close

पानीका मूलले उर्लिंदो टिमुरे खोला, पुल नहुँदा वस्ती छेउकालाई सधैँको खतरा

पानीका मूलले उर्लिंदो टिमुरे खोला, पुल नहुँदा वस्ती छेउकालाई सधैँको खतरा

Trulli
ADVERTISEMENT

बागलुङ– हिउँदमा जलचरको बासस्थानसमेत मेटिने टिमुरे खोला मनसुन सुरु हुनासाथ उन्मत्त भएकोे छ । आकाश गर्जिंदा टिमुरेले आसपास क्षेत्रको जंगल तथा बस्तीबाट आउने भल बाढीको आश गर्छ । 

 

हिले टिमुरेलाई जवानीको वेग थप तीव्र बनाउन गाउँ–गाउँमा खुलेका सडकले साथ दिएका छन् । सडक बनाउँदा फालिएको माटो र भलबाढीसँगै वर्षायाममा सर्सिएका पानीका मूलले टिमुरे अचेल वेगमा छ । 

 

वर्षायाम सुरु भएसँगै टिमुरेखोलाले आफ्नो यौवन जसरी देखाउँछ, त्यसको असर र प्रभाव मानव बस्तीमा भने हरेक वर्ष पार्ने गरेको छ । बस्ती नजिकैबाट बग्ने खोलामा पुल नभएका कारण सर्वसाधारणले हरेक बर्खायाममा दुःख पाउने गरेका छन् । 

 

विद्यालय उमेरका बालबालिका खोलाबाट सबैभन्दा धेरै प्रभावित छन् । आदीकालमा प्रयोगमा आउने गरेको साँघुकै भरमा अहिले पनि आउजाउ हुने गरेको स्थानीय होमनाथ शर्माले बताए । 

 

वारि फेदी, भँडारलगायत गाउँ छन् । पारिको जैमिनी प्राथमिक विद्यालयमा हरेक वर्ष बालबालिका जोखिम मोलेरै विद्यालय पुग्ने प्रधानाध्यापकसमेत रहेका शर्माले जानकारी दिए ।

 

‘हिउँदमा खोलाको पानी निकै सानो हुन्छ, वर्षाको समय उर्लिएर आउजाउ बन्द हुन्छ,’ शर्मा भन्छन्, ‘जोखिम मोलेर विद्यालय, खेतीपातीको काम गर्नुपरेको छ ।’ केही वर्षअघिसम्म खोला तर्दा बगाएर केही मानिसको मृत्यु हुने गरेको स्मरण शर्मा गर्छन् । हरेक वर्ष स्थानीयले खोलामा साँघु बनाउँछन् । जंगलबाट काठपात बोकेर बनाइएको साँघु एक वर्षभन्दा टिक्दैन ।

 

हरेक दिन सयौँ मानिस आउजात गर्ने खोलामा साँघुसमेत बर्सेनि बग्दा जोखिम बढेको स्थानीय कुलराज आचार्यले बताए । गाउँमा युवा पुस्ता कम रहेकाले ठूला काठ बोकेर साँघु बनाउने कामसमेत कठिन रहेको उनले जानकारी दिए । 

 

टिमुरे खोलामा पुल निर्माणका लागि सर्वेसमेत भएको छ । तर, बजेट व्यवस्थापन हुन नसकेका कारण समस्या कायम रहेको प्रअ शर्माले बताए । ‘दुई पटकसम्म सर्वे भइसक्यो तर पुल बन्ने छाँटकाँट छैन,’ शर्माले भने, ‘सरोकारवालाको ध्यानै पुगेन ।’ कुश्मी प्राथमिक विद्यालयका १५ जना विद्यार्थी हरेक दिन यो खोला तरेर विद्यालय पुग्छन् ।

 

त्यसबाहेक खेतीपाती, मेला बजार गर्नेहरूको दिनमै सयौँको संख्यामा आउजाउ गर्ने शर्माले बताए । टिमुरे खोलामा पुल नबन्दा साविकको कुश्मीशेराका वडा नम्बर ९, ८, ७ र दमेक गाविसको तल्लो भेग तथा रायडाँडा गाविसको तल्लो भेगमा रहेका बस्तीका सर्वसाधारण मर्कामा परेका छन् । यो वर्ष पनि युवाहरू जुटेर साँघु बनाएका छन् ।