्राहीलाई बल्ल रकम वितरण थालिएको हो ।

 

सरकारले वृद्धवृद्धालाई दिएको भत्ता रकम धेरैजसोले घरखर्चमा जोहो गर्छन् । तर, मुगुका १ जना वृद्धले राज्यबाट प्राप्त भत्ताको रकमले गाउँमा धर्मशाला निर्माण गरेका छन् । 

 

सरकारले सामाजिक सुरक्षाबापत मासिक उपलब्ध गराउँदै आएको रकम जम्मा गरेर मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ९ पापु गाउँका ८५ वर्षीय जयखर ऐडीले धर्मशाला निर्माण गरेका हुन् ।

 

वृद्धभत्ताबापत उनले मासिक ३ हजार रुपैयाँ बुझ्दै आएका छन् । ऐडीले रकम जम्मा गरेर सार्वजनिक जग्गामा धर्मशाला निर्माण गरेका हुन् ।

 

धर्मशाला बनाउन उनले ५० हजार रुपैयाँ जम्मा गरेका थिए । धर्मशालाका लागि २ बन्डल जस्तापाता, काठ र ढुंगा जम्मा गरी निर्माण गरेको ऐडीले सुनाए ।

 

‘सरकारले मेरा लागि बुढेसकालमा भत्ता दियो । मैले सरकारलाई केही दिन नसके पनि आफूले पाउन भत्ता सामाजिक काममा खर्चेको हुँ । भोलि मरेपछि सबैले सम्झून् भनेरै धर्मशाला निर्माण गरेको हुँ’, एडीले भने । 

 

परिवारले भत्ताबापतको रकम खर्च गर्न बारम्बार आग्रह गरे । धर्मशाला बनाइदिने वचन पनि दिए । तर, वृद्ध एडीले आफैंले सामान जोहो गरेर धर्मशाला निर्माण गरेको नाति उत्तम रोकायाले बताए । आफ्ना छोरा नभएका कारण उनी छोरी र ज्वाइँसँगै बस्दै आएका छन् ।

 

वृद्धभत्ता जोगाएर धर्मशाला निर्माणमा अगाडि बढेका एडीलाई गाउँलेले पनि सहयोग गर्ने भएका छन् । तर, उनले कसैको सहयोग नलिने बरु रकम अभाव भए अब पाइने भत्ताबाट तिर्ने बताए ।

 

वडा नम्बर ९ का वडाध्यक्ष बिर्खबहादुर बुढाले धर्मशाला निर्माणमा वडाले पनि सहयोग गरेको जानकारी दिए । गाउँलेको मृत्युमा पनि कर्मकाण्ड गर्दा समस्या भएको देखेपछि आफूले धर्मशाला बनाउने योजना बनाएको वृद्ध एडीले सुनाए । 

 

अझ केही वर्ष बाँचे थप सार्वजनिक काममा लगानी गर्ने योजना रहेको उनले बताए । गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले अन्य निकाय तथा समुदायको सहयोग नलिने अडान गरेकाले एडीलाई चाहेर पनि पालिकाले सहयोग गर्न नसकेको जानकारी दिए ।