close

स्थानीय सरकारले फर्केर हेरेन: दलित बस्तीमा राहत बाँड्दै मनकारी तन्नेरी 

स्थानीय सरकारले फर्केर हेरेन: दलित बस्तीमा राहत बाँड्दै मनकारी तन्नेरी 

Trulli
ADVERTISEMENT

मुगु- मुगुका एक मनकारी युवाले कोरोना महामारीका बेला गरिब, विपन्नलाई सहयोग गर्न व्यक्तिगत रूपमा मास्क र राहत सामग्री वितरण गरेका छन् । 


छायानाथ रारा नगरपालिका वडा नम्बर १ छत्याल वाडाका गजेन्द्रबहादुर मल्लले वडा नम्बर ५ ढुमागाउँको दलित बस्तीलाई मास्क र खाद्यान्न राहत वितरण गरेका हुन् । 


मल्लले उक्त गाउँका १०० बढी स्थानीयलाई मास्क वितरण गरेका छन् भने विपन्न २ परिवारलाई ३० केजीको चामल, तेल, नुन र दाल वितरण गरेको जानकारी दिए । 


उनले भने, ‘अहिलेको संकटको अवस्थामा काम गरिखानेलाई केही राहत होस् भनी सहयोग उपलब्ध गराएको हुँ । कोरोना महामारीले गरिबलाई छाक टार्न धौधौ छ । हुनेखानेलाई सहयोग गर्नुपर्छ ।’

 

महामारीबाट बच्न नगरपालिकाका १ देखि १४ नम्बर वडासम्मका दलितलाई मास्क वितरण, गरिब, विपन्नलाई पहिचान गरी राहत वितरण गर्ने योजना रहेको मल्लले सुनाए । 


‘यो अभियान ढुमागाउँबाट सुरु भई अब सबै वडामा पुर्‍याउने लक्ष्य छ’, व्यवसायी तथा कांग्रेसका जिल्ला नेता मल्लले भने, ‘व्यवसायबाट कमाएको रकम समाज सेवामा खर्चिएको हुँ ।


पछिल्लो समय मुगुमा कोरोना संक्रमण फैलिएको छ । जिल्ला प्रशासनले २२ जेठसम्म निषेधाज्ञा लम्ब्याएको छ । निषेधाज्ञाका कारण गिटी कुट्ने, भारी बोकेर छाक टार्नेहरूको अवस्ता कन्तविजोग छ । 


‘काम गरौँ भने पाइँदैन । निषेधाज्ञाले सबै कमाएर खाने बाटा बन्द गरिदियो’, वडा नम्बर ५ ढुमागाउँकी स्थानीय सुन्चुरा कामीले भनिन् । कोरोना महामारीमा मनकारी युवाले सहयोग गरे पनि स्थानीय सरकारले गरिबलाई नहेरेको उनको गुनासो छ ।