close

काेराेना चेनब्रेक गर्ने ताराखोलाको याे मोडल...

काेराेना चेनब्रेक गर्ने ताराखोलाको याे मोडल...

Trulli
ADVERTISEMENT

बागलुङ- २ साताअघि ताराखोला गाउँपालिकाकी १ जना जनप्रतिनिधिको कोरोना संक्रमणबाट मृत्यु भयो । उनको मृत्युसँगै गाउँमा संक्रमण फैलियो । 

 

साता दिनमै गाउँका ४८ जना सक्रिय संक्रमित पुगे । अहिले समस्या भएका १४ जना आइसोलेसनमा छन् । सुरुका दिनमा असावधानी, विवाहका भोज, विदेशबाट आएकाहरूको वास्ता नगर्ने प्रवृत्तिले संक्रमण घर–घरमा पुगेको थियो । 

 

तर, पछिल्लो समय ताराखोलामा संक्रमण बढेको छैन । संक्रमणमा परेकालाई घरघरमा राखिएको छ । घरमा बस्ने पनि अनिवार्य स्वास्थ्य मापदण्ड अपनाएका छन् ।

 

‘गाउँघरमा भए पनि राम्रो व्यवस्थापन र मापदण्ड पालना गरेर संक्रमणको चेन ब्रेकमा ताराखोलाले काम थालिसकेको छ,’ स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले भने, ‘ताराखोलाले गरेजति व्यवस्थापन सबै पालिकामा गर्ने हो भने जेठभित्रै जिल्लामा संक्रमण शून्यमा झार्न सकिन्छ ।’

 

त्यसपछि गाउँमा भित्रनेको निरन्तर तथ्यांक राख्ने र सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न लगाउन सके समुदायमा संक्रमण फैलन नपाउने उनले बताए । 

 

ताराखोला गाउँपालिकाले औषधी भित्र्याउने काममा मात्रै सक्रियता देखाएको होइन, काममा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने, मोबाइल चार्ज खर्च दिने र नियमित सम्पर्कमार्फत स्वास्थ्य अवस्था बुझ्ने काम गरेको भेटिएको छ ।

 

कन्ट्याक्ट ट्रेसिङमा परेकालाई क्वारेन्टाइनमा बसाल्ने र स्वाब संकलन गरेपछि रिपोर्ट नआउन्जेल सुरक्षित बस्न लगाउने कामसमेत गरेको छ । ‘एकाएक गाउँमा संक्रमण फैलिनुको कारण खोज्दै छौँ,’ अध्यक्ष प्रकाश घर्तीले भने, ‘नजानेर जे भए पनि संक्रमण फैलन नदिने गरी कडाइका साथ काम गरेका छौँ ।’

 

जेठभित्रै ताराखोलालाई शून्य संक्रमणमा झार्ने उनले दाबी गरे । हरेक पालिकाले आफ्नो क्षेत्रमा सक्रियता बढाए कोरोना संक्रमण अन्त्य गर्न सकिने उनको बुझाइ छ ।

 

गलकोटमा पनि शनिबारदेखि कडाइ गरिएको छ । हटिया, हरिचौरलगायतका बजार क्षेत्रमा भीड हुने, बजार खोल्ने क्रमले संक्रमण बढेको थियो । सामूहिक रूपमा सबै वडाको स्वाब संकलन गरेर पिसिआर गर्दा सबैतिर फैलिएको भेटिएपछि कडाइ गरिएको वडा नम्बर २ का वडाध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए । 

 

‘सबै वडाका कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको स्वाब संकलन गर्दा वडा नम्बर ६ मा धेरै देखिए । अन्यत्र पनि संक्रमित भेटिएका छन्,’ उनले भने, ‘तत्काल उनीहरूबाट अरूमा संक्रमण फैलन नदिने उपाय खोजी गरिरहेका छौँ ।’

 

दुवै पालिकामा भोजभतेरबाटै संक्रमण फैलिएको अनुमान गरिएको छ । वास्तविक अवस्थाबारे बुझ्न स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौसहितको टोली पालिकाहरूमा पुगेको थियो । पिसिआर बढाउने, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्ने विषयमा पालिका तहमा छलफल भएको गुरौले जानकारी दिए । 

 

बडिगाड गाउँपालिकामा पनि शनिबारदेखि नै निषेधाज्ञामा कडाइ भएको छ । वडा नम्बर ४ सहित संक्रमण पुष्टि भएकाहरूको अवस्था बुझेर थप संक्रमण बढ्न नदिने गरी काम भइरहेको स्वास्थ्य शाखा प्रमुख चुडामणि कँडेलले बताए ।

 

‘संक्रमतिलाई हौसला थप्ने, समस्यामा परेकाहरूको समयमा उपचारमा पुर्‍याउने काम भइरहेको छ,’ उनले भने, ‘समुदायमा फैलन नदिन मापदण्ड पालनामै बढी ध्यान दिनुपर्छ ।’  भोजभतेरबाट राम्रो पाठ सिकाइ भइसकेकोले अब कसैले जबर्जस्ती नगर्ने उनले बताए ।