close

नागरिकता अध्यादेशले ब्युँतिएका सपना

नागरिकता अध्यादेशले ब्युँतिएका सपना

Trulli
ADVERTISEMENT

कपिलवस्तु– कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर १ का सुदीप विश्वासले एमबिबिएस पढेर डाक्टर बन्ने लक्ष्य लिएका थिए । परिवारको पेसा मेडिकल रहेको हुँदा आमाब्ुबाको चाहनासमेत डाक्टर बनाउने नै थियो । 

 

तर, बुबाको नागरिकता जन्मसिद्ध नेपाली नभएकाले उनको नागरिकता बन्न सकेन । एमबिबिएस पढ्न फारम भर्दा नागरिकता चाहिने भएपछि उनको डाक्टर बन्ने सपना अधुरै रह्यो । नागरिकता नभएकै कारण नेपालमा उच्च शिक्षा पढ्न नपाउने भएपछि सुदीपले भारतको आन्ध्र प्रदेशमा गई फार्मेसीमा स्नातक पूरा गरेका छन् ।
 

सरकारले हालै नागरिकतासम्बन्धी अध्यादेश जारी गरेपछि विश्वास परिवारको छोरालाई डाक्टर बनाउने आशा पुनः ब्युँतिएको छ । सुदीपका भाइ आकाश एमबिबिएसको तयारीमा जुट्न सुरु गरेका छन् ।

 

१९ वर्षका आकाशले अघिल्लो वर्ष काठमाडौंमा गई एमबिबिएसको तयारी कक्षा लिएका थिए । नागरिकता नभए पनि आवेदन गर्न पाइने विश्वास दिलाएपछि उनी तयारी कक्षामा सामेल भएका थिए । तर, नागरिकताका कारण आवेदन रद्ध भएको थियो ।

 

सरकारले ल्याएको नागरिकता पहिलो संशोधन अध्यादेश, २०७८ प्रमाणीकरण भएपछि विश्वास परिवार निकै खुसी छ । बुबा सुदामा विश्वास र आमा नानुमाया आचार्य जेठोले नपाए पनि कान्छालाई डाक्टर बनाउने सपना ब्यँुतिएको सुनाउँछन् । आकाशले अब नागरिकता पाउनेमा ढुक्क छन्, बाआमा । 
 

नागरिकता प्राप्त गरेपछि उनले बैंक खाता खोल्ने र सवारी चालक अनुमतिपत्रसमेत बनाउने योजना बुनेका छन् । जन्मसिद्ध बुबाका सन्तान भएका कारण महाराजगञ्ज वडा नम्बर २ गैडहवाका कृष्णचन्द्र पासीका २ छोरा विनय र विमलको नागरिकता छैन ।

 

कृष्णचन्द्रका बुबा नेपालमा शिक्षण पेसा गरी अवकाश भइसकेका छन् । नागरिकता नभएकै कारण कृष्ण गैरसरकारी संस्थामा जागिर खानबाट वञ्चित भए । बुबाको नागरिकताबाट स्टेसनरी पसल दर्ता गरी निजी विद्यालयमा शिक्षण गर्दै आएका छन् ।
 

उनका २ छोरा विज्ञान विषय लिई स्नातक तहको अध्ययन पूरा गर्दै छन् । तर, नागरिकताकै कारण जागिर खान नमिल्ने भएको छ । १० जोड २ सम्म नेपालमा अध्ययन गरे तर माथिल्लो कक्षा पढ्न नागरिकता चाहिएपछि उनी भारत हानिए । 

 

नागरिकता पछि पेस गर्ने कबुल गरेर अध्ययन गर्दै आएका छन् । नागरिकता पेस नहुँदासम्म उनीहरूले प्रमाणपत्र नपाउने क्याम्पसले सचेत गराएको छ । ‘अब हाम्रो समस्या समाधान हुन्छ’, २३ वर्षेक विनयले भने ।

 

जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाएपछि दशकौँदेखि पिरलो हट्ने देखिएको छ । अध्यादेश जारी भएपछि भारतीय नागरिकले नागरिकता पाउने भनी सामाजिक सञ्जालमा भ्रम फैलाउँदा नागरिकताविहीन नागरिक दुखित छन् । कानुन अभावमा हजारौँ नागरिक राज्यबाट पाउने न्यूनतम सेवाबाट वञ्चित हुनुपरेको सामाजिक अभियन्ता शिवलाल यादव बताउँछन् ।