close

कोभिड-१९ विरुद्ध कस्सिए मन्त्रीदेखि समुदायसम्म

कोभिड-१९ विरुद्ध कस्सिए मन्त्रीदेखि समुदायसम्म

Trulli
ADVERTISEMENT

गुल्मी- भर्खरै लिम्घेली युवाहरूले अक्सिजन सिलिन्डर, अक्सिमिटर र एन्टिजेन किटलगायत करिब २ लाख रुपैयाँका सामग्री जुटाएर स्वास्थ्य चौकीलाई उपलब्ध गराए । 

 

काठमाडौंमा बस्ने गुल्मेलीहरूले सहयोगी हात अभियान सञ्चालन गरेर केही समयअघि अक्सिजन सिलिन्डर जिल्ला पठाए । सहयोगी हातमार्फत अझै अक्सिजन र औषधी उपकरण आउँदै छन् ।

 

नेपाल पत्रकार महासंघले जिल्लामा अक्सिजन अभियान सञ्चालन गर्‍यो । अभियानमार्फत ६० लाख अक्सिजन प्लान्ट निर्माण गर्न गुल्मी अस्पताललाई प्रदान गरेको छ । 

 

त्यसबाहेक जिल्लाका २ ठूला गुल्मी र रेसुंगा अस्पताललाई अक्सिजन वितरण गरिरहेको छ । जापान, बेलायत, कतारलगायत देशमा पनि अभियान सञ्चालन भएका छन् । 


परदेशी गुल्मेलीका संस्थाले पनि महासंघमार्फत अक्सिजन प्लान्ट र गाउँ-गाउँका स्वास्थ्य संस्थाहरूमा औषधी, उपकरण र स्वास्थ्य सामग्री वितरणमा सहयोग गरिरहेका छन् ।


विपद्मा गुल्मेली एकता देशमै नमुना छ । कोभिड-१९ नियन्त्रण तथा उपचार पछिल्लो उदाहरण हो । आगलागीले ध्वस्त मुसीकोट वडा नम्बर ४ को दजाकोट स्वदेश तथा परदेशमा रहने गुल्मेलीकै सहयोगमा उठ्यो । पहिरोले प्रभावित सत्यवति र इस्माका पहिरोपीडितको उद्धार, राहत र पुनस्र्थापनामा समेत कैयौँ महत्त्वपूर्ण काम भए ।

 

मिर्गाैला, क्यान्सर, ब्रोनम्यारोलगायत जटिल रोगले पीडत गुल्मेलीको सहयोगमा लाखाँै रकम सातामै उठेको छ । विपद्मा गुल्मेली मन्त्रीदेखि समुदाय स्तरका नागरिक सधैँ एक हुन्छन् । 


कोभिड-१९ नियन्त्रण र उपचारमा गुल्मीका विभिन्न स्थानीय तहले आ–आफ्नै योजना बनाएका छन् । सम्भावित लक्षण देखिएको समुदायमा दैनिक परीक्षण गर्ने र स्वास्थ्य अवस्थाको आधारमा आफ्नै कोभिड अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्ने गरेका छन् ।

 

गाउँ-गाउँका युवा क्लब, समूह र संघ-संस्थाले स्थानीय तहलाई सहजीकरण र सहयोग गरिरहेका छन् । औषधी व्यवसायी, वितरक संघ, राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले पनि कोभिड-१९ विरुद्ध सहयोग गरिरहेका छन् ।

 

त्यसबाहेक गुल्मेलीकै कैयौँ व्यक्तिको पहलमा डाँफे फाउन्डेसन, नेपाल क्रिटिकल केयरलगायत संस्थाले पनि विभिन्न सामग्री सहयोग गरे । पछिल्लो समय जिल्लाका मन्त्री तथा सांसदहरूको पनि कोभिड–१९ नियन्त्रण र उपचारमा विशेष चासो र चिन्ता देखिएको छ ।

