close

कोरोनाले निधन भएका परिवारलाई गाउँपालिकाको राहत

कोरोनाले निधन भएका परिवारलाई गाउँपालिकाको राहत

Trulli
ADVERTISEMENT

लमजुङ– लमजुङको मस्र्याङ्दी गाउँपालिकाले कोरोना संक्रमण भएर मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउन थालेको छ । गाउँपालिकाले कोभिडका कारण मृत्यु भएका वडा नम्बर ६ बाहुनडाँडाका ६५ वर्षीय वृद्धको परिवारलाई किरिया खर्चबापत २० हजार रुपैयाँ सहयोग गरेको हो । 

 

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङसहितको टोलीले मृतकको घरमै पुगेर राहत रकम सहयोग गरेको हो । ती वृद्धको २६ वैशाखमा उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।


२४ वैशाखमा जिल्ला अस्पताल लमजुङमा उपचारका लागि आएका वृद्धको एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका निम्ति चितवन रेफर गरिएको थियो । चितवनमा आइसियु बेड नपाएपछि पुनः जिल्ला अस्पताल लमजुङमै भर्ना गरेर उपचार गरिएको थियो । 

 

गाउँपालिका अध्यक्ष गुरुङसहितको टोलीले वडा नम्बर ६ बाहुनडाँडाका कोरोना संक्रमितको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएको
छ । समग्र गाउँको वस्तुस्थिति अध्ययन गरी संक्रमितलाई स्वास्थ्य परामर्श दिइएको अध्यक्ष गुरुङले बताए ।

 

घरभेटका क्रममा संक्रमितलाई नआत्तिन र आत्मबल बलियो बनाएर घरभित्रै बस्न आग्रह गरिँदै आएको गाउँपालिकाले बताएको छ । ‘कोरोना परीक्षणका लागि स्वाब दिएकालाई रिपोर्ट नआएसम्म घरमै बस्न अनुरोध गरिएको र रिपोर्ट पोजेटिभ आएकालाई सुरक्षित भएर होम आइसोलेसनमा बस्न भनेका छौँ,’ अध्यक्ष गुरुङले भने ।