close

जुम्लामा २० वर्षमुनिका ८६० किशोरी गर्भवती ! 

जुम्लामा २० वर्षमुनिका ८६० किशोरी गर्भवती ! 

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाका ८ सय ६० जना किशोरी २० वर्ष नपुग्दै आमा बनेको पाइएको छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा जुम्लाका ८ वटै स्थानीय तहका ८ सय ६० जना २० वर्षमुनिका बालिका गर्भवती भएका हुन् ।

 

जुम्लामा हालसम्म बालबिवाहको यकिन तथ्यांक नभए पनि २० वर्ष नपुग्दै गर्भजाँच गराउने किशोरीको संख्या हेर्दा बालविवाहको अवस्था बढ्दो देखिएको हो । शिक्षा, चेतना अभाव तथा गरिबीका कारण दूरदराजमा अझै बालविवाहको समस्या विद्यमान छ । सोही कारण सानै उमेरमा बच्चा जन्माउने आमा बन्ने र शिक्षा, स्वास्थ्य, रोजगारका अवसरबाट वञ्चित हुनु पर्नेमा बाध्यता छ ।


जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकअनुसार गत आवमा २० वर्ष नपुग्दै गर्भजाँच गराउने अर्थात् आमा बन्नेको संख्या कुल ८ सय ६० जना रहेकामा सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा १ सय ९० र सबैभन्दा कम तातोपानी गाउँपालिकामा ६६ जना किशोरी छन् ।


पातारासी गाउँपालिकामा १ सय ३४, कनकासुन्दरीमा ९०, सिँजामा ६८, गुठीचौरमा ९५, तिलामा १ सय ४० र हिमामा ७७ गरी जम्मा ८ सय ६० जना जुम्लाका किशोरी गत आवमा उमेर नपुग्दै आमा बनेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।

 

गत वर्षमा १ सय ८० जनाले निकै कमतौल भएका बच्चा जन्माएका छन् भने २० वर्षमाथिका ३ सय ७६ र २० वर्षमुनिका ३० जना किशोरीले गर्भपतन गराएका छन् । उमेर नपुग्दै आमा बन्ने, गर्भपतन गराउने, कम तौलका बच्चा जन्मिने, प्रजनन स्वास्थ्यमा असर देखिनेलगायत समस्या आउनुमा बालविवाह मुख्य कारण रहेको प्रमुख सापकोटाले जानकारी दिए । 


बालविवाह न्यूनीकरणका क्षेत्रमा सरकारी तथा गैरसरकारी निकायले बर्षेनि करोडौँ खर्च गरे पनि त्यसको प्रभावकारिता देखिएको छैन ।

 

गत आर्थिक वर्षमा ८१ प्रतिशत महिला स्वास्थ्य संस्थामै सुत्केरी भएका छन् । १ हजार ७ सय ५२ जना बालबालिकाले पूर्ण खोप लगाएका छन् । यीमध्ये ९९ प्रतिशत बालबालिकाले बिसिजी खोप लगाइसकेको स्वास्थ्य प्रमुख सापकोटाको भनाइ छ ।