close

रामधुनीमा लक्षित वर्गले पाएनन् खोप, जनप्रतिनिधि र कर्मचारीका आफन्तलाई भने दुई-दुई डोज

रामधुनीमा लक्षित वर्गले पाएनन् खोप, जनप्रतिनिधि र कर्मचारीका आफन्तलाई भने दुई-दुई डोज

Trulli
ADVERTISEMENT

सुनसरी(रामधुनी)- सुनसरीको रामधुनी नगरपालिकामा लक्षित वर्गलाई आएको खोप पहुँचका आधारमा नगरका जनप्रतिनिधि र कर्मचारीका आफन्तले लगाएको पाइएको छ । स्वास्थ्य मन्त्रालयबाट नै ज्येष्ठ नगरिकलाई भनेर पठाइएको कोरोना भाइरसविरुद्धको भेरोसिल रामधुनी नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारीले लक्षित वर्गलाई वितरण नगरी आफन्तलाई वितरण गरेको पाइएको हो ।

 

नगरपालिकामा १ महिना अगाडि लगाइएको पहिलो चरणको खोप र एक साता पहिला लगाइएको दोस्रो चरणको खोपमा मनोमानी गर्दै प्राथमिकता मिचेर पहुँचका आधारमा लगाइएको पाइएको हो ।

 

सरकारले निर्धारण गरेको प्राथमिकतामा यो खोप ६२ वर्षदेखि ६५ वर्ष उमेर समूहका लागि छुट्याइएको थियो । तर, रामधुनी नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी नगेन्द्र पौडेल नेतृत्वको टोलीले मिलेमतोमा ३२ वर्षको उमेर बढाई ६२ बनाएर जनप्रतिनिधि एवं कर्मचारीका आफन्त र नजिककाले खोप लगाएको पाइएको छ ।

 

नगरपालिकाले नियमविपरीत खोप दिन गर्न थालेपछि प्राथमिकतामा परेको समूहका कतिपय नागरिकले भने हालसम्म खोप पाउन सकेका छैनन् । गैरसमूहलाई खोप प्रदान गरिएको विषयबारे सोधपुछ गर्दा स्वास्थ्य शाखाका कर्मचारीले गैरजिम्मेवार जवाफ दिने गरेको स्थानीयको गुनासो छ ।

 

‘चैत पहिलो साता मैले कोरोनाविरुद्धको खोप लगाएको थिएँ’, रामधुनी नगरपालिका वडा नम्बर १ का ज्येष्ठ नागरिक झनक कार्कीले भने, ‘त्यसको दुई सातापछि दोस्रो खोप आउँछ भनिए पनि अहिलेसम्म आएन । २०/२१ वर्ष, ३५/३६ वर्षकाले लगाए भन्ने सुनियो,’ उनले भने । निश्चित उमेर समूहका लागि आएको खोपका विषयमा लापर्वाही हुँदा पनि नगरले चासो नदिएको नगरपालिका बैठकमा यो विषयले प्रवेश पाउनुपर्ने उनको भनाइ छ ।

 

त्यस्तै, रामधुनीका युवा सत्यन्द्र न्यौपानेले भने, ‘यो खोप उमेर समूहलाई मात्रै नदिएर त्यसमा २१ देखि ३६ वर्षसम्मकालाई दिइएको छ । सरकारले तोकेको उमेर समूहलाई पाखा लगाएर आफन्तलाई खोप दिने जनप्रतिनिधि र कर्मचारीमाथि कारबारी गर्नुप¥यो ।’

 

स्वास्थ्य शाखाका कर्मचारीले कुन आधारमा खोप दिएका हुन् वा पैसामा किनबेच भएको आशंकामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई यसबार जानकारी दिइएको उनले जानकारी गराए । चितनबुझ्दो जवाफ नआए यसको भागिदार स्वास्थ्य शाखा हुनुपर्ने उनले बताए ।

 

दुई दर्जन हाराहारी संख्यामा नगरपालिका पुगेका युवाले खोपमा भएको लुपबारे ४ दिनभित्र सत्यतथ्य बाहिर ल्याउन अल्टिमेटम दिएका छन् ।  यस विषयमा नगरपालिकाले गल्ती सकारेको छ । तर, नगरपालिकासँग अहिलेसम्म नगरमा कतिले खोप लगाए भन्ने एकिन तथ्यांकसमेत छैन ।

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेले नगरले राखेको तथ्यांक रुजु गर्ने र गल्ती भएको पाइए कारबाही गर्ने बताए । ‘कोरोना खोप लागउँदा हामीले विभिन्न युनिटबाट वितरण गरेका थियौँ । त्यो खोप लगाउने क्रममा केही कमी–कमजोरी भएका छन् । त्यसलाई सच्याएर ४ दिनभित्र सार्वजनिक गर्छौं,’ उनले भने ।