 

बिहीबार मात्रै परराष्ट्रमन्त्री प्रद्रीपकुमार ज्ञवालीले गुल्मी अस्पतालसहित अन्य प्राथमिक स्वास्थ्य केन्द्रका लागि अक्सिजनसहितका सिलिन्डर, कन्सन्ट्रेटर, मास्कलगायत स्वास्थ्य सामग्री पठाएका छन् ।

 

ज्ञवालीका स्वकीय सचिव जंग नेपालीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ६० वटा अक्सिजनसहितका सिलिन्डर, ९ वटा अक्सिजन कन्सन्ट्रेटर, ६ हजार सर्जिकल माक्स, ६० लिटर स्यानिटाइजर, एन९५ मास्क ५००, गाउन र पिपिई २/२ सय थान, एन्टिजेन्ट किट १ हजार ५ सय, ५ बेडलगायत स्वास्थ्य सामग्री प्रदान गरे । 

 

मन्त्री ज्ञवालीको पहलमा अक्सिजन प्लान्टका लागि १ करोड र ५ बेडको आइसियुका लागि २ करोड रुपैयाँ विनियोजन भएको छ । 

 

त्यस्तै, पूर्वमन्त्री गोकर्ण विष्टले अक्सिजन अभाव भएका बेला ४५ थान अक्सिजन जिल्ला पठाएका थिए । त्योसँगै पत्रकार महासंघले सञ्चालन गरेको अक्सिजन अभियानमा १० लाख रुपैयाँ जुटाउने प्रतिबद्धता गरेका छन् ।

 

कांग्रेस नेता चन्द्र भण्डारीले पनि जिल्लामा कोभिड-१९ विरुद्धमा अक्सिजन अभियानमा ऐक्यबद्धता गर्दै सहयोग गरिरहेका छन् । कांग्रेस, एमाले र माओवादीका जिल्ला स्तरीय नेताहरूले पनि कोभिड नियन्त्रण र उपचारमा अस्पताल तथा प्रशासनमा सहजीकरण र दबाब सिर्जना गर्दै आएका छन् । 

 

कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ सबैभन्दा पहिले कोभिड-१९ को विषम परिस्थतिका विषयमा सरकार र सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने बताउँछन् । ‘विपन्न नागरिक भोक, प्यास छोपेर सरकारकै हितमा उभिएको छ । सरकार सत्तामै डुब्यो,’ उनले भने, ‘समयमै सरकार गम्भीर नभएकाले ठूलो क्षति बेहोर्नु परिरहेको छ ।’ 

 

गुल्मी अस्पतालमा जिल्लाका १२ वटै स्थानीय तहका नागरिकले उपचार गरिरहेका छन् । कोभिड-१९ प्रयोगशालामा सबै स्थानीय तहबाट स्वाब संकलन गरेर परीक्षण धमाधम भइरहेको छ ।


जिल्लाका १२ वटै स्थानीय तहले सहयोग गरेर प्रयोगशाला सञ्चालनमा ल्याएका छन् । गुल्मेली मन्त्री, नेता, कार्यकर्ता र समुदाय स्तरको सहयोगबाट आफू प्रभावित भएको गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले बताए ।

 

‘विपद्मा गुल्मेली एकता देशमै उत्कृष्ट छ,’ उनले भने, ‘अस्पतालले मन्त्री नेता, पत्रकार र समुदायको सहयोग दैनिक पाएको छ ।’


प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सबैको सहयोगले नै जिल्लामा महामारी नियन्त्रण, उपचार र शान्ति-सुरक्षाको क्षेत्रमा थुप्रै काम गरिएको बताइन् । ‘जिल्लाको अभाव र प्रभावमा स्वदेश तथा परदेशका गुल्मेलीको सहयोग र समन्वय राम्रो पाएँ,’ उनले भनिन्, ‘सहयोग गर्ने सबैप्रति आभारी छु ।’