close

बडिगाडमा कोरोनाले निम्त्याएको सन्नाटा..!

बडिगाडमा कोरोनाले निम्त्याएको सन्नाटा..!

Trulli
ADVERTISEMENT

बागलुङ- विवाह भोज खाएपछि कोरोना संक्रमण पुष्टि भएका बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ४ जलजलामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुनेमा एकै घरका ३ जना छन् ।

 

कोरोना संक्रमणपछि धौलागिरि अस्पतालमा उपचारको क्रममा २४ वैशाखमा ८७ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनका २ छोराको बिहीबार पोखरा र शुक्रबार बागलुङमा मृत्यु भएको हो । मृत्यु भएका ५१ र ४० वर्षका पुरुष छन् । 

 

शुक्रबारै बडिगाड वडा नम्बर ४ का अर्का ४० वर्षीय पुरुषको पोखरामै मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

 

११ वैशाखमा भोज खाएकामा साता दिनभित्र ज्वरो आउने, रुघाखोकीलगायत लक्षण देखिन थालेको थियो । गाउँपालिकाले १९ र २२ वैशाखमा गाउँमै पुगेर पिसिआर परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसपछि थप परीक्षण भएको छैन ।

 

तर, संक्रमण पुष्टि भएकाहरूमै जटिल समस्या देखिएका छन् । अझै केही अस्पतालमा उपचाररत छन् भने केही घरघरमै बिरामी परेको स्थानीयले बताए । शुक्रबार दिउँसो कोरोनाकै लक्षण भएकी ७५ वर्षीया महिलाको मृत्यु भएको स्थानीय अगुवा झवीन्द्र बुढाथोकीले बताए । ती महिलाको पिसिआर भएको थिएन ।

 

पोखरा र बागलुङमा मृत्यु भएकाको शव परिवारका सदस्यको सहमतिमा सेनाले व्यवस्थापन गर्नेछ । गाउँमा मृत्यु भएकाको शव व्यवस्थापनमा निस्कने कोही नभएको उनले बताए ।

 

‘घरघरमा संक्रमित छन् । धेरै बिरामी पनि छन् त्यसैले शव व्यवस्थापनमा समेत कठिन छ,’ उनले भने, ‘गाउँभरका मानिसलाई सकारात्मक सन्देश र मनोसामाजिक परामर्श दिनुपर्ने बेला भएको छ ।’ 


बडिगाडमा संक्रमण र जटिल बिरामीको संख्यासमेत बढिरहेकाले कम्तीमा १० दिन सिल गरेर खोजपड्ताल गरिने स्वास्थ्य शाखाका प्रमुख चुडामणि कँडेलले बताए । स्वास्थ्य शाखा, जनप्रतिनिधि र सामाजिक अगुवाले हरेक घरका संक्रमितको अवस्थाबारे बुझ्नुपर्ने उनले सुझाए ।

 

‘विद्यालयका कोठालाई आइसोलेसन बनाएर परिवारकै सदस्यले स्याहार गर्ने व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘अन्यथा बिरामीलाई स्याहार नपुगेर मर्ने अवस्था आउँछ ।’

 

पालिकाले अक्सिजनसहितका आइसोलेसन बनाइरहेको छ । हाल बडिगाड डोजोको भवनमा २० शय्याको आइसोलेसन बनाइएको छ । पालिकाले सामूहिक कक्षभन्दा विद्यालयका भवन प्रयोग गर्दा उपयोगी हुने ठहर गरेको छ । 

 

‘कोठामा १÷१ जना बिरामी राख्दा संक्रमणको दर कम हुने, परिवारका सदस्यले स्याहार गर्न पाउने र छिटो निको हुने अवस्था आउँछ,’ कँडेलले भने, ‘जनप्रतिनिधिकै अगुवाइमा खोजी पड्ताल गर्दा समयमा उपचारमा ल्याउन सकिन्छ ।’ बडिगाड वडा नम्बर ४ बाहेक अन्य वडामा पनि संक्रमण तीव्र फैलिएको छ ।


जलजलाबाहेक अहिलेसम्म वडा नम्बर ६ मा १, ७ मा १ र ९ मा पनि १ जना गरी थप ३ जनाको मृत्यु भइसकेको छ । बडिगाडमा १ जना डाक्टर र केही स्वास्थ्यकर्मी मात्रै छन् । उपचारलाई प्रभावकारी बनाउन थप स्वास्थ्यकर्मी परिचालन गर्नुपर्ने बुढाथोकीले बताए ।

 

बडिगाडबासीको बुटवल, भैरहवा आउजाउ भएकाले संक्रमण उतैबाट भित्रिएको अनुमान छ । वडा नम्बर ७ की एक महिला बुटवलमा सुत्केरी भएर गाउँ फर्केपछि परिवारका सदस्यमा संक्रमण देखिएको थियो । संक्रमितको मृत्यु भइसकेको छ । 

 

वैशाख लागेदेखि नै भएका विवाह, व्रतबन्ध र चौरासी पूजामा भोज गर्ने क्रमले संक्रमण गाउँ–गाउँमा पुगेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । ‘अहिले धेरै गाउँमा यस्तै समस्या देखिएका छन्,’ गुरौले भने, ‘संक्रमितको पहिचान बेलैमा गरियो भने मात्रै मृत्युदर घटाउन सकिन्छ ।’