close

जाे घरै त्यागेर संक्रमित बोकेर दाैडिरहेछन्

जाे घरै त्यागेर संक्रमित बोकेर दाैडिरहेछन्

Trulli
ADVERTISEMENT

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ इमिलियाका एम्बुलेन्स चालक कमल अर्याल ३ सातादेखि घर पुगेका छैनन् । कोरोनाको दोस्रो भेरियन्टले आक्रान्त बनाएपछि उनी संक्रमितको सेवाका लागि घरबाट निस्किएका हुन् ।

 

कोरोना नियन्त्रणमा नहुँदासम्म घर नजाने निधो गरेका छन्, अर्यालले । उनले बुद्धभूमि नगरपालिकाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रको एम्बुलेन्स चलाउँदै आएका छन् । नगरपालिकाभित्रका कोरोना संक्रमितलाई उपचारका लागि अस्पताल र आइसोलेसन पुर्‍याउँदै आएका अर्यालले संक्रमितको सेवाका लागि दोस्रो पटक घर छाड्न लागेका हुन् ।

 

उनी बुद्धभूमिले वडा नम्बर २ बडहरामा तयार गरेकोे आइसोलेसनको अलग कोठामा बस्नेछन् । कोरोनाको पहिलो लहरमा समेत उनले घर छाडेर आइसोलेसनमा वसेका थिए ।

 

त्यतिबेला उनी ६ महिनासम्म घर गएका थिएनन् । अर्यालले ३ सयभन्दा धेरै संक्रमितलाई एम्बुलेन्समा राखेर उपचारका लागि अस्पताल तथा आइसोलेसन सेन्टर पुर्‍याएका छन् । पहिलो पटक संक्रमित बोक्न अर्याल निकै डराएका थिए । ‘एम्बुलेन्समा संक्रमितलाई बोक्दा कोरोना सर्ने डर मनमा आएको थियो । त्यो दिन उनलाई रातभरि निद्रा लागेन’, अर्यालले भने ।

 

त्यसपछि भने उनले डर त्यागेर निर्धक्क संक्रमितको सेवा गरेका थिए । सुरुको १ महिना घरबाट आउजाउ गरे पनि आफैं संक्रमित भए परिवारमा सर्न सक्ने जोखिमका कारण आइसोलेसनमा बसेको उनले सुनाए ।

 

‘कोरोना लागेका बिरामीलाई बोक्ने भएपछि परिवारका सदस्य निकै डराएका थिए । परिवारका सदस्यलाई फोन र भिडियो च्याट गरी पटक-पटक सम्झाएँको थिएँ’, अर्यालले भने, ‘अहिले देशैभर कोरोनाको दोस्रो लहर फैलिएको छ । कोरोना संक्रमित दैनिक बढेका छन् । दोस्रो भेरियन्ट निकै खतरा देखिएको छ । पुनः संक्रमितको सहयोगमा निस्किएको हुँ ।’

 

नगरपालिकामा कोरोना संक्रमित देखिन थालेपछि उनी ३ सातादेखि पुनः आइसोलेसन सेन्टरमा बस्न सुरु गरेका छन् । संक्रमित ओसार्न परे वा मृत्यु भए एम्बुलेन्स लिएर निस्किन्छन् । अरू बेला संक्रमितसँग सामाजिक दूरी बनाएर कुराकानी गर्दै हौसला दिने गरेको उनी सुनाउँछन् । 


स्वास्थ्य सावधानी अपनाएर संक्रमितको जीवनरक्षाका लागि जुनसुकै बेला सहयोगका लागि हाजिर हुने गरेको उनले बताए ।

 

अर्याल भन्छन्, ‘एम्बुलेन्स चालक भएको नाताले बिरामीको सेवा गर्नुपर्छ । विपद्का बेला सहयोग गर्दा मलाई छुट्टै आनन्द आउँछ । सोही कारण कोरोना संक्रमित मात्र बोक्ने निधो गरेको हुँ ।’