close

बाजुरामा डोजरे विकासको विनास: पहिरो खस्दा बेघरबार भइन् उपप्रमुख विष्ट 

बाजुरामा डोजरे विकासको विनास: पहिरो खस्दा बेघरबार भइन् उपप्रमुख विष्ट 

Trulli
ADVERTISEMENT

बाजुरा- लगातारको वर्षाका कारण शनिबार रातीदेखि परेको पानीले बडीमालिका नगरपालिका उपप्रमुख कविता विष्टको घरलगायत चैडिल भुवखाडाको पूरै बस्ती जोखिममा परेको छ । शनिबार राती आएको पानीका कारण घर माथिबाट पहिरो खस्दा भलमाटो घरभित्र पसेको हो । 

 

बस्ती जोखिममा परेपछि आइतबार बिहानै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीयले उपप्रमुख विष्टको उद्दार गरेका हुन् । पहिरोले उपप्रमुख विष्टको घर भग्नावेश भएपछि त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाको भवनमा सारिएको छ ।


 
उपप्रमुख विष्टको घरको अगाडि पछाडि दुवै ठाउँमा पहिरो गएको छ । केही समयअघि सदरमुकाम मार्तडीमा घुम्ती सडक निर्माणका लागि उपप्रमुख विष्टको घर रहेको अगाडि पछाडि दुवै ठाउँमा डोजर प्रयोग गरेर बाटो काटिएको थियो ।

 

डोजर प्रयोग गरेर सडक खन्दा बाजुरा सदरमुकाम मार्तडीकै बस्ती पहिरोको जोखिममा परेको हो । वातावरणीय प्रभाव मूल्यांकन तथा योजनाबिनै डोजरले जताततै सडक खन्दा बस्ती नै जोखिममा परेको हो । स्टिमेटबिनै मनोमानी तरिकाले डोजर लगाएर सडक खन्दा बस्ती पहिरोको जोखिममा परेको स्थानीयको गुनासो छ ।


 
सुरक्षा निकाय र स्थानीयको सहायताबाट उपप्रमुख विष्टको घरभित्रका सामान बाहिर ल्याइएकोे छ । उक्त क्षेत्रमा रहेका १५ बढी परिवारका घर पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । पहिरोले मार्तडी साना जलविद्युत्को नहर पुरिँदा विद्युत् सेवासमेत बन्द भएको छ ।


गए रातीको पहिरोले बाल मन्दिर विद्यालयको नवनिर्मित भवन, साना किसान सहकारीको नवनिर्मित भवन, स्थानीय वीरबहादुर थापा, मथुराराज पण्डित, संगीता सिंह, मानबहादुर थापा, धनवहादुर रावल, प्रेमराज पाध्यायलगायतको सदरमुकामभित्रकै दर्जनौँ घर जोखिममा परेका छन् ।

 

पहिरोले त्रिवेणी साना जलविद्युत्को नहर पनि पुरिएको छ । बडिमालिका नगरपालिका वडा नम्बर ७ का नर ल्वारको घर पनि पहिरोमा परेको छ । सदरमुकाम मार्तडी नयाँ बसपार्क भत्किँदा प्रकाश थापाको घर पुरिएको छ ।


थापाबाडा–चैडिल हुँदै खुलामञ्चका लागि प्राविधिकबिनै गाउँको बीचमा खनिएको सडक माथि र तलका दर्जनाँै बस्ती जोखिममा परेका छन् । भिरालो जमिनमा मनोमानी तरिकाले डोजरबाट खनिँदा सडक माथिबाट पहिरो आएपछि बस्ती जोखिममा परेको स्थानीय सन्तोष सिंहले बताए । 

 

यस्तै, निर्माणाधीन नयाँ बसपार्क पनि जोखिममा परेको छ । वालमा लगाइएको तारले बसपार्कमा पुरेको माटोलाई थेग्न नसकेपछि तारजाली वाल चर्किएसँगै बसपार्कमुनिको बस्ती नै जोखिममा परेको वडा नम्बर ८ का वडाध्यक्ष प्रकाश रावलले बताए ।
 
जिल्ला प्रहरी कार्यालय मुनिबाट डोजरले सडक खन्दा कार्यालय भवन पछाडि भत्किएसँगै भवन जोखिममा रहेको सूचना अधिकारी धनदेव साउदले जानकारी दिए । बडिमालिका नगरपालिका वडा नम्बर १ पिनालेखको खेतमा अविरल वर्षापछिको बाढी पसेपछि बालीसमेत बगाएको स्थानीय योगेन्द्र पण्डितले बताए ।

 

साँफे–मार्तडी सडक खण्डको अम्कोटदेखि द्वारीसम्म पहिरोले थप क्षतविक्षत भएको छ । २ सातायता सदरमुकाम मार्तडीको यातायात ठप्प छ ।