close

किसानलाई बाढीले दिएको पीडा: भित्र्याउनै लागेको र भर्खरै रोपेको धानबाली स्वाहा

किसानलाई बाढीले दिएको पीडा: भित्र्याउनै लागेको र भर्खरै रोपेको धानबाली स्वाहा

Trulli
ADVERTISEMENT

तनहुँ- चैतमा रोपेको धानको बाला लहलह झुल्दै थियो । घर थन्क्याउने तयारी गर्दै थियो, शुक्लागण्डकी नगरपालिका वडा नम्बर १० पिप्लेडिहीका कृष्णराज पौडेल परिवार । १५ मुरी बढी चैते धान थन्काउने उनको सपना बुधबार राती परेको वर्षाले बगाइदियो । ‘१५ मुरी आउने खेतमा धान पाकेको थियो । २५ मुरी फल्ने खेतमा भर्खर रोपेका थियौँ । मकै पनि पाकेको थियो । केही नरहने गरी माथिबाट आएको पहिरोले खेत बगर बनाएको छ’, उनले भने । 


उनको धानखेत वरपर खासै ठूलो खोला छैन । चैते धान रोप्नलाई खोल्साको पानीले मुस्किलले सिँचाइ सुविधा पुग्छ । बाढीपहिरो खस्ने अनुमान गर्न सकिँदैनथ्यो ।  तर, खेतभन्दा निकै माथिबाट खसेको पहिरोले हरियो फाँटमा ग्रेगानको थुप्रो भरिएको छ । पसिना बगाएर रोपेको खेत बाढीको आतंकले बगरमा परिणत भएपछि उनलाई छटपटी भइरहेको छ । ‘अब वर्षभरि के खाने ? बगरको थुप्रो हटाएर फेरि पहिलाको जस्तै रोप्न मिल्ने कसरी बनाउने ? यही चिन्ताले मन पोलेको छ’, पौडेलले सुनाए ।


मान्द्रेफाँटमा बाढीले सोत्तर पारेको धान खेतमा भेटिएकी सूचना विकको गहभरि आँसु देखिन्थ्यो । अर्कैको खेतमा अधियाँ रोपेको धान । भकारीमा थन्क्याउने बेला खोलाले बगर थुपारेको धेरै बेर उनले नियाल्नै सकिनन् । 


मुरी उब्जाउने लक्ष्यले मानो रोपेको धान मुठ्ठी पनि भकारीमा राख्न नपाउँदा परिवारको पेट कसरी भर्ने चिन्ताले भयभीत भइन्, सायद । ‘दुःख गरेर खेत रोपियो, गोडियो, किनेर मल हालियो । थन्क्याउने बेला यस्तो भयो’, उनले सुनाइन्, ‘यत्रो क्षति भएको छ, कतैबाट केही पाए हुन्थ्यो ।’ 

 

मान्द्रेफाँटका गरामा बगरको थुप्रो देखिन्छ । यहाँका दुई खहरे खोला उन्मक्त भएर खेतका गरा-गरा चहार्दा किसानको पसिनामा बगर थुप्रिएको हो । बगरको थुप्रोमा कहीँ-कतै पाकेका धानका बाला देखिन्छन् । रोपेको धान केही देखिन्न । चैते धान काटेर असारे रोप्न ब्याडमा राखिएको बिउ पनि बाढीले पुरेको छ । बाढी हटाएर कसरी फेरि रोपाइँ गर्ने धेरै किसान यही सोचिरहेका छन् । 


मान्द्रेफाँटमा जस्तै शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर १० र ८ का अधिकांश फाँटमा बाढीले ठूलो क्षति पुर्‍याएको छ । बाढीले धान खेतमा पुर्‍याएको क्षतिबारे वडा कार्यालयले अनुगमन र तथ्यांक संकलन थालेको जनाएका छन् । १ हजार ५ सय रोपनी क्षेत्रफलमा लगाइएको धान खेतमा पूर्ण क्षति भएको शुक्लागण्डकी नगरपालिकाको अनुमान छ । कृषि शाखा प्रमुख नवराज पण्डित भन्छन्, ‘क्षतिको विवरण संकलन हुँदै छ । योभन्दा बढी पनि क्षति भएको हुन सक्छ ।’ 

 

क्षतिको विवरण संकलन भएपछि किसानलाई राहतका लागि प्रदेश सरकारसँग सिफारिस गरिने पण्डितले बताए । तनहुँको शुक्लागण्डकीसँगै म्याग्दे गाउँपालिकाका फाँटमा लगाइएको धान खेतीमा पनि ठूलो क्षति पुगेको छ । कतै धान डुबेका छन् । कतै बगर थुप्रिएको छ । व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिकामा पनि धान खेतीमा क्षति पुगेको छ । 


गत वर्ष जिल्लामा बाढीले धान खेतीमा ठूलो क्षति पु¥याएको थियो । कृषि ज्ञान केन्द्रका तनहुँका अनुसार गत वर्ष जिल्लाका झन्डै १३ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा क्षति भएको थियो । यसपालि असारमै आएको बाढीले कति क्षति पुगेको छ यकिन विवरण प्राप्त नभएको ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । स्थानीय तहसँगको समन्वयमा क्षतिको विवरण संकलन भइरहेको उनले बताए । 


कृषि बिमा निःशुल्क हुने व्यवस्था भए पनि किसान आकर्षित नहुँदा बर्सेनि ठूलो क्षति बेहोर्नुपरेको उनको बुझाइ छ । ‘कृषि बिमा गर्दा एक रुपैयाँ लाग्दैन । शतप्रतिशत अनुदानको व्यवस्था छ । तैपनि किसान आकर्षित भएको देखिँदैन’, उनले भने ।