close

कोहलपुरका २ वडा बालविवाहमुक्त घोषणा

कोहलपुरका २ वडा बालविवाहमुक्त घोषणा

Trulli
ADVERTISEMENT

बाँके– बाँकेको कोहलपुर नगरपालिका वडा न १ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । 


हामी सबैको ऐक्यबद्धता, बालविवाहविरुद्धको साझा प्रतिबद्धता नारासहित कोहलपुरका १२ र १३ वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो । 


कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत, उपमेयर सञ्जुकुमारी थारु र वडा नम्बर १ का वडाध्यक्ष गोपीलाल खनालले बालविवाहमुक्त वडा घोषणा गरे ।


कार्यक्रममा कोहलपुरका मेयर रावतले अबको एक वर्षभित्र नगरका सबै वडालाई बालविवाहमुक्त घोषणा गरिने जानकारी दिए ।


उनका अनुसार कोहलपुर नगरपालिकाले बालविवाहमुक्त अभियान निर्देशिका, २०७६ अनुसार क्रमशः नगरका सबै वडालाई बालविवाहमुक्त गरिनेछ ।


‘गत वर्षको १९ चैतमा कोहलपुर नगरपालिकाले एकै दिन २ वटा वडालाई बालविवाहमुक्त घोषणा गरेका थियौँ । वडा नम्बर १२ र १३ लाई बालविवाहमुक्त वडा घोषणा गरिसकेका छौँ,’ उनले भने । अहिले वडा नम्बर १ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको र छिट्टै वडा नम्बर ३ लाई पनि घोषणा गरिने उनले जानकारी दिए ।


कसैले बालविवाह गरे÷गराए कानुनबमोजिम कारबाही हुने रावतले बताए । कार्यक्रममा उपमेयर चौधरीले बालविवाह गरेपछि हुने समस्याबारे सहभागीलाई जानकारी दिइन् । नगरपालिकाभित्र बालविवाहको समस्या लिएर न्यायिक समितिमा आउनेको संख्या बढिरहेको उनले बताइन् ।


उनले भनिन्, ‘कक्षा ७ मा पढ्दै गरेकी एक बालिकाले बालविवाह गरेपछि पाएको सास्ती आफूलाई सुनाएको बताइन् । उपमेयर चौधरीले भनिन्, ‘ती बालिकाले पढ्दापढ्दै स्वेच्छाले नभई भागेर बिहे गरेको बताइन् । बिहे भएको १ वर्षमा बच्चा जन्मियो । बच्चा जन्मिएपछि श्रीमानको अभद्र व्यवहार भयो । श्रीमान्बाट मानसिक तनाव दिने, कुटपिट गर्ने क्रियाकलाप भयो । राम्रो हेरचाह गर्ने कोही भएनन्, जतिबेला उनी १६ वर्षकी मात्र थिइन् ।’ 

 

घरबाट असह्य पीडा दिइएपछि उनी माइतमा बस्न थालेको उपमेयर चौधरीले बताइन् । माइतीका आमाबुबाले न्यायिक समितिका खबर गरेपछि उनका श्रीमान्लाई बच्चा र आमाको स्याहार गर्न समितिबाट निर्देशनात्मक आदेश दिइएको छ ।


वडा नम्बर १ का अध्यक्ष खनालले बालविवाहमुक्त वडा बनाउन धेरै मिहिनेत गरिएको सुनाए । उनले भने, ‘प्रत्येक घरधुरीको सर्वेक्षण गर्दा निकै समस्या हुँदो रहेछ । अभिभावक, धार्मिक गुरु, जनप्रतिनिधि र सामाजिक अगुवा, किशोरी क्लब, बाल क्लब र अन्य बालबालिकाको सहयोगमा बालविवाहमुक्त वडा घोषणा गरेका हौँ ।’ 


उक्त कार्यक्रममा स्याक नेपालका प्रमुख शिवलाल पाण्डे, कृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्र मल्ल, जनज्ञानज्योतिका प्रधानाध्यापक एकदेव पन्थी, कोहलपुर नगर पशु शाखाका प्रमुख गोविन्द रोकाया, नगर कृषि शाखाका प्रमुख चन्द्रबहादुर बुढा, स्वास्थ्य शाखा प्रमुख शाभा अधिकारी, महिला तथा बालबालिका शाखा प्रमुख रिना थापालगायतलगायतको उपस्थित थियो ।


नगरपालिकाको वडा नम्बर १ मा रेन्डम सेम्पलिङ विधिबाट १५० नमुना सर्वेक्षण संकलन गरिएको थियो । तथ्यांकअनुसार वडा नम्बर १ मा ७ सय ७० घरधुरीमा  सर्वेक्षण गरिएको थियो ।


तथ्यांकअनुसार उक्त वडामा एक वर्षको अवधिमा २ जनाले बालविवाह गरेको पाइएको छ । एउटा पालिका, वडा बालविवाहमुक्त वडा घोषणा गर्न २० प्रतिशतभन्दा कम बालविवाह गरेको हुनुपर्छ ।