close

दाउन्ने बस दुर्घटनामा ४ को मृत्यु, ४९ घाइते

दाउन्ने बस दुर्घटनामा ४ को मृत्यु, ४९ घाइते

Trulli
ADVERTISEMENT

नवलपरासी– पश्चिम नवलपरासीको दाउन्ने पहाडबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ । ४९ यात्रु घाइते छन् । काठमाडौंबाट रुकुम पश्चिम जाँदै गरेको ना५ख २७१३ नम्बरको बस पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकास्थित दाउन्ने पहाडको खुर्सानी खोलामा बुधबार बिहान ७ बजे दुर्घटनामा परेको हो । 

 

दुर्घटनामा परी २ महिला र २ पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक अजय केसीले जानकारी दिए ।

 

मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा नम्बर ६ की २७ वर्षीया कल्पना पुन र सोही जिल्ला सिस्ने गाउँपालिका वडा नम्बर ४ का ३६ वर्षीय धनराज घर्ती रहेका छन् । अन्य २ जनाको सनाखत हुन सकेको छैन । 

 

बस पहाडबाट १ सय ५० मिटर तल खसेको छ । १ जना बसमै च्यापिएको अवस्थामा रहेकाले क्रेन बोलाएर निकाल्ने प्रयास भइरहेको छ । बसलाई रुखले अड्काएका कारण बढी मानवीय क्षति हुन नपाएको प्रहरीले बताएको छ । 

 

चिसापानी अस्पताल बर्दघाटमा उपचारका लागि पठाइएका केही घाइते गम्भीर अवस्थाका छन् । सबैलाई तत्काल अस्पताल पठाइएकाले कति गम्भीर छन् भन्ने केही समयभित्रै जानकारी हुने प्रहरी उपरीक्षक केसीले बताए । काठमाडौंमा अलपत्र परेका रुकुम पश्चिमका स्थानीयलाई लिएर बस त्यसतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । बसमा ५८ जना यात्रु थिए ।