close

ठडिँदैछन् गाउँका सिंहदरबार

ठडिँदैछन् गाउँका सिंहदरबार

Trulli
ADVERTISEMENT

तनहुँ- नागरिकको सबैभन्दा नजिकको स्थानीय सरकार । संघीयता कार्यान्वयन चरण सुरु भएसँगै सम्पन्न स्थानिय तहको निर्वाचनमा विजयी जनप्रतिनिधिले गाउँका सिंहदरबारको बागडोर सम्हालेको ४ वर्ष बितिसक्यो ।  यो अवधिसम्म कतिपय गाउँका सिंहदरबार ठडिन सकेका छैनन् । भाडाको घरबाट केन्द्र र वडा चलाइरहेका पालिकामा भवन बन्दैछन् ।


कतिले भर्खर बनाएको नयाँ भवनबाट सेवा दिन थालेका छन् । आँबुखैरेनी गाउँपालिकाको ४ नम्बर वडाले पनि नयाँ भवन बनाएको छ । बेनीटार सामुदायिक भवनबाट सेवा दिँदै आएको वडाको नयाँ भवन बिहीबार उद्घाटन गरिएको हो । ४९ लाख ७९ हजार ४ सय ४७ रुपैयाँमा भवन निर्माण गरिएको हो । वडाले आइतबारदेखि आफ्नै भवनबाट सेवा दिने वडाध्यक्ष नेत्र गुरुङ बताउँछन् ।


‘निर्वाचित भएर आएको ७/८ महिना पालिका केन्द्रमा चौरबाट पनि सेवा दियौँ । पछि सामुदायिक भवनमा सर्‍यौँ । कोरोनाका बेला सामुदायिक भवन साँघुरो हुँदा सेवा दिन असहज भए पनि कुनै दिन नागरिकको सेवा रोकेनौँ । अब आफ्नै भवनबाट झन् सजिलो तरिकाले सेवा दिन्छौँ’, उनले भने । जग्गा व्यवस्थापनमा समय लाग्दा भवन निर्माणमा ढिलाइ भएको वडाध्यक्ष गुरुङको भनाइ छ ।


आँबुखैरेनीमा वडा नम्बर ५ को भवन पनि निर्माण सम्पन्न भएको छ । उद्घाटनको तयारीमा गाउँपालिका छ । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलका अनुसार वडा नम्बर १ को भवन यसअघि नै बनेको हो । प्रत्येक वडा कार्यालयको आफ्नै भवन बनाउने नीति गाउँपालिकाले लिएको उनले बताए ।


सोहीअनुसार चालू आर्थिक वर्षमा गाउँपालिकाले २ वटा वडा कार्यालय भवन निर्माण गर्न ९० लाख रुपैयाँ विनियोजन गरेको छ । वडा नम्बर ६ भवन निर्माणमा ५० लाख र २ को भवनलाई ४० लाख रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत पोखरेलले जानकारी दिए । सामुदायिक भवनबाट सेवा दिइरहेको वडा नम्बर ३ मा भने जग्गा व्यवस्थापनमा समस्या हुँदा अन्तिम कार्यकालमा बजेट विनियोजन हुन सकेन ।

 

‘वडा कार्यालय भवन बनाउन स्थान नपाएकाले बजेट विनियोजन भएन’, उनले भने । गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको आँबुखैरेनीले प्रशासकीय भवन सुविधासम्पन्न बनाएको छ । ३ करोड ८ लाख ७७ हजार ४६६ रुपैयाँको लागतमा बनेको ३ तले भवनबाट १ वैशाखदेखि सेवा दिन थालिएको हो । यसअघि आँबुखैरेनी बजारमा रहेको पुरानो कच्ची भवनबाट सेवा प्रवाह भइरहेको थियो । 

 

बहुउद्देश्यीय भवन बनाइँदै

नयाँ भवनबाट सेवा प्रवाह हुन थालेपछि पहिलेको पुरानो भवन भत्काएर गाउँपालिकाले बहुउद्देश्यीय भवन निर्माण थालेको छ । गत बुधबार गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले बहुउद्देश्यीय भवन निर्माणको शिलान्यास गरे । १३ करोड ७४ लाख १ हजार ७ सय ८१ रुपैयाँ अनुमान गरिएको भवनको पहिलो चरणमा २ तलासम्म निर्माण हुनेछ । भवनले पूर्णता पाउँदा ५ तलाको ठडिनेछ । 

 

गाउँपालिकाले ज्ञानज्योति बिल्डर्स प्रालि काभ्रेसँग निर्माण सम्झौता गरेको हो । पहिलो चरणको कामका लागि ३ करोड ५७ लाख ८९ हजार ८ सय ७९ रुपैयाँ लागत अनुमान गरिए पनि निर्माण कम्पनीसँग २ करोड ३८ लाख ८८ हजार ७ सय ७८ रुपैयाँमै सम्झौता गरिएको छ । 

 

सम्झौताअनुसार १५ कात्तिक २०७९ मा ३ तले बहुउद्देश्यीय भवन तयार हुनेछ । बहुउद्देश्यीय भवनले दिगो रूपमा आन्तरिक आम्दानीको स्रोत बढ्ने गाउँपालिका अध्यक्ष थापाले बताए ।