close

खत्याडमा बाँडिएन वर्ष दिनसम्मै सामाजिक सुरक्षा भत्ता

खत्याडमा बाँडिएन वर्ष दिनसम्मै सामाजिक सुरक्षा भत्ता

Trulli
ADVERTISEMENT

मुगु– हिमाली जिल्ला मुगुको खत्याड गाउँपालिकाले एक वर्ष बित्दासमेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको छैन । गाउँपालिकाले बैंकिङ प्रणालीबाट वितरण गर्ने भनिए पनि एक वर्षदेखि सामाजिक सुरक्षा भत्ता वितरण नगरेको हो । 

 

सरकारले बूढाबूढी, एकल महिला, अपांगता भएका, कर्णालीका बालबच्चाले यस्तो भत्ता पाउँछन् । भत्ता रकम लक्षित वर्गअनुसार फरक–फरक हुने गरेको वृद्धवृद्धाले मासिक ४ हजार रुपैयाँ पाउने गरेका छन् ।

 

तर, गाउँपालिकाले वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता नियमित गर्नु त परै जाओस्, एक वर्ष बितिसक्दा पनि उपलब्ध नगराउँदा लक्षित वर्ग मारमा परेका छन् ।पालिकाका अनुसार एक वर्ष बित्नै लागे पनि बंैकमा खाता खोल्न समस्या हुनु, कहिले इन्टरनेट, कहिले कोभिडलगायतका कारण एक वर्षदेखि सामाजिक सुरक्षा भत्ता वितरणमा विलम्ब भएको हो । पालिकाले यस विषयमा क्षमा मागेको छ । 

 

सरकारले कर्णालीमा ५ वर्षमुनिका बालबालिकालाई बाल पोषण भत्ता प्रत्येक महिनामा ४ सय, कर्णालीको हकमा ६० वर्ष पुगेकालाई प्रतिव्यक्ति ३ हजार, ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई प्रतिव्यक्ति ४ हजार, आंशिक अपांगता भएकालाई १६ सय, पूर्ण अपांगतालाई ३ हजार, एकल महिलालाई मासिक २ हजार रुपैयाँ प्रत्येक महिनामा यस्तो भत्ता सम्बन्धित स्थानीय तहबाटै वितरण गर्दै आएको छ ।

 

गाउँपालिकाले भत्ता बैंकमार्फत आउँछ भनेर खाता खोल्न लगायो । खाता खोल्यौँ । महिना पुग्छ, अब भत्ता आउने भयो भनेर मख्ख प¥यौं । बैंकको खातामा हेर्दा रकम छैन । रित्तो हात लिएर घर फर्कनुपर्यो । बुढेस कालमा खाना खर्च, कपडा लगाउन भनेर सरकारले दिएको रकम नपाउँदा मन कुँडिएको छ’, खत्याड गाउँपालिका वडा नम्बर १ की ७५ वर्षीया धनसरी बुढाले दुखेसो पोखिन् ।

 

बैंकिङ प्रणालीबाट रकम भुक्तानी गर्नुपर्ने भएकाले बैंक खाता खोल्न समय लागेको गाउँपालिका अध्यक्ष उब्जनबहादुर शाहीले बताए । लाभग्राहीको नाम, उमेर धेरैको फरक पर्ने, लगत कट्टा गर्नुपर्ने, इन्टरनेटको समस्या र कार्यालयमा जनशक्ति अभावका कारण भत्ता वितरणमा ढिलाइ भए पनि साता दिनभित्रै सबै प्रक्रिया पूरा गरेर वितरण गर्ने अन्तिम तयारी भइरहेको शाहीले जानकारी दिए ।

 

खत्याड गाउँपालिकामा बालपोषण भत्ता पाउने २ हजार ३ सय ५४, ७० वर्षमाथिका ८ सय २१, ६० वर्षमाथिका ८ सय ६४, अपांगता ६२, एकल महिला १ सय ३३ गरी ४ हजार २ सय ३४ जना सामाजिक सुरक्षा भत्ता पाउने सूचीमा छन् ।

 

कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुका कोष नियन्त्रक लक्ष्मीचन्द्र हमालका अनुसार खत्याड गाउँपालिकाले पहिलो र दास्रो किस्ताको सबै सामाजिक सुरक्षा भत्ता निकासा लिइसकेको भने तेस्रो किस्ता बाँकी छ । 

 

छायानाथ रारा नगरपालिका र मुगुमकामारोङ गाउँपालिकाको पहिलो किस्ता निकासा लगिसकेको छ । सोरु गाउँपालिकालाई पनि पहिलो र दोस्रो किस्ताको रकम निकास भइसकेको छ ।