close

सिरानीमा २ लाख भए बाँचियाे नत्र...

‘२ लाख सिरानीमा राखेर सुत्नुपर्ने जिल्ला’ का रूपमा चिनिँदै खोटाङ

सिरानीमा २ लाख भए बाँचियाे नत्र...

‘२ लाख सिरानीमा राखेर सुत्नुपर्ने जिल्ला’ का रूपमा चिनिँदै खोटाङ

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङकी संक्रमित महिलालाई हेलिकोप्टर चार्टर गरेर काठमाडौं पठाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १४ बुइपाकी ४४ वर्षीया संक्रमित महिलालाई आइतबार २ लाख ८० हजार रुपैयाँमा हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगिएको हो ।

 

नगरपालिकाले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र्र दिक्तेलको भवनमा स्थापना गरेको आइसोलेसन सेन्टरमा शनिबार भर्ना भएकी महिलाको अक्सिजन लेबल डाउन भएपछि थप उपचारका लागि हेलिकोप्टर चार्टर गरेर अस्पताल पठाइएको हो ।

 

महिलाको हाल टिचिङ अस्पतालमा उपचार भइरहेको आफन्तले बताएका छन् ।  खोटाङमा कोभिड–१९ को संक्रमण पुष्टि भएको अवस्थामा स्वास्थ्यमा गम्भीर समस्या देखिए तत्काल अस्पताल पुर्‍याउन लाखौँ रुपैयाँ खर्चिएर हेलिकोप्टर चार्टर हुने गरेको छ ।

 

बिरामी बोक्ने एम्बुलेन्स वा गाडीको विकल्पमा संक्रमित महँगो शुल्क तिरेर हेलिकोप्टर चार्टर गर्न बाध्य छन् । केही दिनयता वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो खसेकाले सडकबाट बिरामीलाई अस्पताल पुर्‍याउन सकस छ ।

 

कतिपय तत्काल अस्पताल पुर्‍याउनुपर्ने अवस्थाका बिरामी बोक्न हेलिकोप्टर चार्टर गर्नुको विकल्प नभएको स्थानीय बताउँछन् । ५ जेठयता मात्र संक्रमितलाई अस्पताल लैजान योसहित ७ पटक हेलिकोप्टर चार्टर भइसकेका छन् । 

 

गत ८ असारमा ऐँसेलुखर्क गाउँपालिका वडा नम्बर ३ का ६० वर्षीया संक्रमित वृद्धालाई २ लाख ९५ हजार रुपैयाँमा हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगिएको थियो ।


यस्तै, संक्रमण भएपछि आइसोलेसनमा राखिएकी हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ महादेवस्थानकी एक महिलालाई २७ जेठमा ३ लाख रुपैयाँमा हेलिकोप्टर चार्टर गरेर काठमाडौं पठाइएको थियो ।


एँेसेलुखर्क गाउँपालिका वडा नम्बर ३ कै अर्की संक्रमित महिलालाई अस्पताल लैजान १७ जेठमा २ लाख ९५ हजार रुपैयाँ खर्चिएर हेलिकोप्टर चार्टर गर्नुपरेको गाउँपालिका उपाध्यक्ष पुष्पकला भुजेलले बताइन् ।

 

गत १५ जेठमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ दिक्तेलका ७८ वर्षीया संक्रमित वृद्धालाई ३ लाख ५० हजार रुपैयाँमा हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगिएको थियो ।


यस्तै, १० जेठमा दिक्तेलका ६४ वर्षीय पुरुषलाई ३ लाख ५० हजार र गत ५ जेठमा एँेसेलुखर्क गाउँपालिका वडा नम्बर ३ का एकै परिवारका ३ संक्रमितलाई ३ लाख २० हजार रुपैयाँमा हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगिएको थियो ।

 

अन्य किसिमका रोग लागेका बिरामी वा घाइतेलाई काठमाडौं लैजाने क्रममा पनि कम्तीमा २ लाख रुपैयाँमा हेलिकोप्टर चार्टर गर्ने गरिएको छ । अस्पताल पुग्नका लागि हेलिकोप्टर चार्टर गर्ने आर्थिक हैसियत सबै परिवारको छैन । आर्थिक अवस्था मजबुत भएका वा ऋणधन गर्न सक्ने बिरामी हेलिकोप्टर चार्टर गरेर अस्पताल पुग्छन् । 


हेलिकोप्टर चार्टर गर्न नसक्ने अवस्थाका अधिकांश बिरामी अस्पताल पुग्न नपाउँदै ज्यान गुमाउन बाध्य छन् । आकस्मिक अवस्थामा अस्पताल जानुपर्दा हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था भएकै कारण खोटाङलाई ‘२ लाख सिरानीमा राखेर सुत्नुपर्ने जिल्ला’ का रूपमा चिनाउने गरिएको छ । 

 

कोभिड-१९ संक्रमणका कारण सिकिस्त अवस्थामा पुगेका संक्रमितले कम्तीमा साढे ३ लाख रुपैयाँमा हेलिकोप्टर चार्टर गर्न बाध्य भएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १६ जेठमा पत्रमार्फत तत्काल अस्पताल पुर्‍याउनुपर्ने र भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका संक्रमितलाई सुविधासम्पन्न अस्पतालमा पुर्‍याउन प्रधानमन्त्री केपी ओलीसमक्ष निःशुल्क हेलिकोप्टर सेवाको व्यवस्था गर्न माग गरेको थियो ।


पछि स्वास्थ्यमा जटिल समस्या आउने र हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था आउने त्रासमा कतिपय संक्रमित धमाधम काठ्माडौं, विराटनगरलगायतका अस्पतालमा जान थालेकाले सरकारसमक्ष निःशुल्क हेलिकोप्टर सेवाको माग गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए ।

 

‘अहिले संक्रमितले हेलिकोप्टर चार्टर गर्नुपर्‍यो भने कम्तीमा साढे ३ लाख शुल्क तिरिरहनु परेको छ । सबैको हेलिकोप्टर चार्टर गर्न सक्ने अवस्था छैन । पछि समस्या भइहाल्यो भने हेलिकोप्टर चार्टर गर्न सकिन्न । पैसा तिर्न सकिन्न । हाम्रो ज्यान जान्छ भनेर संक्रमित पहिल्यै गाडीमार्फत काठमाडौं र विराटनगर गइरहेका छन्,’ रिजालले भने, ‘त्यही भएर जिल्ला अस्पतालबाट रेफर भएकामध्ये क्रिटिकल अवस्थामा रहेका र तत्काल उद्दार गर्नुपर्ने कोभिड संक्रमित बिरामीका निःशुल्क हेलिकोप्टर व्यवस्था गर्न आग्रह गरेका हौँ ।’