close

निरन्तरको वर्षाले काठे पुल र बाटो बगाउँदा गुम्बा गाउँमा आउजाउ बन्द 

निरन्तरको वर्षाले काठे पुल र बाटो बगाउँदा गुम्बा गाउँमा आउजाउ बन्द 

Trulli
ADVERTISEMENT

बाजुरा- लगातारको वर्षाले बाजुराको सर्वाधिक विकट गाउँ गुम्बामा काठेपुल र बाटो बगाएपछि आउजाउ बन्द भएको छ ।  हिमाली गाउँपालिका वडा नम्बर ३ मा पर्ने गुम्बा गाउँमा आउजाउ गर्ने बाटो र नदीमा रहेको काठे पुल पहिरोले बगाउँदा गाउँको अन्य स्थानसँग सम्पर्क विच्छेद भएको हो । त्यहाँ कुनै सञ्चार सेवासमेत छैन ।

 

सदरमुकाम मार्तडीबाट ४५ कोष टाढा अर्थात् पैदल ४ दिन लाग्ने बिच्छँयाको गुम्बा गाउँमा पुल र बाटो नबनाइँदा वर्षायाममा सधैँ सम्पर्कविहीन हुँदै आएको स्थानीय छिरिङ धोर्चे लामाले बताए । गुम्बा गाउँमा २५ परिवार बसोबास गर्दै आएका छन् । 


‘सबै परिवार सम्पर्कविहीन छन् । त्यो गाउँमा के भयो, के हँुदै छ । सबै सूचनाबाट विमुख छन्’, वडा सदस्य जगत लामाले भने, ‘वर्षा सुरु भएदेखि नै गाउँका कुनै पनि सम्पर्क आएका छैनन् भने त्यहाँ जान पनि सकिएको छैन ।’


हिउँदमा गुम्बाबाट स्वास्थ्य चौकी, कोल्टी–मार्तडी आउजाउका लागि जोखिम मोलेरै आवतजावत गर्नुपर्ने बाध्यता छ । गुम्बाबाट बिच्छँयाको बौडीसम्म आउन दुई वटा ठूला नदी छन् । ती नदीमा पुल छैनन् । स्थानीय हिउँदमा काठे पुलको सहारामा वारपार गर्ने गर्छन् । वर्षाको बाढीले बगाउँदा त्यो गाउँका बासिन्दाको अन्य गाउँ र जिल्लासँग पूरै सम्पर्क विच्छेद भएको छ ।

 

‘कहीँ कवाडी नदी किनारा र कहीँ भीर बाटो हिँडनुपथ्र्यो । भीरमा पहिरोले बाटो अवरुद्ध हुँदा नदी किनारको बाटो नदीले बगाएपछि आउजाउ पूर्ण बन्द भएको छ’, बिच्छँयाका अगुवा अम्मलाल बुढ्थापाले भने । स्थानीय फुलीगुम्बा नजिकै भीरमा हिउँदमा काठ राखेर वारपार गर्ने गर्छन् । त्यहाँबाट यताउति भए कवाडी नदीमा खस्ने जोखिम हुन्छ ।


सरकारले गुम्बा जाने बाटो र नदीमाथि पुल नबनाइदिँदा स्थानीयले सास्ती पाउँदै आएका छन् । केन्द्र, प्रदेश जिल्लामा पहुँच नहुँदा दुःख कसैले नहेरेको स्थानीयको गुनासो छ । बाटो र काठे पुल बगेपछि गुम्बा गाउँका बालबालिका, गर्भवती महिलाको खोप सेवासमेत बन्द भएको छ । बिरामी पर्दा वर्षाका बेला तल झर्न नसक्दा जडीबुटीको भर पर्नुपर्ने बाध्यता छ ।