close

अस्तव्यस्त गाईघाट: सडकको बीचमै तेर्स्याइन्छ गाडी

अस्तव्यस्त गाईघाट: सडकको बीचमै तेर्स्याइन्छ गाडी

Trulli
ADVERTISEMENT

उदयपुर- तीब्र सहरीकरणसँगै अधिक सवारी चापका कारण गाईघाट बजारमा सवारी पार्किङको समस्याले दुर्घटनाको जोखिम बढ्न थालेको छ । सवारी साधनको चाप अत्यधिक बढेपछि त्रियुगा नगरपालिका, सदरमुकाम गाईघाटलगायत अधिकाँस बजार क्षेत्रमा व्यवस्थित पार्किङ स्थल नहुँदा सवारी साधन सडकमै पार्किङ गर्नुपर्दा दुर्घटनाको जोखिम बढेको हो ।

 

बजार क्षेत्रमा पार्किङ स्थलको उचित व्यवस्था नहुँदा सवारी आवगमनमा समेत समस्या हुँदै आएको छ । सडकमै सवारी साधन पार्किङ गरिँदा बजारको सौन्दर्यसमेत बिग्रिएको स्थानीय व्यापारी बताउँछन् ।

 

सुरक्षा र ट्राफिक व्यवस्थापनको दृष्टिले पनि पार्किङ स्थल आवश्यक रहेको, स्थानीय पर्शुराम थापाले बताए । उनले भने, नगरपालिकाले पार्किङ स्थलको दीर्घकालीन योजना नबनाउँदा समस्या भएको हो । जथाभावी सवारीसाधन पार्किङ गरिँदा गाईघाट बजारको सौन्दर्य बिग्रिनुका साथै बजार अस्तव्यस्त हुने गरेको छ ।’ 


बैंक लाइनमा मात्रै दैनिक २ हजार बढी सवारी साधन पार्किङ हुने गरेकाले दुर्घटनाको जोखिम बढेको छ । बजार क्षेत्रमा निर्माण सामग्री जथाभावी राखिने गरेकाले पनि सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटले बताएको छ ।

 

व्यवस्थित रूपमा पार्किङ स्थल निर्माण गरेर शुल्क उठाउन सके नगरपालिकाको नियमित आम्दानीको स्रोत बढ्ने स्थानीय सुनाउँछन् । ‘बजार क्षेत्रमा जभाभावी पसल अगाडि सवारी साधन पार्किङ गर्दा आफ्नै पसलमा जानसमेत धौधौ हुने गरेको छ’, स्थानीय व्यापारी गणेश खड्काले भने । 

 

मूल सडकबाहेक अन्यत्र पार्किङ स्थल छैन । बजार व्यवस्थित गर्न र नगरको सौन्दर्य बढाउन पार्किङ स्थल आवश्यक भए पनि नगरपालिकाले चासो नदिएको उनको गुनासो छ । नगर सहरीकरण उन्मुख हुँदै जाँदा अहिलेको कार्यालयसमेत साँघुरो हुँदै गएको र बैंकसमेत रहेकाले दिउँसो आउजाउमा समस्या हुने उनले बताए । नगरको मुख्य क्षेत्र प्रवेश गर्ने त्रियुगा नदीदेखि मुख्य चोकसम्मका सडक किनारामा पार्किङ र ग्यारेज छ । यसले ट्राफिक समस्या बढ्दै गएको ट्राफिक प्रहरीले भनाइ छ ।

 

‘बजारको मुख्य चोकदेखि उत्तर-दक्षिण सडकमा जथाभावी साना-ठूला सवारी साधनको पार्किङ हेर्दा सडक छुट्याउनै गाह्रो हुन्छ’, स्थानीय सुनचाँदी व्यवसायी इन्द्रनारायण साहले भने, ‘सडक व्यवस्थित गर्न नसक्दा जथाभावी पार्किङ गरिएको छ ।नगरपालिकाले सक्रियता देखाए पार्किङसँगै आम्दानीको स्रोतसमेत बढ्न सक्छ ।’

 

पार्किङ स्थल अभाव हुँदा हरेक दिन गाईघाट बजारको मुख्य सडक, बैंक रोड र पिजी चोकदेखि बोक्से जाने बाटोसम्मको ट्राफिक व्यवस्थापन गर्न समस्या हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटले जनाएको छ । 

 

‘त्रियुगाको कार्यालयदेखि बिपी चोकसम्म बैंकिङ सेवा र नगरको सेवा लिन आउने सर्वसाधारणको भीड विशेषगरी बैंक रोडमा हुने भएकाले व्यवस्थापन गर्न हम्मेहम्मे हुन्छ’, ट्राफिक प्रहरी शम्भु थापाले भने, व्यवस्थित पार्किङ स्थल बनाइए बजारको सुन्दरता कायम राख्न र दुर्घटना न्यूनीकरण गर्न सहज हुने थियो ।’