close

महामारीमा गरिखानेलाई मुख जोड्न धौ-धौ, युवाले बाँडे राहत

महामारीमा गरिखानेलाई मुख जोड्न धौ-धौ, युवाले बाँडे राहत

Trulli
ADVERTISEMENT

बागलुङ- कोरोना महामारी नियन्त्रणका लागि जिल्लाभर निषेधाज्ञा छ । घरबाहिर निस्किन कसैलाई दिइएको छैन । जिल्लाका अन्य ठाउँमा निषेधाज्ञा हुनुपूर्वका ८ दिन बढी बागलुङको बलेवाबासीले घरभित्रै बसेर बिताए । 


बलेवाका ३ वटा वडामा मात्रै त्यतिबेला निषेधाज्ञा लगाइएको थियो । प्रशासनले दिएको निर्देशन उल्लंघन भएको सूचनाका आधारमा जिल्ला प्रशासन र स्थानीय सरकारले पटक-पटक बलेवा क्षेत्रमा अनुगमन गरिरहे । बेलाबेला सशस्त्र र जनपथ प्रहरी परिचालन गरेर गस्तीसमेत भयो ।

 

लामो समय निषेधाज्ञा हुँदा दैनिक ज्याला मजदुरी गरेर खाने यहाँका सर्वसाधारणलाई समस्या देखिन थालेको छ । ‘म अपांगता भएको व्यक्ति हुँ । ममीले बोर्डिङ स्कुलमा काम गर्नुहुन्थ्यो । निषेधाज्ञा भएपछि कतैबाट केही पाउने कुरै भएन,’ बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरका कमल आचार्यले भने ,‘छाक टार्ने उपाय चलाउन कठिन हुँदो रहेछ ।’

 

काम नचलेपछि काम गरेर बिहान-बेलुकाको खर्च चलाउनेहरू सबैभन्दा धेरै समस्यामा छन् । अघिल्लो वर्षको लकडाउन भएको ३ दिन नबित्दै राहत दिन तम्सिएका स्थानीय तहले यो वर्ष भने जिल्लाभर निषेधाज्ञा भएको १ महिना बित्नै लाग्दासमेत कहीँकतै राहत उपलब्ध गराएको सुनिँदैन ।

 

नजिकको सरकार र सरोकारवालाको बेवास्ताका कारण मर्कामा परेको मजदुर बताउँछन् । निषेधाज्ञाको समय मजदुरलाई परेको समस्याका विषयमा कोही कसैले चासो नदेखाएपछि बलेवाका युवाले राहत बाँड्न थालेका हुन् । 

 

बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरका सविन पाठकको नेतृत्वमा युवाहरूले मजदुरका घर–घरमा खाद्यान्न पुर्‍याउन थालेका हुन् ।  बुधबार युवाहरूले अमलाचौरका १० परिवारका लागि खाद्यान्न वितरण गरेका छन् । पाठक भन्छन्, ‘तत्कालका लागि असाध्यै अप्ठेरोमा परेकालाई राहत दियौँ । अभियान जारी रहन्छ ।’  युवाहरूले दाल, चामल, नुन, तेल, मसलालगायत सामग्री वितरण गरेका हुन् ।

 

स्वास्थ्य सामग्री बाँड्दै सहकारी

कोरोना महामारीसँग जुध्न बागलुङको एक सहकारी संस्थाले स्वास्थ्य सामग्री हस्तान्तरण अभियान थालेको छ । काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राममा रहेको सुनगाभा बचत तथा ऋण सहकारी संस्थाले वडा कार्यालयलाई स्वास्थ्य सामग्री उपलब्ध गराएर अभियान थालेको हो । 

 

बुधबार संस्थाले वडा कार्यालयलाई मास्क, स्यानिटाइजर, पिपिईलगायत स्वास्थ्य सामग्री हस्तारन्तरण गरेको छ । काठेखोला गाउँपालिकाभित्र फैलिएको कोरोना संक्रमणलाई रोक्न वडालाई सहज होस् भन्ने उद्देश्यले ३० प्याकेट मास्क, ५ थान पिपिई र १ सय एमएलका ३० थान स्यानिटाइजर हस्तान्तरण गरेको संस्थाका अध्यक्ष गिरबहादुर पुनले जानकारी दिए ।