close

दुई दिनको अन्तरालमा गुमे दुई छोरा, शोकमा टाेल

दुई दिनको अन्तरालमा गुमे दुई छोरा, शोकमा टाेल

Trulli
ADVERTISEMENT

महोत्तरी-  महोत्तरी- २ कोठे घर । घरभरि छरछिमेकको भीड । उक्त घरका घरधनी ६२ वर्षीय बलबहादुर परियार पिँढीमा बसेर टाउकोमा हात लगाउँदै आँखाभरि आँसु टिलपिलाएका देखिन्छन् ।

 

छेउमै अन्दाजी २५-२६ वर्षजस्तो देखिने महिला सिउँदो उजाडिएको छ । वरपरकाले सहानुभूति दिइरहेका छन् । कसैले उमेरमै विधवा भई विचरा ! भन्छन्, कसैले बूढो बाउले एकैपल्ट २ वटा छोरा गुमाउनुपर्‍यो ! कस्तो दशा रहेछ भन्छन् ।


महोत्तरीको बर्दिबासस्थित वडा नम्बर ३ गौरीडाँडामा बलबहादुर परियारको घर पुगेपछि देखिने कारुणिक दृश्य हेर्ने जोकोहीका आँखा रसाएका हुन्छन् । २ दिनअघि जेठा छोरा देवबहादुर परियार घरअगाडि डोरीले पासो लगाएर झुन्डिएको अवस्थामा फेला परे । त्यसको भोलिपल्ट माइला छोरा रमेश परियार बर्दिबासमा एक्कासि मृत भेटिए ।


परियार परिवारमा यति ठूलो अकल्पनीय वज्रपात होला भनेर कसैले अनुमानै गरेका थिएनन । डोरीले पासो लगाएर झुन्डिएका देवबहादुर परियार केही वर्ष अगाडि मलेसियामा रोजगारी गर्थे । काम गर्दागर्दै मेसिनमा च्यापिएर दाहिने खुट्टा भाँचिएपछी उनी २ वर्षअघि घर फर्किएका थिए ।


काम गर्न र हिँडडुल गर्नसमेत समस्या बनेर घर फर्किएका देवबहादुरलाई विदेशमा बस्ने साथीहरूले पैसा जम्मा गरेर पठाउँथे । त्यही पैसा हुन्जेल देवबहादुरको गुजारा चल्यो । जब साथीहरूले उताबाट पैसा पठाउन छाडे, तब गास र कपासको पहाड ठडियो ।


उनको खुट्टामा रड हालिएको थियो । स्वदेशमा पर्याप्त उपचार अभावमा खुट्टामा क्यान्सर भयो । त्यसपछि देवबहादुरलाई बाँच्ने आशा हँुदाहुँदै पनि आर्थिक स्थिति कमजोर भएकै कारण मृत्यु रोज्न बाध्य भए । ‘अब बाँचेर पो के काम छ र ! कष्ट सहेर बाँच्नुभन्दा अहिले नै प्राण नै त्यागिदिउँजस्तो लाग्छ’, उनले पासोमा पर्नुअगाडि यस्तैयस्तै वेदना कहने गरेको छिमेकी सुनाउँछन् । 


मर्नेहरू त मरेर गइगए । बाँचेकाहरूलाई सधैँभरको पिरलो सहनुपर्ने बाध्यता आइलागेको बाबु बलबहादुर बताउँछन् । ‘केही वर्ष बाँचोस् भन्ने आशा हुँदाहुँदै झुन्डिएछ । तर, माइलो कसरी मर्‍यो ? हामी सबै अचम्ममा छौँ’, मृतकका वृद्ध बाबु बलबहादुरले दुःखी सुनिन्छन् ।

 

