close

​​​​​​​सोलु करिडोर विद्युत् प्रसारण लाइन विस्तार: निर्माणमा स्थानीयको अवरोधपछि झडप 

​​​​​​​सोलु करिडोर विद्युत् प्रसारण लाइन विस्तार: निर्माणमा स्थानीयको अवरोधपछि झडप 

Trulli
ADVERTISEMENT

उदयपुर-   निर्माणाधीन राष्ट्रिय गौरवको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको उदयपुरको कटारी नगरपालिका क्षेत्रमा स्थानीयले काममा अवरोध गर्न खोज्दा झडप भएको छ । सुरक्षाकर्मी र स्थानीयको झडपमा केही घाईते भएका छन् भने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ४ मरुवामा विवादित क्षेत्रमा आयोजनाले जबर्जस्ती टावर निर्माण गर्न खोजेपछि झडप भएको हो ।


त्यहाँ ३ वर्षदेखि रोकिएको काम केही दिन अघिबाट सुरु गरिएको थियो । वडा नम्बर ४ मरुवास्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माण ३ वर्षयता रोकिँदै आएकामा स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरी केही दिन अघिबाट काम सुरु गरेको हो । 


मरुवाका स्थानीयले सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै आयोजना निर्माणमा अवरोध पुर्‍याउँदै आएका थिए । जिल्ला सुरक्षा समिति उदयपुरले निर्माणाधीन राष्ट्रिय गौरवको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माणको अवरोध हटाउन सुरक्षाकर्मी परिचालन गरि काम अघि बढाएको छ ।


मरुवा माध्यमिक विद्यालय कटारीमा सुरक्षाकर्मी राखेर टावर निर्माण अगाडि बढेपछि विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच विवाद भएको सोलु करिडोर विवाद समाधान पहल समिति संयोजक केपी बरालले बताए ।

 

समितिले गृह तथा ऊर्जा मन्त्रालयमा पछिल्लो पटक डेलिगेसन जाँदा विवाद समाधान गर्ने बताइए पनि प्रहरीले स्थानीयको आग्रहविपरीत काम अघि बढाएको भन्दै विरोधस्वरूप शनिबार कटारी बन्द गर्ने तथा घटनास्थलमै गएर विरोध जनाउने तयारी गरिएको संयोजक बरालले जानकारी दिए । झडपपछि शुक्रबार साँझ बसेको सर्वदलीय बैठकले आगामी विरोधका कार्यक्रमअन्र्तगत शनिबार बजार बन्द तथा घटनास्थलमै विरोध गर्ने कार्यक्रम बनाएको उनको भनाइ छ ।


मरुवामा सोलु करिडोरको विवाद समाधानका लागि पटक- पटक मन्त्रालयसम्म डेलिगेसन गए पनि अझै समस्या समाधान हुन सकेको छैन । लामो समयको विवादपछि मरुवामाविमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरी टावर गाड्ने क्रम जारी छ । मुआब्जा विवाद समाधान नभई प्रहरीले स्थानीयको हरियो धान खेत फाँडेर टावर गाड्ने काम अघि बढाएको छ ।

 

मरुवाबासीको अवमूल्यन गरी सरकार जोरजबर्जस्ती अगाडि बढिरहेको कांग्रेस कटारी नगर समिति सभापति गोपी पराजुलीले बताए । उनले भने, ‘आफ्नै सरकारले सर्वसाधारणमाथि अन्याय गरेको स्पष्ट छ । सोही कारण शनिबारदेखि समितिको नेतृत्वमा कटारी बजार बन्द गरेर निर्माणस्थलै आन्दोलन गर्ने निर्णय भएको छ ।’ आयोजनापीडित स्थानीयलाई उचित क्षतिपूर्ति दिएर सहमतिबाटै काम अगाडि बढाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको उनले जानकारी दिए ।

 

प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको आदेशअनुरूप काम भइरहेकाले कुनै पनि अवस्थामा नरोकिने प्रशासनले स्ष्ट पारेको छ । त्यहाँका स्थानीयलाई कानुनले तोकिएभन्दा बढी जग्गाको मूल्यांकन गरी मुआब्जा दिने निर्णय भएको र स्थानीयसमेत मुआब्जा लिन तयार रहेको अवस्थामा सरोकारै नभएको संघर्ष समिति संयोजक बरालले नागरिकलाई उक्साएको आयोजनाले आरोप लगाएको छ । 

 

