close

बाजुराको पाटा बाढीपहिरोको चपेटामा: १ घर बगायो, १४ घर उच्च जोखिममा

बाजुराको पाटा बाढीपहिरोको चपेटामा: १ घर बगायो, १४ घर उच्च जोखिममा

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको पाटामा बाढीपहिरोले एक घर बगाएको छ । बडीमालिका नगरपालिका वडा नम्बर १ पाटामा अविरल वर्षाका कारण आएको पहिरोले एउटा घर बगाएको हो । बडीमालिका नगरपालिका वडा नम्बर १ का सुर्जे कार्कीको घर बगाएको छ भने बुदे दानी, कृष्ण दानी, महेन्द्र दानी, रुपसिंह दानी, परे नाथ, वीरे नाथ, हर्क नाथ, नन्दु नाथ, कन्तरे नाथलगायत १४ जनाको घर बाढीपहिरोको उच्च जोखिममा रहेको स्थानीय प्रकाश नाथले बताए ।
 
घरको तलतिर र माथिबाटै पहिरो बग्न थालेपछि त्यहाँका बासिन्दा विचल्लीमा परेका छन् । ‘तल र माथिबाट पहिरोे आएर घर बग्न थालिसक्यो । कसैका घर बगाइसक्यो । अब हामीले कहाँ गएर आफ्नो ज्यान जोगाउने ? मेरो घर बगिसक्यो । घरभित्र रहेका अन्न, लत्ताकपडालगायत जनधन सबै पहिरोले लगेको छ’, स्थानीय प्रकाश नाथले भने ।
 
बाढीपहिरोका कारण त्यहाँका बासिन्दा रातभर जागाराम बस्ने गर्छन् । उक्त स्थानमा तल र माथिबाटै पहिरो बग्न थालेको छ । जमिन भासिँदै गएको छ । घर बगाएका र पहिरोको उच्च जोखिममा रहेका उक्त स्थानका बासिन्दा अहिले विचल्लीमा परेका छन् । बाढीपहिरोले खानेपानीको मुहान बगाएपछि खानेपानीको हाहाकार भएको छ ।
 
वर्षैँदेखि खानेपानीको समस्या झेल्दै आएका पाटाबासीले यो वर्ष मात्रै गाउँमै खानेपानी सहज सुविधा पाएका थिए । गाउँ नजिकै रहेका पणेखोला र काफलतोला खोलाका ४ वटा पानीघट्टसमेत बाढीले बगाएको छ । धान रोपिएका खेतसमेत बाढीले कटान गरिरहेको छ ।


पहिरो बग्न थालेपछि गाउँ नै उच्च जोखिममा रहेको स्थानीय डबलबहादुर दानीले बताए । पूरै गाउँ पहिरोको चपेटामा परेपछि स्थानीय सुरक्षित बासका लागि लेकतिरको छानामा बस्न थालेका छन् । 
 
जिल्ला प्रहरी कार्यालयको टोलीले त्यसतर्फ गएर क्षतिको विवरण तयार गर्न थालेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । गाउँ नै पहिरोको उच्च जोखिममा रहेकाले हाल उक्त ठाउँका नागरिकलाई अन्यन्त्रै सुरक्षित स्थानमा बसाल्ने तयारी भइरहेको प्रहरीले बताएको छ ।