close

बाढीपहिरोले मुहान हानेपछि बागलुङ बजारमा पानी आपूर्ति ठप्प

बाढीपहिरोले मुहान हानेपछि बागलुङ बजारमा पानी आपूर्ति ठप्प

Trulli
ADVERTISEMENT

बागलुङ- वर्षासँगै आएको बाढीपहिरोले खानेपानीका मुहान तथा पाइप लाइनमा क्षति पुर्‍याएपछि बागलुङ बजारमा खानेपानी आपूर्ति बन्द भएको छ । बिहीबारदेखि शनिबारसम्म निरन्तर परेको वर्षापछि आएको बाढीपहिरोले खानेपानीका मुहानमा क्षति पुर्‍याएको हो ।

 

बागलुङ बजारका लागि खानेपानी ल्याइएका २ वटै मुहानमा बाढीपहिरोले क्षति पुर्‍याएको छ । बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशको मुहानबाट ल्याएको पाइप पहिरोले बगाएको छ । 


रेशको जिरेदी नजिकैको भीरमा पहिरो खस्दा पाइप क्षतविक्षत भएकाले पानी अवरुद्ध भएको हो । पाइप मर्मतको काम चलिरहेकाले सोमबार बेलुकीसम्म पानी आउने संस्थाका प्रबन्धक हिमाल शर्माले बताए । 

 

रेश खोलाको मुहानबाट प्रतिसेकेन्ड १७ लिटर पानी आउने गरेको थियो । संस्थाले प्राविधिक जनशक्ति परिचालन गरेर मर्मतको काम गरिरहेको छ । 


काठेखोला गाउँपालिका वडा नम्बर ८ लेखानीको भुँदी खोलाको मुहानमा समेत बाढी पसेकाले पानी अवरुद्ध छ । लेदोसहितको पानी खानेपानीको पाइपमा पसेपछि पानी अवरुद्ध भएको हो । ‘हाम्रो प्रविधिले शुद्धीकरण गर्नै नसक्ने गरी हिलो पसेकाले धारामा पानी नपठाइएको हो,’ शर्माले भने, ‘भुँदीको पानी सफा भएकाले बिहानैदेखि संकलन गरेर ट्यांकीमा राखिएको छ । रेशको पानी आएपछि सबै धारामा पानी पुग्छ ।’ 

 

भुँदीखोला मुहानबाट पनि प्रतिसेकेन्ड १७ लिटर पानी आउने गरेको छ । संस्थाले बागलुङ बजारका झन्डै ४ हजार धारामा खानेपानी वितरण गर्दै आएको छ ।  ३ दिनदेखि पानी अवरुद्ध भएपछि बागलुङ बजारमा खानेपानी, सरफाइलगायत कामका लागि पानी अभाव भएको छ ।