आयोजना सुरक्षार्थ मरुवा माध्यमिक विद्यालय परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ३ सय संख्यामा सुरक्षाकर्मी परिचालन गरेर आयोजनाको काम अघि बढाइएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद सेढाईंले जानकारी दिए । आयोजना सुरक्षार्थ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) सुवासचन्द्र बोहराले बताए । 

 

‘इलाका प्रशासन कार्यालय कटारीका प्रमुख तुलाराज सुनुवारको संयोजकत्वमा मूल्यांकन गरिएको मूल्य नै कायम गरिएको हो’, प्रजिअ सेढाईंले भने, ‘मुआब्जा मूल्यांकनमा जनप्रतिनिधि किन सहभागी भएनन् । स्थानीयको मागबमोजिमको मुआब्जा पुनर्मूल्यांकनका लागि गृह मन्त्रालयमा पत्राचार गर्छौं ।’

 

आयोजनाले कटारी नगरपालिका वडा नम्बर ४ मरुवा, सिम्ले, बर्मझियाका २३ घरपरिवारको ऐलानी र नम्बर जग्गाभित्र पोल गाडिने उल्लेख गरेको छ । प्रसारण लाइन निर्माण गर्दा १८ मिटर चौडाइको करिब ३ किलोमिटर लम्बाइ त्यस क्षेत्रमा पर्ने बताइन्छ ।
आयोजनाको काम ९८ प्रतिशत सकिएको र कटारीको अवरोधले समस्या आएको आयोजना प्रमुख जनार्दन गौतमले जानकारी दिए ।


कटारीमा निर्माणका लागि अवरोध गरिएका १० वटा टावरमध्ये ६ वटा निर्माण सम्पन्न भइसकेको र ४ वटा खेतमा पर्ने भएकाले गाड्ने क्रममा स्थानीयले अवरोध गरेपछि झडप भएको हो । बाँकी रहेको ४ वटा टावरमा अवरोध नभए १० दिनभित्रै निर्माण सकिने आयोजनाका सम्पर्क अधिकृत दीपक गौतमले बताए । 

 

स्थानीयले नगरपालिकाकाले सिफारिस गरेबमोजिम प्रतिकट्ठा ५० लाख रुपैयाँ कायम गरी मुआब्जा दिनुपर्ने, नम्बरी र ऐलानीसमेतको जग्गाको टावर राखेको स्थानको बराबर टावरमुनिको जग्गालाई पनि मुआब्जा दिनुपर्ने, स्थानीय सरकार, स्थानीय राजनीतिक दल तथा प्रभावित क्षेत्रका नागरिकसँग वार्ता गरी सहमति जुटाएर काम अघि बढाउनुपर्ने, सुरक्षाकर्मी राखेर सुरु गरिएको काम सहमति नभएसम्म स्थगित गर्नुपर्ने, विद्यालयबाट प्रहरी हटाई बालबालिकाको पठनपाठन गर्ने वातावरण बनाउनुपर्नेलगायत माग राखिएको छ । 

 

प्रसारण लाइनको बाटो (राइट अफ वे) मा पर्ने ऐलानी जमिनको समेत मुआब्जा पाउनु र्ने र प्रसारण लाइनको टावर प्रस्तावित स्थानभन्दा अन्यत्रै सार्नुपर्नेलगायत सर्त राखेर स्थानीयले काममा अवरोध गर्दै आएका थिए । तर सरकारले प्रस्तावित स्थानभन्दा अन्यत्र टावर नसार्ने भएपछि स्थानीय आन्दोलित भएका हुन् ।

 

प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसक्दा गत २० माघ २०७६ देखि व्यावसायिक उत्पादन थालेको सोलुखोला जलविद्युत् आयोजनाको २३.५ मेगावाट विद्युत्मध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ ।

 

स्थानीयको अवरोधपछि सोलु करिडोरको छैटौँ पटक म्याद थप गरिएको हो । अहिलेसम्म प्रसारण लाइनको ३०२ वटा टावर निर्माण गर्नुपर्ने भए पनि २९८ वटा मात्रै निर्माण सम्पन्न भएको छ । स्थानीयले घरजग्गाको नगरपालिकाले सिफारिस गरेको मूल्यअनुसार मुआब्जा नदिए संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको स्थानीय केपी बरालले बताए । 


सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरेको आयोजनामा स्थानीयको अवरोधपछि पुनः छैटौँ पटक म्याद गरिएको हो । २०७२ चैतमा भारतीय मोहन इनर्जी कम्पनीसँग विद्युत् प्राधिकरणले यो प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता गरेको थियो । बिनाअवरोध काम भएको भए २०७६ माघमा निर्माण सम्पन्न गर्ने योजना थियो ।