झुन्डिएको अवस्थामा छोराको मुखमा रगत भएकै कारण कसैले मारिदिएको पो हो कि भन्ने कतिपयले अडकलबाजी गरे पनि परिवारचाहिँ आत्महत्या नै गरेको ठान्छन् । ‘उहाँले आत्महत्या नै गरेको भन्ने लाग्छ । कोहीसँग हाम्रो रिसइबी थिएन । कसले ज्यान लियो होला र ?’ भाइबुहारी सञ्जु भन्छिन् ।


तर, आफ्ना श्रीमान् (माइला) लाई भने कसैले मारेको हुन सक्ने सञ्जुको आशंका छ । मिस्त्री काम गरेर परिवारको भरणपोषण गर्दै आएका मृतक रमेशलाई कसैले मारे हुन सक्ने छिमेकीको शंका छ ।


‘उहाँको शरीरभरि नीलडाम थियो । फेरि सधैँ सरासर घर आउने मान्छे । त्यहाँ कसरी पुग्नुभयो ? मलाई नै अचम्म लागेको छ’, मृतककी श्रीमती सञ्जुले रुन्चे स्वरमा भनिन् । एकैपल्ट २ जना दाजुभाइको मृत्यु भएपछि स्थानीय पनि शोकमा डुबेका छन् । 


‘काम गर्ने त्यही माइलो छोरा थियो । कान्छो हराएको वर्षौं भयो । जेठा छोराको अवस्था पनि त्यस्तै थियो । अब यो परिवारमा ठूलो समस्या फस्ने भयो’, छिमेकी दलबहादुरले भने । आर्थिक स्थिति कमजोर भएको यो परिवारलाई तत्कालका लागि दलित मुक्ति समाज बर्दिबासले राहत उपलब्ध गराउको छ । तर, यो राहत सकिएपछि के गर्ने भन्ने चिन्तामा परिवार छ ।


झुन्डिएर आत्महत्या गरेका जेठा छोरा अविवाहित हुन् । माइला छोराकी श्रीमतीको काँधमा परिवारको जिम्मेवारी आइलागेको छ । सञ्जुका १५ वर्षीय छोरा र १५ महिनाकी छोरी छन् । 


‘६२ वर्षीय बलबहादुरले केही गर्न सक्दैनन् । कान रामरी सुन्दैनन् । शारीरिक रूपमा पनि अशक्त छन् । अब बुहारीको काँधमा परिवारको जिम्मेवारी थपियो । त्यसलाई कसरी पार लगाउलिन् ?’ छिमेकी गंगा परियार सुनाउँछिन् ।


६२ वर्षीय वृद्ध बलबहादुरले एकैपल्ट बुढेसकालका टेको दुई छोरा गुमाएका छन् भने २५ वर्षमै विधवा बनेकी माइलो छोराकी श्रीमती सञ्जुमाथि झनै ठूलो वज्रपात थपिएको छ । सञ्जुलाई यतिबेला श्रीमान्को मृत्युसँगै छोराछोरीलाइ हुर्काउने, बढाउने र पारिवारिक भरणपोषण कसरी गर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।


‘श्रीमान् मरेर जानुभयो तर मेरो केही काम छैन । उहाँ जिउँदो हुँदा मिस्त्री काम गरेर आएको पैसाले हामी चलेका थियौँ,’ उनले दुखेसो पोखिन् । खेतीपातीका नाममा परियार परिवारको १ कठ्ठा मात्र जमिन छ । त्यही पनि घरले ओगटेको छ । 


जेठाजु पासो लगाएर झुन्डिएको अवस्थामा फेला परे भने श्रीमान् बर्दिबासको काठे पुल नजिकै मृतावस्थामा भेटिए । पोस्टमार्टम रिपोर्ट आएपछि मृतक दाजुभाइको परिवारका लागि केही सहयोग गर्ने योजना बनिरहेको युवा अभियन्ता सरोज गजमेरले बताए । बर्दिबास वडा नम्बर ३ का वडाध्यक्ष राजन ढुंगगनाले पनि मृतकका परिवारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।