close

सुत्केरीलाई भाले र बालबालिकाको बैंक खातामा ५ हजार

सुत्केरीलाई भाले र बालबालिकाको बैंक खातामा ५ हजार

Trulli
ADVERTISEMENT

उदयपुर-  उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ ले गत आर्थिक वर्ष २०७७/७८ मा सुत्केरी भएका ५२ जनालाई लोकल भाले र एक माना घिउ वितरण गरेको छ । 


गत वर्षको १ साउनदेखि असार मसान्तसम्म वडामा सुत्केरी भएका ५२ जनाको घरमै स्वास्थ्यकर्मीसहितको टोली पुगेर भाले र घिउ वितरण गरिएको वडाध्यक्ष कमल श्रेष्ठले बताए ।


नियमित गर्भजाँच गरेका सुत्केरीलाई भाले र घिउ वितरण गरिएको हो । मातृशिशु स्वास्थ्यलाई महत्त्वमा राखेर स्वास्थ्यकर्मीसहितको परामर्श एवं पोषिलो खानाअन्तर्गत भाले र घिउ वितरण गरिएको वडाध्यक्ष श्रेष्ठले बताए ।

 

‘गाउँघरमा आमा र शिशु दुवैको स्वास्थ्यको ख्याल गर्न यो कार्यक्रम सञ्चालन गरेका हौँ’, उनले भने, ‘यसो नगरे कतिपयले गर्भ जाँचै गराउँदैनन् ।’ भाले र घिउ वितरण कार्यक्रमलाई निरन्तरता दिइने वडाध्यक्ष श्रेष्ठले बताए ।

 

त्यसैगरी सोही आर्थिक वर्षमा जन्मिएका बालबालिकाको खातामा वडाले ५ हजार रुपैयाँ जम्मा गरिदिएको छ । यसका लागि कटारीस्थित मुक्तिनाथ विकास बैंकसँगको सहकार्यमा वडाले गत आर्थिक वर्षमा जन्मिएका ४२ बालबालिकाको खाता खोलेर प्रतिबालबालिका ५ हजार रुपैयाँ जम्मा गरिदिएको हो ।


वडाध्यक्ष श्रेष्ठका अनुसार खाता खोल्न वडाले अनिवार्य ४ पटक स्वास्थ्य संस्थामा गर्भजाँच गराएको कार्ड र ३५ दिनभित्र जन्मदर्ता गराएको मापदण्ड राखेको थियो ।  यो मापदण्ड पूरा गरी बालबालिकाको नाममा खोलिएको खातामा वडाले ५ हजार दिँदा अभिभावकले थप ५ हजार गरी १० रुपैयाँ जम्मा गरिएको छ । 


‘यो खातामा अभिभावकले बर्सेनि कम्तीमा ३ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ’, वडाध्यक्ष श्रेष्ठले भने, ‘१६ वर्ष पुगेपछि मात्रै सो रकम एकमुष्ट ब्याजसहितनिकाल्नपाईनेछ र त्यसलाई उनीहरूको उच्च शिक्षामा लगानी गर्नुपर्नेछ ।’ वडाका बालबालिकालाई उच्च शिक्षासम्म अध्ययन गराउन प्रोत्साहनस्वरूप यो कार्यक्रम ल्याइएको उनको भनाइ छ ।


वडामा गत आर्थिक वर्षमा ५२ बालबालिका जन्मिए पनि १० जना बालबालिकाका अभिभावक खाता खोल्न मन्जुर नभएकाले ४२ जनाको मात्र खाता खोलिएको वडाले जनाएको छ ।