close

जातीय विभेद मुद्दाका फरार आरोपित पक्राउ

जातीय विभेद मुद्दाका फरार आरोपित पक्राउ

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर ६ का जातीय विभेद मुद्दाका फरार आरोपित ३० वर्षीय नवीन बुढालाई प्रहरीले पक्राउ गरेको छ । आरोपितलाई प्रहरीले १८ साउनमा उनको घरबाटै पक्राउ गरेको हो । 


सिंजा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष ५५ वर्षीय कालीबहादुर बुढा र उनका छोरा नवीनले सोही गाउँकै दलित युवा वीवेन्द्र नेपालीमाथि वडा कार्यालयमै जातीय विभेद गरेको आरोप लागेको छ ।


यसअघि पीडित वीवेन्द्र नेपालीले २५ असारमा जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दर्ता गराएका थिए । जाहेरी दिएर पक्राउ पुर्जी जारी भएको करिब ३ सातापछि प्रहरीले वडाध्यक्षका छोरा नवीनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक युवनकुमार चौधरीले बताए । 


उनका अनुसार छोरा पक्राउ भए पनि वडाध्यक्ष बुढा भने अझै फरार रहेकाले खोजी कार्य जारी छ । पीडित नेपालीले लामो समयको प्रयासपछि आफूलाई जातीय विभेद गर्ने व्यक्ति पक्राउ परेको बताए । अहिले सिंजास्थित आफ्नै घरमा रहेका नेपाली वडाध्यक्षलाई पनि पक्राउ गर्नुपर्ने बताउँछन् । उनले आफू गाउँ गएपछि वडाध्यक्ष भागेको दाबी गरे । 


सुरुमा प्रहरीले जातीय विभेदको जाहेरी दर्ता गर्न मानेको थिएन । तर, दलित युवा, दलित अधिकारकर्मी र मिडियाको दबाबले जाहेरी दर्ता गरेको थियो । जाहेरी दर्ता भएर पक्राउ पुर्जी जारी भएको करिब १ महिनापछि जातीय विभेद घटनाका आरोपित पक्राउ परेका हुन् ।


वडाध्यक्षले ६ असारमा पीडित नेपालीलाई फोन गरी ‘तँ साले कुकुर, तेरो बाउले हालेको हो योजना ? भनी मेरो विषयमा टिप्पणी गर्ने तँ को होस्’ भनेर तथानाम धम्की दिएका थिए । 


८ असारमा वडाध्यक्षको कार्यकक्षमै छोराले छलफल चलिरहेको विषयमा ‘तँ सार्की हलुँडा बेची खाने डुम । तँ को होस् ? जहाँ जान्छस् जा । जे गर्छस् गर । तँलाई डुम नभनी के राजा भनूँ ?’ भनेर तथानाम गाली गरेको पीडित पक्षको दाबी छ ।


९ असारमा सिंजा गाउँपालिकाको न्यायिक समितिमा निवेदन दिई १० असारको  छलफलमा वडाध्यक्ष उपस्थित भएका थिएनन् ।